• ११ पुस २०८१, बिहिबार

व्यक्तिगत लगानीमा लोपोन्मुख गिद्ध संरक्षण

blog

घाइते गिद्धको उपचार गर्दै संरक्षणकर्मी गोविन्दबहादुर सिंह ।

ललित बसेल

सुर्खेत, मङ्सिर १० गते । प्रकृतिको कुचीकार मानिने गिद्ध संरक्षणमा कर्णाली प्रदेश सरकारले बल्ल योजना बनाउँदै छ तर जाजरकोट बारेकोट गाउँपालिका–५ का गोविन्दबहादुर सिंहले व्यक्तिगत लगानीमा गिद्ध संरक्षणको एकल अभियान चलाइरहनुभएको छ । 

करिब एक दशकदेखि उहाँले कर्णालीका विभिन्न जिल्लामा गिद्ध संरक्षणसहित खोज अनुसन्धान र उपचारमा केन्द्रित हुनुहुन्छ । २०७० वैशाखदेखि उहाँ वन्यजन्तु संरक्षणको अभियानमा हुनुहुन्छ । उहाँले लोपोन्मुख गिद्धको अनुसन्धान गरी तिनीहरूको वासस्थान गुँडसमेत पत्ता लगाउनुभएको छ । साथै चोरीसिकारीका पासोमा परेका वन्यजन्तु तथा पासा गुलेली पनि बरामद गरेर प्रशासनलाई बुझाउनुभएको छ । उहाँले सात सय गुलेली, २९० वटा फलामे पासा बरामद गरी प्रशासनलाई बुझाउनुभएको छ । साथै ३५ वटा मृग पासा तथा आठ सय वटा चरा पासा पनि नियन्त्रणमा लिनुभएको छ । 

यसै गरी १८ वटा गिद्धसहित १६८ वन्यजन्तुको उपचार उहाँले गर्नुभएको छ भने १२० वटा गिद्धको उद्धार गरेको उहाँले बताउनुभयो । कृषि प्राविधिक जागिरे सिंहले आफ्नो तलबको आधा रकम गिद्ध तथा वन्यजन्तुको संरक्षणमै खर्च गर्ने गर्नुहुन्छ । उहाँका अनुसार वन्यजन्तु तथा गिद्ध संरक्षणमा कसैले चासो नदिने र थाहा नपाएको हुँदा आफ्नो तलबको आधा रकम त गिद्ध संरक्षणमै खर्च गर्नुहुन्छ । गिद्ध संरक्षणमा कसैको चासो नभएकोमा दुःख व्यक्त गर्दै विगतमा सरकारी बजेट पनि विभिन्न बहानामा फ्रिज गराउने काम भएको उहाँको भनाइ छ । 

गिद्धबारे खोज अनुसन्धान

कर्णाली प्रदेशमा उहाँले गिद्धबारे खोज र पहिचान गर्नुभएको छ । कर्णालीमा २१२ वटा गिद्ध र ६३ वटा गुँड रहेका छन् । जाजरकोटमा ८२, डोल्पामा २६, रुकुममा १७, सल्यानमा १४, कोलीकोटमा १२, हुम्लामा २७ र जुम्लामा ३४ वटा गिद्ध रहेका छन् । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये कर्णालीमा मात्रै पाँच प्रजातिका गिद्ध पाइने गरेको छ । हिमाली गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, हार्डफोर गिद्ध र राज गिद्ध कर्णालीमा पाइने गरेका छन् । यी सबै दुर्लभ प्रजातिमा पर्ने जानकारी संरक्षणकर्ता सिंहले दिनुभयो । यसै गरी दुर्लभ पन्छीका बारेमा पनि उहाँले पत्ता लगाउनुभएको छ । चिरकालिज, चिलिमे, डाँफे, मुनाललगायत दुर्लभ पन्छीहरू डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, रुकुमपश्चिममा पाइएको उहाँले जनाउनुभयो । 

यता गिद्धलगायत वन्यजन्तुको संरक्षणमा गोविन्दबहादुर सिंहले थालेको कामलाई पनि सँगसँगै लिएर कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि संरक्षणका योजना बनाउने प्रतिबद्धता जनाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशभर लोपोन्मुख गिद्धको संरक्षणका लागि अनुसन्धान र योजना कार्यक्रम राख्ने प्रतिबद्धता जनाएको छ । 

गुँड बचाउन आग्रह

उता गिद्ध संरक्षणमा केन्द्रीय स्तरमा काम गर्दै आएको नेपाल पन्छी संरक्षण सङ्घले कर्णालीमा लोपोन्मुख गिद्ध र यसको गुँडलाई बचाउन आग्रह गरेको छ । सङ्घका परियोजना अधिकृत भूपाल नेपालीले संसारमा २३ प्रजातिका गिद्ध पाइने र त्यसमध्ये नेपालमा नौ प्रजातिका पाइने भएकाले प्रकृतिको वातावरण जोगाउन यसको गुँड संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । कर्णालीका प्रायः सबै जिल्लामा गिद्ध पाइने र त्यसम विशेष गरी जाजरकोटमा लोपोन्मुख गिद्ध बढी हुने गरेको पाइएको उहाँले जनाउनुभयो । पछिल्लो समय डाइक्लोफेनिक सोडियमको प्रयोग पशुपन्छीमा प्रतिबन्ध गरिएपछि गिद्धको सङ्ख्या बढेको उल्लेख गर्दै उहाँले अब स्थानीय तथा प्रदेश सरकारले पनि यसको संरक्षणका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।