• १८ असोज २०८१, शुक्रबार

अरूपण कलाको मर्म

blog

देशभर चुनावी सरगर्मी बढेको छ । यति नै खेर कलाकार कला प्रदर्शनी र कला गतिविधिमा व्यस्त छन् । सिद्धार्थ ग्यालरी, ग्यालरी एम क्युव, ई आर्ट नेपाल, दलाइला आर्ट, पार्क ग्यालरी, नेपाल आर्ट काउन्सिल, क्लासिक ग्यालरी, अरूपण ग्यालरीलगायत ठाउँमा कला प्रदर्शन भइरहेको छ । प्रत्येक ग्यालरीमा विविध शैलीका चित्र झुन्डिने क्रम बढ्दो छ ।

प्रायः काठमाडौँमा छरिएका ग्यालरीमा कतै भावपरक चित्र देखिन्छन् त कतै संवेदनायुक्त धारका कला भेटिन्छन् । कतै परम्परागत र प्रयोग उन्मादी अभिव्यक्ति पाइन्छन् । विविधताका बीचमा अरूपण ग्यालरीले भने दुई दशकदेखि दर्शकलाई कलाको छुट्टै स्वाद पस्किँदै आएको छ । अरूपण ग्यालरीका भित्तामा प्रायःजसो कलाकार रमेश खनालको अरूपण शीर्षकका चित्र झुन्डिने गरेको पाइन्छ ।

“अरूपण कला भनेको के हो त ? यस कलाको मूल मर्म र भावना के हो ?” यस प्रश्नको उत्तरमा कलाकार खनालले भन्नुभयो, “अरूपण कला मूक दर्शकका लागि मूक सम्प्रेषणको अभिभावक हो । अरूपण आजका जिन्दगीका सत्ताहरू हुन् ।” पश्चिमा मुलुकमा जन्मेका अमूर्त कलाका विश्वविख्यात प्रयोक्ता वासिली कान्दस्कीले पनि आफ्नो अमूर्त कलाको सन्दर्भमा एकताका यस्तै खाले भाकामा अभिव्यक्ति पोखेका थिए । उनले भनेका थिए, “मेरा अमूर्त कलाहरू सत्यका सत्ताहरू हुन् ।”  अमूर्त र अरूपण कलाको मर्मलाई सत्यमा लगेर जोड्ने विगत र वर्तमानका यी दुई स्रष्टाका अभिव्यक्ति उस्तै भए पनि अरूपण कलालाई अमूर्तकलाभन्दा पृथक् ठान्नुहुन्छ कलाकार खनाल । उहाँ भन्नुहुन्छ, “अमूर्तवादलाई आत्मसात् गरी बनाइने चित्रमा कलाकारले आफ्नो अन्तरमन वा बाह्य रूप तथा विम्बको अमूर्त भावलाई रङ र रेखामा पोत्छ वा आफ्ना अनुभूतिजन्य पदचिह्न कोर्छ । अरूपण चित्रमा यस्तो हँुदैन । अरूपण चित्र बनाउन कलाकारलाई उसको विचार वा वाह्य विम्बले प्रभावित पार्दैन । अरूपण विम्बविहीन कलाधार तथा अमूर्तभन्दा एक पाइलो अघिको स्थिति हो ।” खनालका अनुसार कलाकारले आफ्नो संवेदनशील र उद्वेगशील भावलाई अरूपण मान्यताद्वारा क्यान्भासमा प्रष्फुटन गराएपछि ती सिर्जनालाई दर्शकले आआफ्नै किसिमले बुझ्छन् र कलाको स्वाद लिन्छन् । अरूपण नाम कसरी रह्यो भन्ने जान्न सर्वप्रथम आधुनिक कला बुझ्नुपर्छ । आधुनिक कला नबुझी यसमा निहित अमूर्तवादमा पुग्न सकिँदैन र अमूर्तवाद नसमाती अरूपण बुझ्न सकिँदैन । अरूपण सर्वमान्य कला धार होइन । 

आधुनिक कलाको उद्भव बिन्दु अठारौँ सदीको सेरोफेरोमा उत्पन्न भएको नवशास्त्रीयवाद हो । उन्नाइसौँ सदी कला विकास र प्रयोगको पराकाष्ठाको सदी हो । त्यही सदीमा कलामा विविध वाद, शैली वा हा“गाहरू सृष्टि भए र स्थापित बन्दै गए । यथार्थवाद, प्रभाववाद, ज्यामितीयवाद, अभिव्यञ्जनावाद, दादावाद, अतियथार्थवाद, भाववादलगायत विभिन्न वाद त्यसै बेला स्थापित भए । यसै कालखण्डमा स्थापित अर्को वाद हो– वस्तुनिरपेक्षकला अर्थात् अमूर्तवादी कला ।  कला क्षेत्रमा अमूर्तवादको बीज कहा“देखि छरिएर आएको छ भन्ने मतमा विद्वान्हरूको ऐक्यबद्धता छैन । कसैले अठारौँ सदीदेखि नै वस्तुनिरपेक्ष कला बनेका थिए भनेका छन् भने कसैले सेजान, गोंगे, मोन्ड्रियनका काममा पनि यस्तो कलाको अनुभूति पाएको कुरा उल्लेख गरेका छन् तर पूर्ण अमूर्तकलाको अवतरणमा कान्दस्की नै विख्यात स्रस्टा हुन् भन्ने मतमा चाहिँ सबैको मत मिलेको छ । कान्दस्कीले सन् १९०१ हुँदै १९०९ पछिका दिनमा पूर्ण अमूर्तकलाको सिर्जना गरेका छन् । भनिन्छ, यो वादमा काम गर्न अन्य वादमा जस्तो सजिलो छैन । जटिल र क्लिष्ट छ । यसमा काम गर्न गहन अध्ययन र लामो अनुभवको आवश्यकता पर्छ । अमूर्तकला सिद्धान्तका प्रायोगिक मान्यतामध्ये सर्वग्राह्य मान्यता हो, सिर्जनामा रङ र रेखाको गठिलो बहाव र सङ्गीतको धुन । 

नेपाली कलाको सन्दर्भमा अमूर्तवादको अवतरणको इतिहास त्यति लामो देखिँदैन । छोटो समयका निम्ति नेपाल आएका फ्रेन्च कलाकार निकोलाई मिचाटियुच्किनबाट स्वदेशमा नै अमूर्तवाद सिकेका र स्वअध्ययनबाट कलाकार बनेका गेहेन्द्रमान अमात्यले सर्वप्रथम २०१२ सालमा यसलाई चित्रमा ढालेर देखाउनुुभएको थियो । यसपछि २०१८ सालमा लैनसिंह बाङ्गदेलले पहिलोपल्ट विश्वमान्य गुण रहेको अमूर्त मान्यता नेपालमा भिœयाउनुभयो । उहाँले यो कला फ्रान्सको बसाइमा सिक्नुभएको हो ।  २०१९ सालमा सरस्वती सदनमा आयोजित उहाँको कला प्रदर्शनीमा केही आकृतिप्रधान चित्रहरू देखिएका थिए तर पछिल्ला प्रदर्शनमा भने उहाँका कलामा पूर्ण अमूर्तपन छाउँदै गयो । नेपालमा आजभोलि अर्धअमूर्तमा काम गर्नेहरू त धेरै छन् तर पूर्ण अमूर्त धारमा काम गर्नेहरू चाहिँ औँलामा गन्न सकिने छन् । चित्रकलातर्फ उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ (भारतमा बसोबास गरिरहनुभएका), विजय थापा, के.के. कर्माचार्य, पुरन खड्का, रमेश खनाल र मूर्तिकलातर्फ ठाकुरप्रसाद मैनाली, प्रमिला गिरीहरू सक्रिय छन् । युवातर्फ मनिसलाल, कैलाश श्रेष्ठजस्ता केही नवप्रतिभा देखिएका छन् । 

अङ्ग्रेजी शब्द ‘एब्स्ट्र्याक’को नेपाली अनुवाद अमूर्त भएजस्तै अमूर्तलाई साहित्यिक रूपमा अरूपण भनिएको हो । इतिहासमा अमूर्त कलाको सिद्धान्त अर्धआकार र घनवादी पदचिह्न हँुदै आएकाले यसमा दुवै मान्यता, दृष्टिकोण वा प्रयोग अटाउन सक्छ । यदि यी दुईमध्ये कुनै एक मान्यतालाई यसबाट अलग पार्न खोजियो भने अमूर्तकलाको परिभाषाले पूर्णता पाउँदैन । विश्व कला इतिहासमा अर्मूतवादलाई स्थापित गर्न कन्दस्कीले ठूलै सङ्घर्ष गर्नु परेको इतिहास छ । उनले जीवनको अन्तिम अवस्थासम्म अमूर्तताको खोज गरे ।