• ११ मंसिर २०८१, मङ्गलबार

जनप्रतिनिधि छनोटमा सञ्चारमाध्यम

blog

सञ्चार क्षेत्रले जनताको हक अधिकार संरक्षणको उद्घोष गरेको हुन्छ। लोकतन्त्र स्थायित्वका लागि पारदर्शिता र जवाफदेहिताको महìवपूर्ण भूमिकाको पक्षपोषण आमसञ्चारले गर्दछ। जनमतको सही सदुपयोग गराउन सूचना र समाचारको माध्यमबाट जनतामा जागरण ल्याउन र दबाब सिर्जना गर्नसमेत सञ्चार माध्यमको महत्व रहेको छ। शासकीय पूर्वाधार बनाउन आवधिक निर्वाचन गर्ने समयमा आमसञ्चार माध्यमले जनतामा सही जनप्रतिनिधि छान्ने निर्णयका लागि सूचना सम्प्रेषण गर्ने दायित्व निर्वाह गर्नुपर्ने हुन्छ।

विकसित देशमा जनता शिक्षित हुन्छन्, नागरिकप्रति शासनको उत्तरदायित्व र जवाफदेहिताको पूर्णपालना भएको हुन्छ भने दलको नेतृत्व दूरदृष्टि भूमिका र आचरणको आधारमा जनताले शासकीय नेतृत्व र जनप्रतिनिधि छानेका हुन्छन्। तर अल्पविकसित देशमा जनताको शिक्षाको स्तर कमजोर हुने र चुनावको महत्वलाई ध्यान नदिँदा शासकीय नेतृत्व चयन र जनप्रतिनिधि छान्ने विषयमा समस्या रहेको छ। जनतालाई चुनावको बेला ललिपप वा प्रलोभनमा पारी जनमत लिने र चुनावपछिको क्रियाकलाप आलोचित हुने गरेको पाइन्छ। यस्तो अवस्थाप्रति बेलैमै जनतालाई सजक र जिम्मेवार बनाउन सके मात्र लोकतन्त्र स्थायित्व र असल शासन अनुभूति गर्न सकिन्छ। यसका लागि चुनावमा जनता सचेत बनाउन आमसञ्चारमाध्यमले महìवपूर्ण जिम्मेवारी बहन गर्नै पर्छ।

नेपालमा आगामी मङसिर ४ गते सङ्घ र प्रदेश तहको चुनाव हँुदैछ। चुनावको प्रभावकारिताका लागि सचेत जनता, निर्वाचन गराउने निकायको स्रोत साधनको व्यवस्थापनसहित तयारी, सरकारको निष्पक्ष चुनावको प्रतिबद्धतासँगै आमसञ्चार माध्यमको जनजागरण गराउने भूमिकाको संयोजनले मात्र आमचुनाव सफल हुने देखिन्छ। जनताको सार्वभौम अधिकार प्रयोग गर्ने र जनमतको शक्ति देखाउने बेला पनि चुनाव हो। आवधिक समयमा आउने यस्तो अवसरमा जनतालाई आफ्नो राम्रो प्रतिनिधि छान्न सुसूचित गर्न सञ्चार माध्यम निष्पक्ष रूपमा पेसागत र व्यावसायिक दायित्व निर्वाह गर्न अग्रसर हुनैपर्छ। 

प्रविधिको विकाससँगै आमसञ्चारको क्षेत्र पनि फराकिलो बन्दै गएको छ। सञ्चार क्षेत्रमा प्रकाशन, श्रव्यदृश्य माध्यम छन्। सूचना प्रविधिको विकासले दृश्य सञ्चारमाध्यमको भूमिका बढ्दो छ। सामाजिक सञ्जालको प्रयोग र सूचना तथा समाचारको पहुँचले मानिसको जान्न सक्ने र बुझ्न सक्ने क्षमताको बढोत्तरी गरेको छ। आगामी चुनावमा आमसञ्चार माध्यमबाट जनताको जनप्रतिनिधि र नेतृत्व छान्न जान्न र बुझ्न सक्ने बनाउन सक्रिय भूमिका खोजेको छ। साक्षार हुन नसकेका जनतालाई सही सूचना र समाचार प्रवाह गरी सक्षम, सदाचार, जनउत्तरदायी र प्रतिबद्ध जनप्रतिनिधिसँगै नेतृत्व छान्न सक्षम बनाउन आमसञ्चारले जिम्मेवारी बहन गर्नु पर्छ। 

निर्वाचनका प्रक्रियाहरू सहज बनाउन तय भएका विधिको पक्षपोषण गर्ने, निर्वाचन आचारसंहिताको अक्षरशः पालना गराउने, जनप्रतिनिधिका उम्मेदवारबीच जनतासमक्ष अन्तक्र्रिया गराउने, निर्वाचनका बेला प्रलोभनमा पार्ने, क्षणिक लाभमा भुलाउने, मतको किनबेच गर्ने, सबै उम्मेदवारलाई गाउँमा पस्न र प्रचार गर्न नदिने, गाउँको नाइकेको सङ्केतका भरमा मत दिने आदि हुन सक्ने जोखिमहरूको रोकथाम गर्न प्रयत्न गर्ने, जनताको अपेक्षा र दलीय घोषणापत्र बीचका सम्बन्ध र कार्यान्वयनमा हुन सक्ने अवस्थाको सचेतना गराउने, दलीय स्वार्थभन्दा राष्ट्र र जनताको हक हितमा ध्यानाकर्षण गराउन सञ्चारमाध्यमको भूमिका हुने देखिन्छ। 

साथै नागरिकका भाषिक, सांस्कृतिक र समताको हक अधिकारको सम्मान र संरक्षणमा ध्यान केन्द्रित गर्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा सफल र प्रभावकारी भएका चुनावको सन्देश प्रवाह गर्ने, निष्पक्ष, धाँधली र भयरहित चुनावको आधार तय गर्न सक्रियता देखाउने, चुनावका महìवपूर्ण सन्देश र सूचना जनतामा चाँडो प्रवाह गर्ने र निर्वाचन शिक्षामा जोड दिनेजस्ता विषयमा आमसञ्चारमाध्यमले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ।

आमचुनावमा जनताको आवेग र उत्तेजनाको अवस्था पनि देखिन्छ। आवेग र उत्तेजना आउनु अस्वाभाविक पनि होइन तर मानवीय मनोविज्ञानको सही प्रयोग भएमा चुनावको सार्थकता बढ्ने देखिन्छ। बुझ्नु र जान्नुपर्ने विषयमा ध्यान नदिने अरूको लहैलहैमा लागि पछि पछुताउनु पर्ने पनि हुन सक्छ। यस्तो स्थिति आउन नदिन सञ्चारमाध्यमले चुनावी प्रक्रिया, जनताको सक्रियता, दल र उम्मेदवारको पृष्ठभूमि र दूरदृष्टि खाकाको विश्लेषण गरी सूचना र समाचारबाट जनताको चेतना जागृत गर्नु पर्दछ। आमसञ्चारमाध्यमले निष्पक्ष तठस्थ र निर्भीक भई समाचार सूचना प्रवाह गर्न ध्यान केन्द्रित गरी जनतालाई राम्रो जनप्रतिनिधि छान्न सक्षम बनाउनु पर्छ।

जनताले दल वा प्रतिनिधि छान्न सही सूचना खोजेका हुन्छन्। दल वा उम्मेदवारले दिएका सूचनाहरू सत्य तथ्य र वास्तविक हुन्, होइनन् भन्ने विषयमा खोजमूलक पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गर्न आमसञ्चार माध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। चुनाव सधैँ आउने पनि होइन तर चुनावको बेला निष्पक्ष र तथ्यपूर्ण पत्रकारिता र सूचना एवं समाचारको अपेक्षा आममानिसले गरेका हुन्छन्। पत्रकारिताको पेसागत दायित्व जनतालाई सुसूचित गर्नु पनि हो। पत्रकारिताका र सञ्चारमाध्यमका जोखिम पनि छन्। ती अवरोधका बीच पेसागत प्रखरता देखाइ मुलुकको शासकीय पूर्वाधार बनाउन आमसञ्चारमाध्यम अग्रसर बन्नु पर्छ। राज्यले पत्रकारितालाई चौथो अङ्गको रूपमा हेरेकोले पत्रकारकै कार्यसम्पादनको प्रभावबाट असल शासनको पूर्वाधार बन्न सहयोग पुग्ने अपेक्षा रहेको छ। 

आमचुनावमा राज्यको स्रोत र साधनको खर्च हुने र उक्त खर्चको व्यवस्थापनबाट भोलिको शासकीय पूर्वाधार बन्ने हुँदा यस्तो अवसरमा आमसमुदायलाई जागृत गराउन सबै सरोकार पक्ष सक्रिय हुन आवश्यक छ। चुनावलाई राष्ट्रिय महìवको दिन बनाउन र जनताको भोलिको भविष्य उज्ज्वल बनाउन आमसञ्चार माध्यमले कुनै कन्जुस्याइ गर्नु हुँदैन र सबै पक्षलाई सक्रिय पार्नुपर्छ। निर्वाचन आयोगले तर्जुमा गरेको आचारसंहिता, पत्रकारको आचारसंहिता र सञ्चारमाध्यमले 

पालना गर्ने व्यावसायिक आचारसंहितासँगै पत्रकारको पेसागत र सञ्चारमाध्यमको व्यवसाय सञ्चालन गर्न बनाइएका नियम कानुनको पूर्णपालना गरी निर्वाचनको सौहार्द वातावरण बनाउन आवश्यक छ। 

आमनिर्वाचनको सफलताले भोलिको जनअपेक्षा सम्बोधन गर्ने हुँदा चुनावको सही सदुपयोग गर्न गराउने सबैको आआफ्नो दायित्व रहेको छ। राम्रो शासकीय नेतृत्व र जनप्रतिनिधि छान्ने वातावरण बनाउन सबै लाग्नु पर्छ। आमचुनावलाई शासकीय पूर्वाधार बनाउने अवसरको रूपमा जनजागृत गर्न सञ्चारमाध्यमले अहम् भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। जनताको अपेक्षाको सम्बोधन गर्न शासकीय पूर्वाधार बनाउन सत्य तथ्य र वास्तविक समाचार र सूचना प्रवाह गरी सक्षम र योग्य जनप्रतिनिधि छान्ने ऊर्जा आमसञ्चार माध्यमले दिनु आवश्यक छ। निर्वाचनलाई आमजनताको महìवपूर्ण दिनको रूपमा लिई कुनै प्रलोभनमा नपरी निर्भीक रूपले आफ्नो जनप्रतिनिधि छान्ने अधिकारको पक्षपोषण गर्न आमसञ्चार माध्यमले पेसागत उत्तरदायित्व निर्वाह गर्नुपर्ने देखिन्छ। 

लेखक सूचना तथा प्रसारण विभागका निर्देशक हुनुहुन्छ।