• १० मंसिर २०८१, सोमबार

कोदो उत्पादन घट्दो, माग बढ्दो

blog

जुम्लाको तातोपानी गाउँपालिका –६ धौलापानीमा पाकेको कोदो । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, मङ्सिर १० गते । कालीकोटको साथै साविकको कर्णालीका अन्य जिल्लामा राम्रो उत्पादन हुने कोदोले मूल्य पाउन थालेको छ । कोदोको प्रयोगले पाचन प्रणाली राम्रो हुनुका साथै शरीरमा रगतको मात्रा बढाउनेदेखि कोलोस्टरको मात्रा घटाउने र हृदयघातबाट जोगाउने हुनाले कोदोको माग बढेको छ ।

कोदोलाई ढिंडो, रोटी, पुवा, सातु, खोले, लिटो खाँदा स्वस्थ हुने जानकारीपछि ग्रामीण क्षेत्रमा कोदोको माग बढ्दा मूल्य पनि पाउन थालेको छ । कोदोबाट बन्ने सबै परिकार मानव स्वास्थ्यका लागि राम्रो हुने भन्दै लोकल मदिराजन्य पेय पदार्थमा समेत मिसाउने चलन छ । 

शहरका ठुला होटलमा कोदोबाट उत्पादन गरिएको मदिरा, तुम्बा, जाँड, रक्सीको खोजी पनि बढ्ने गरेको छ । कालीकोटको मान्ममा होटल गर्दै आउनुभएका धर्मेन्द्र शाहीले रारा जाने पर्यटकले कालीकोटे कोदोको उत्पादन के छ भनेर खोजी गर्ने गरेको बताउनुभयो । 

भातेबानीमा हुर्केकाहरुले कोदोलाई कम महत्व दिने चलन अझै छ । तर कोदोको महत्व थाहा नभएर पहिले, पहिलेका वर्षमा कोदो सस्तो र कम प्रयोग हुँदै आएको रहेछ भन्ने आजभोलि सबै किसानलाई महसुस भएको छ । कोदोमा चामल, मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइने गरेको स्वास्थ्यको तथ्याङ्क छ । 

उत्पादनका हिसाबले राम्रो हुने कोदोका फाइदाबारे पछिल्लो समय यहाँका नागरिक जानकार हुन थालेपछि गाउँदेखि शहरसम्म कोदोको माग बढिरहेको छ । कुनै समय कोदोको प्रयोग गर्नेलाई गरिब, खाना नपुग्ने परिवारका रुपमा विश्लेषण गर्ने चलन थियो । 

धेरै उत्पादन हुने कोदोको महत्व सुरुमा थाहा नहुँदा मूल्य पनि थोरै पाउने गरेको थियो । अहिले पनि कोदोको माग बढ्न थालेपछि मूल्य पनि राम्रो पाइने गरेको किसानको भनाइ छ । रास्कोट –२ का शान्ताकुमारी रोकामगरले पछिल्लो समय कोदोको मूल्य बढेको बताउनुभयो । 

यता, मूल्य बढेपछि उता उत्पादन घटेको छ । हुन त पहिला कोदो बिक्री नभएर होला अहिले बिक्री हुन थालेकाले कोदोको अभाव हुन थालेको रोकाको भनाइ छ । 

उहाँले आफैंले पनि एकसय रुपियाँको पाँचदेखि छ पाथी अर्थात् किलोको हिसाब गर्दा सरदरमा २४ किलोका दरले किनेर प्रयोग गरेको कोदो अहिले एकसय रुपियाँको चार किलो मात्र पाउने गरेको सुनाउनुभयो । 

कोदोको मूल्य बढ्दा उत्पादन घटेको छ । मूल्य राम्रो पाउन थालेपछि कोदोको खेती गर्नतिर किसान उत्साहित भएका छन् । जुम्ला तातोपानी –३ का कृष्णहरि अधिकारीले कोदोको माग बढेकाले प्रायः अहिले बाँझो बारीमा कोदो लगाउने किसानको सङ्ख्या बढेको बताउनुभयो । अधिकारीले पहिलाजस्तो उत्पादन त छैन, पहिलाको जस्तो कोदोको उत्पादन र अहिलेको जस्तो मूल्य हुने हो भने किसानलाई फाइदा हुने सुनाउनुभयो । 

बालबालिकाको मस्तिष्क वृद्धिदेखि मधुमेह, उच्च रक्तचाप भएका बिरामीका लागि उल्लेखनीय फाइदा हुने रहेछ भनेर नागरिकले जानकारी पाएपछि कोदोको मूल्य बढिरहेको छ । अहिले एकसय रुपियाँको दुई पाथी अर्थात चार किलोमा बिक्री हुने गरेको स्थानीयको भनाइ छ । 

स्वास्थ्यकर्मी अशोक न्यौपानेले गाउँमा कोदोको फाइदाबारे जानकारी दिन थालेपछि किसानमा उत्साह आएको बताउनुभयो । स्वास्थ्यकर्मी न्यौपानेले कोदो खास बाली हो भनेर किसानले नबुझेकै कारणले खेती कम गर्दा उत्पादन पनि घटेको बताउनुभयो । 

कोदोको फाइदा

स्वास्थ्यकर्मीका अनुसार नियमित कोदोको प्रयोगले मुटुरोग लाग्न दिँदैन भने हार्ड बलियो बनाउँछ । बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ भने नराम्रो कोलेस्ट्रोल घटाउँछ । 

शरीरको विषाक्तता बाहिर निकाल्छ, पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ । रगतको कमी हुन दिँदैन । कब्जियत हुन दिँदैन । स्तन क्यान्सर हुनबाट जोगाउँछ । रक्तचाप घटाउँछ । मिर्गौला र कलेजोको रोग लाग्न दिँदैन । 

चिकित्सकका अनुसार उर्जाको राम्रो स्रोत कोदोमा छ । रोग प्रतिरोधी क्षमता बढाउने, पित्तथैलीमा पत्थरी हुन नदिने, छाला चम्किलो बनाउने । शरीरमा कुनै चोटपटक लागेमा घाउ छिटो भरिन सहयोग गर्छ । आमाको दूध बढाउने र बालबालिकालाई कुपोषण हुनबाट जोगाउँछ ।