• ११ मंसिर २०८१, मङ्गलबार

राजनीतिक दर्शनमा स्वको चेतना

blog

पश्चिमाहरूले प्लेटोको ‘रिपब्लिक’लाई प्रजातन्त्रको पहिलो दस्तावेज ठान्छन्। रिपब्लिक लेखिनुभन्दा तीन हजार वर्षपहिला ऋग्वेदले स्वराज्य, वैराज्य आदि सात प्रकारका राष्ट्र सञ्चालनका व्यवस्था अभ्यास गरिसकेको थियो। सत्य के हो भने नेपाली राजनीतिक अभ्यासमा लोकतन्त्र, समाजवाद, गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र (२०७२ को संविधानले गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र, समाजवाद तीनैलाई फ्युजन गरेर) बनाएको नयाँ शब्द हो; जुन नेपालको आफ्नो मौलिक होइन।

आधुनिक राज्यव्यवस्थामा अमेरिकाको लबीले सधैँ प्रजातन्त्रको वकालत गरेको पाइन्छ। ब्राजिल, भारतजस्ता विकासशील मुलुकले लोकतन्त्रको वकालत गरिरहेका हुन्छन् भने कम्युनिस्टहरूले गणतन्त्रको वकालत गर्छन्। नेपालजस्ता मुलुक कहिले भारत, कहिले चाइना त कहिले अमेरिकाको संविधान र इच्छा बुझेर संविधानको नाम राख्छन्। ‘लोकतान्त्रिक गणतन्त्र’ रिपब्लिकले कल्पना गरेको, माओले सोचेको वा अब्राहम लिङ्कनले कल्पना गरेको शब्द होइन। हामी ‘तुष्टीकरण’ वादमा उभिएका छौँ, जसले आफ्नो देशको मौलिकताको संरक्षणलाई भन्दा विदेशीको इच्छाको बढी सम्मान गर्छ।

प्लेटोकालीन गणतन्त्र (प्रजातन्त्र) आजको जस्तो थिएन। स्त्री, कृषक, कामदार, मजदुर तथा दासदासीलाई ‘मान्छे’ भनिन्नथ्यो भने मत दिने, राज्यमा सहभागिता जनाउने कुनै अधिकार थिएन। त्यो न लोकतन्त्र थियो न प्रजातन्त्र न गणतन्त्र नै। प्लेटोको ‘गणतन्त्र’ अभिजात्यहरूको भागबण्डा गर्ने एउटा प्रणाली थियो, जसले प्राइभेट लिमिटेडका सेयर होल्डरहरूले झैँ राज्यका संसाधन बाँडेर उपभोग गरिन्थ्यो। साँच्चिकै भन्ने हो भने त्यसबेला प्लेटोले लेखेको र भोगेको गणतन्त्र र आजको ‘गणतन्त्र, प्रजातन्त्र वा लोकतन्त्र’मा आधारभूत फरक छैन। नेपाली सत्ता समीकरणमा त झन् ठ्याक्कै ‘प्लेटोवाद’ घटित हुँदै आएको छ।

लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा गणतन्त्र जुन शब्दको प्रयोग भए गरिए पनि आधुनिक राज्यव्यवस्थाले प्लेटोको ‘रिपब्लिक’लाई आफ्नो बौद्धिक पितामह मानेका छन्। नेपाल, भारत, अमेरिका, ब्राजिलहरूको राजनीतिक सिद्धान्तको आधार ‘रिपब्लिक’ नै हो। मुस्लिमका ७४ सम्प्रदाय, इसाईका ६४५ सम्प्रदाय र यहुदीका तीनवटा सम्प्रदाय भएझैँ ‘लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा गणतन्त्र’ सबैका बौद्धिक र पवित्रतम स्रोत रिपब्लिक नै हो, 

ठ्याक्कै इसाईका सबै सम्प्रदायले बाइबल र मुस्लिमले कुरानलाई सर्वोच्च ग्रन्थ मानेझैँ। सबै कुरामा मतभेद होला तर यी राष्ट्रबीच रिपब्लिकका विषयमा मतभेद छैन। त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागले पढाउने पाठ्यक्रममा पनि ‘रिपब्लिक’लाई प्रजातन्त्रको स्रोत भनेर पढ्नुपर्छ।

आधुनिक प्रजातन्त्रका पाँचवटा स्तम्भ स्वतन्त्रता, समानता, शिक्षा, सहभागिता र जीवनको अधिकार सबैका लागि मानिन्छ। सुन्दा निकै उचित लाग्छन् र यी सोचेजस्तै कार्यान्वयन हुने हो भने मानवता सुखी हुन्छ पनि तर व्यवहारमा विश्वका कुनै पनि डेमिक्रेसीले उपरोक्त सैद्धान्तिक आधारको एक चौथाइ पनि कार्यान्वयन गरेका छैनन्। अझै भन्नुपर्दा अब्राहम लिङ्कन, बेन्थम, मिल आदिले जेजस्ता परिभाषा दिए पनि ठ्याक्कै प्लेटोको भावनाअनुसार नै प्रजातन्त्र ‘ठूलाबडा’हरूको भागबण्डामा परेको छ।

समानताको अर्थ हुनेखानेबीच सम्मानजनक भागबण्डा, स्वतन्त्रताको अर्थ भागबण्डाको सहमतिप्रति प्रतिबद्धता, शिक्षाको अर्थ सेयर होल्डरका लागि स्तरीय शिक्षा (नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का आदिका हकमा हुनेखानेका लागि निजी र जनताका लागि सरकारी शिक्षा), सहभागिताको हकमा राज्य सञ्चालकबीच सत्ताका लागि ‘गठबन्धन’ र जीवनको अधिकारको हकमा पहुँचवालका लागि मात्र औषधि उपचार आदिको सुनिश्चितता (नेपालमा पूर्वप्रधानमन्त्री, मन्त्री, निजामतीका शक्तिशालीहरूले सुविधा प्राप्त गर्छन्। उनीहरूको जीवन सुनिश्चित गर्न राज्यले अनुदान दिएर अमेरिका बेलायत पठाउँछ) भन्ने बुझ्नुपर्छ। यी राज्य (सत्ता)को चरित्र ठ्याक्कै प्लेटोको डेमोक्रेसीझैँ छ।

ऋग्वेदमा केही प्रकारका राज्य व्यवस्थाको वर्णन छ ः स्वराज्य, वैराज्य, पारमेष्ठ राज्य आदि। यी राज्य सञ्चालक सिद्धान्तमा आधारित राष्ट्रको शासन प्रणाली कस्तो हुन्थ्यो भन्न सकिन्न तर लगभग सात प्रकारका राष्ट्र सञ्चालनका व्यवस्थामा ‘रिपब्लिक’ पनि पर्न सक्छ। असलमा, संस्कृत वा नेपालीमा रिपब्लिकको ठ्याक्कै अनुवाद छैन। डेमोक्रेसी (रिपब्लिकको) आधुनिक व्याख्याहरू पढे र बुझेपछि ऋग्वेदको ‘स्वराज’ रिपब्लिक वा डेमोक्रेसीभन्दा बढी महìवपूर्ण लाग्यो। 

स्व तथा राज्य यी दुई शब्द मिलेर निर्मित भएको शब्दले सबै सुखी रहून्, सबै निरोगी होऊन्, सबैको कल्याण होस् र सामाजमा कुनै पनि व्यक्ति दुःखी नरहोस् भने उपनिषद्को चाहना र मनुस्मृतिले खोजेझैँ पृथ्वीको प्रत्येक समाजले स्वत्रन्त्रपूर्वक 

आ–आफ्नो संस्कृति, परम्पराको शिक्षा प्राप्त गरोस् भन्ने भनाइ चरितार्थ भएको ठान्छु। साथै प्लेटोबाट आयात गरिएको डेमोक्रेसी वा रिपब्लिकले सैद्धान्तिक रूपमा पनि ‘स्वराज्य’ प्रतिनिधित्व गर्न नसक्ने देख्छु। यद्यपि स्वराज्यका तुलनामा रिपब्लिक–मोडेल बढी प्रसिद्ध र चर्चित छ।

स्वराज्यका विषयमा चर्चा गरिरहँदा स्वतन्त्रता पनि परिचर्चाको विषय बन्नुपर्छ। मलाई कुनै पनि सन्देह छैन कि स्वराज्य र स्वतन्त्रताका बीचमा गहिरो सम्बन्ध निर्विवाद छ। स्व र तन्त्र – यी दुई शब्दको मिलनबाट स्वतन्त्र शब्द बनेको छ; जसले स्वराज्यको शासकीय व्यवस्थाको व्यावहारिक पक्षलाई उजागर गर्छ। सबैले स्वतन्त्रतापूर्वक आ–आफ्ना संस्कृतिअनुसार आफ्नो विकास गरून् भने मनुस्मृतिको कथन होस् वा विश्वको अन्तिम मानिस दुःखी रहनु हुँदैन भन्ने वैदिक ऋषिहरूको चाहना नै किन नहोस्, स्वराज्यमा मात्र प्राप्त हुन्छ। 

स्वतन्त्र व्यक्तिको सामूहिक कर्मले स्वराज्यको स्थापना हुन्छ र यस्तो राज्यले मात्र स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिन्छ। नियामकका रूपमा ‘स्वराट’ बुझ्नुपर्छ। स्वराट त्यो अवस्था हो, जसमा स्वराज्यभित्रका स्वतन्त्र व्यक्तिले दसवटा धर्म (धृति, क्षमा, दम, अस्तेय आदि) पालन गरेर आर्जित गर्छन्। सद्गुण र विवेकबाट सञ्चालित व्यक्ति नै स्वराट होस्, जसले धर्मपूर्वक स्वराज्य र स्वतन्त्रताको संरक्षण गर्छ।

स्वतन्त्रता, स्वराट, स्वधर्म (रिलिजन होइन) र स्वराज्य यी चारवटा विषयले मान्छेको बहुपक्षीय विकासलाई अनुप्राणित गर्छ। स्वराट अर्थात् आत्मबल नभएको व्यक्ति वा समाजले स्वतन्त्रताको महìव र अनुभूति गर्न सक्दैन। व्यक्तिगत सद्गुणलाई महìव नदिने व्यक्तिले स्वराज्य प्राप्ति गर्न सक्दैन। यदि कुनै परिस्थितिवस स्वराज्य प्राप्त गरे पनि त्यसको संरक्षण गर्न सक्दैन। स्वराट व्यक्तित्वमा स्वधर्म, स्वतन्त्रताको स्वाभाविक उपस्थिति हुन्छ भने यस्ता गुणका आधार भएको व्यक्तिका लागि स्वराज्य अनिवार्य हुन्छ।

स्वधर्ममा स्वच्छन्दता र अधिकार, स्वतन्त्रता र अधिकारबीचको सूक्ष्म कर्तव्य रेखा बुझ्ने प्रज्ञा हुन्छ। अधिकार र स्वतन्त्रता एउटा भाव हुन् भने कर्तव्य र भाव अर्को चेतना हुन्। व्यक्तिमा स्वराज्य र स्वधर्मप्रतिको आस्था छैन भने अराजक अधिकार र स्वतन्त्रताले आत्मघाती व्यक्ति वा समाजको निर्माण हुन्छ। अन्त्यमा, दार्शनिक र व्यावहारिक रूपमा चिन्तन मनन गर्दा वर्तमान नेपाल राष्ट्रका अभियन्ताहरूले स्वधर्म र स्वतन्त्रता, स्वराज्य र अधिकारबीचको कर्तव्य रेखाको सीमाङ्कन गर्नु आवश्यक देखिन्छ।