गोरखापत्र अनलाइन
काठमाडौँ, चैत १२ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनबाट अनपेक्षित, अप्रत्याशित परिणाम आएको बताउनुभएको छ ।
पार्टी मुख्यालय च्यासलमा पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुभएका सांसदसँगको परामर्श कार्यक्रममा बिहीबार उहाँले सो कुरा बताउनुभएको हो । देश र जनताको पक्षमा, सत्यको पक्षमा एमालेले काम गरेकाले मनोबल गिराउनुपर्ने कुनै आवश्यक नरहेको उहाँले बताउनुभयो ।
निष्ठाको राजनीतिको खाँचो अहिले रहेको भन्दै उहाँले देश र जनताको न्यायका लागि शान्तिको राजनीतिको खाँचो रहेको उहाँले बताउनुभयो । एमाले त्यही मार्गमा अघि बढेको बताउँदै अध्यक्ष ओलीले एमालेको तर्फबाट संसदीय भूमिका पनि त्यसमै केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।
‘हामी भ्रम फैलाउने होइन, जनतालाई सचेत गराउने हो, यसबाट हामी चुक्नु हुन्न’ भन्दै अध्यक्ष ओलीले पार्टी एक ढिक्का भएर अघि बढ्ने बताउनुभयो । पार्टीको अवस्था प्रतिकुल हुँदा आन्तरिक रूपमै चलखेल हुने वातावरण दिन नहुने भन्दै उहाँले समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्नुभयो ।
पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई उहाँले अनुशासित र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उहाँले निर्देशन दिनुभयो । ‘हामीले बोल्ने भनेको जनताको विचार, सुशासनको विचार, शान्तिको विचार हो’ यसभन्दा पृथक विचार हामीले बोल्ने छुट छैन, भन्नुभयो ।
गत भदौ २३ र २४ को घटनामा आफूलाई जिम्मेवार ठहराउने प्रयास गरिए पनि आफूले कसैलाई गोली चलाउन आदेश नदिएको भन्दै उहाँले राजनीतिक षडयन्त्र जारी रहेको बताउनुभयो । गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले कानुनी हिसाबले सिफारिस गर्नै नमिल्ने सिफारिस गरेको उहाँले टिप्पणी गर्नुभयो । प्रतिवेदनले आफ्नो चरित्रहत्या गर्ने प्रयास गरेको उहाँको आरोप छ ।
एमालेको तर्फबाट प्रत्यक्ष ९ र समानुपातिक १६ गरी २५ जना प्रतिनिधि सभामा सदस्य रहनुभएको छ ।