• ११ मंसिर २०८१, मङ्गलबार

तत्कालीन नगरप्रमुखलाई कैद सजाय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ११ गते । विशेष अदालतले सिरहाको कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माण अनियमिततामा तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनालाई दुई वर्ष छ महिना कैद सजाय गरेको छ । प्रक्रिया अघि नबढाउन उच्च अदालतले गरेको आदेशविपरीत भवन निर्माणको बोलपत्र प्रक्रिया आह्वान गरी राज्यलाई क्षति पु¥याएको अभियोगमा अदालतले कैद र जरिबानाको फैसला गरेको हो । अदालतले पासमानसहित पाँचै जनालाई जनही २१ लाख ६० हजार रुपियाँ जरिबाना गरेको छ । 

अदालतले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय जगदीश मण्डल र बुद्धिमान दनुवारलाई पनि दुई वर्ष छ महिनाकै कैद सजाय गरेको छ । यस्तै तत्कालीन लेखापाल प्रवीणकुमार महतोलाई अढाई वर्ष कैद र २१ लाख ६० हजार रुपियाँ नै जरिबाना तथा  निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एन्ड कम्पनी/ड्रागन जेभीका प्रतिनिधि वैजनाथ यादवलाई अन्य प्रतिवादीसरह कैद र जरिबाना गरेको छ । 

न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यसअघि कात्तिक २८ गते पाँचै जनालाई दोषी ठहर गरी सोमबार सजाय निर्धारणको पेसी तोकेको थियो । अदालतले प्रतिवादीहरूको शैक्षिक, आर्थिक, सामाजिक तथा अपराध गर्दाको पृष्ठभूमिसमेतका आधारमा सजाय निर्धारण गरेको हो । 

नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्न उच्च अदालत जनकपुर, राजविराजको आदेशविपरीत सार्वजनिक खरिद प्रक्रिया अघि बढाएको अभियोग उनीहरूमाथि लगाइएको थियो । निर्माण स्थलको प्रबन्धसमेत नभई बोलपत्र आह्वान गर्न नमिल्ने प्रावधानविपरीत तथा स्थानीय तहको केन्द्र परिवर्तनसमेत नभई बोलपत्र आह्वान गरिएको अभियोग उनीहरूमाथि लागेको थियो । 

उक्त कार्य प्रचलित कानुनविपरीत सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पु¥याउने उद्देश्यबाट भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । राज्य कोषमा कुल एक करोड आठ लाख रुपियाँ हानि नोक्सानी भएको अख्तियारको जिकिर थियो ।