• १३ साउन २०८१, आइतबार

हिमपातले लिमीको उवा बालीमा क्षति

blog

थुप्रो पारेको उवा बालीमा परेको हिउँ। तस्बिर सौजन्य : पाल्जोर तामाङ वडा अध्यक्ष लिमी

राजन रावत

हुम्ला, असोज २५ गते। हिउँले लिमीको जग्गामा पाकेको उवा बालीमा क्षति पुर्‍याएको छ। नाम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीको तील गाउँका स्थानीय टुन्जोक तामाङले जग्गामा पाकेर काटेर राखिएको बालीमा हिमपातले क्षति गरेको जानकारी दिनुभयो। मेशिनबाट दाना निकाल्नका लागि थुप्रो बनाएर राखेको बालीमा हिमपातले क्षति गरेको हो। काटेर मिलमा चुट्नका लागि तयारी गर्दागर्दै हिमपातले क्षति गरेको उहाँको भनाइ छ। 

बालीलाई पालले छापेको भए पनि हिउँले भिजाएर काम नलाग्ने भएको हो। किसानले बालीलाई मिलमा नचुटुनजेलसम्म जग्गाको एक छेउमा थुप्रो बनाएर राख्ने गर्छन्। २५ घर धुरीको दुई सय रोपनीमा लगाएको सबै उवा बालीमा हिउँले क्षति गरेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो। 

उहाँले लगातार हिमपात भएको कारण थुपारेर राखिएको उवा बालीका किसानले सुरक्षा दिन नसकेको बताउनुभयो। बालीमा हिमपातले क्षति पुर्‍याएपछि स्थानीयलाई खाद्यान्न समस्या हुने देखिएको छ। 

लिमीका अन्य दुई गाउँ हल्जी र जाङका किसानको बालीमा पनि हिमपातले क्षति गरेको छ। उवाबाली लिमीमा वर्षमा एक पटक मात्र पाक्ने बाली हो।