• २१ वैशाख २०८१, शुक्रबार

घरदैलो अभियानमा लागे उम्मेदवार

blog

महोत्तरी/गौर समाचारदाता

गौर,कात्तिक १ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनाव नजिकिँदै जाँदा रौतहट जिल्लामा चुनावी प्रचारप्रसारमा तीव्रता आएको छ।चुनावको लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसहित कार्यकर्ताहरूले आआफ्नो पक्षमा मतदातालाई रिझाउन प्रचारप्रसार तीव्र बनाएका छन्। मनोनयन दर्तापछि राजनीतिक दलका नेता, उम्मेदवार, कार्यकर्ता तथा समर्थकहरू गाउँमा गएर मतदातासँग भेटघाट गरिरहेका छन्। 

उम्मेदवारहरूले बिहानैदेखि विकासका योजना लिएर मतदाताको घरदैलो गर्ने गरेका छन्।  मतदातासँग भेट गर्न उम्मेदवारहरू खेत खलियानदेखि लिएर घरदैलो पुग्ने गरेको बताइएको छ। उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, सिँचाइ, बेरोजगारीका मुद्दालाई प्राथमिकताका साथ अघि बढाएको स्थानीय रमेश सिंहले बताउनुभयो। मतको लागि दिनहुँजसो उम्मेदवार आउने गरेको स्थानीय रामप्रवेश साहले बताउनुभयो। यसैगरी बिहानदेखि बेलुकासम्म ठाउँठाउँमा चुनावकै चर्चा हुने गरेको छ। घर, टोलदेखि चिया पसल, होटल, पान पसल, चोक, चौराहामा उम्मेदवार भोट माग्न आउने गरेको स्थानीय आनन्द झाले बताउनुभयो। 

महोत्तरी समाचारदाताका अनुसार उम्मेदवारहरूले अहिले मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्र बनाएका छन्। जिल्लाको चारवटै प्रतिनिधि सभा क्षेत्र र आठवटै प्रदेश सभाको क्षेत्रमा उम्मेदवारहरू आफूलाई मत दिएर जिताउन मतदातासमक्ष पुगिरहेका छन्। 

जलेश्वर नगरपालिका–४, मसुरपट्टीका स्थानीय जितेशकुमार पाण्डेयले सत्ता गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार महन्थ ठाकुर र सोही पार्टीबाट प्रदेश सभामा उम्मेदवार बन्नुभएका रानी शर्मा तिवारी, स्वतन्त्र उम्मेदवारहरू सुशील शर्मा, चन्दन दुवे, दीपेन्द्र यादवलगायतका नेता आइपुगेको बताउनुभयो। 

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा विगतमा विजयी भएका उम्मेदवारहरूलाई मतदाताले के के विकास गर्न‘भयो भनेर प्रश्न सोधेर हायलकायल बनाउने गरेका छन्। जिल्लाको भङ्गहा नगरपालिका–२ का युवा देवेन्द्र यादवले आफ्नो निर्वाचन क्षेत्रमा पनि यसअघि विजयी हुनुभएका शरतसिंह भण्डारी, सुरिता साहलाई प्रश्न गरेको उहाँको भनाइ छ। 

महोत्तरी क्षेत्र नं. ३ का प्रदेश सभाका उम्मेदवार सुशील शर्माले मधेश आन्दोलनमा गोली चलाउने पार्टी, मधेश आन्दोलनको अपव्यख्या गर्ने पार्टीसँग मधेशवादी दलहरूले गठबन्धन गरेकोले आफू जसपाबाट अलग भएर उम्मेदवार बनेको बताउनुभयो। मधेश प्रदेशको मुख्य न्याधिवक्ताबाट राजीनामा गरेर जिल्लाको क्षेत्र नं. ३ (क) को जसपाबाट उम्मेदवारी दिनुभएका दीपेन्द्र झाले आफ्नो क्षेत्रमा घरदैलो अभियानमा सक्रियपूर्वक लागेको जानकारी दिनुभयो।