• १२ पुस २०८१, शुक्रबार

योगदानमा आधारित सामाजिक सुरक्षा दिवस

आश्रितलाई एक लाख सन्ताउन्न हजारसम्म पेन्सन

blog

काठमाडौँ, मङ्सिर ११ गते । काठमाडौँको डिलक्स कन्सल्टेन्सी ओभरसिज कम्पनीमा कार्यरत सुमनकुमार महर्जनको मृत्युपछि उहाँकी श्रीमती सुलोचना महर्जनले विगत आठ महिनादेखि दम्पती निवृत्तिभरण अन्तर्गत मासिक रूपमा रकम प्राप्त गर्दै आउनुभएको छ । 

मृतक महर्जनले मासिक करिब तीन लाख रुपियाँ पाउने गरेकोमा आश्रित परिवार योजना अन्तर्गत श्रीमती सुलोचनाले तलबको ६० प्रतिशत बराबर निवृत्तिभरणको सुविधा प्राप्त गरिरहनुभएको छ । सामाजिक सुरक्षा ऐन अनुसार मृतक महर्जनले प्राप्त गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशत श्रीमतीले अर्को विवाह नगर्दासम्म एक लाख ५७ हजार पाँच सय रुपियाँ निवृत्तभरण आजीवन प्राप्त गर्नुहुने छ । 

डिसिई नामक कम्पनीमा कार्यरत मृतक शौरभ सुवेदीका बाबुआमाले पनि मासिक पेन्सनबापत ३५ हजार ६४० रुपियाँ प्राप्त गर्दै आउनुभएको छ । मृतक सुवेदीका बाबुआमा जस्तै सामाजिक सुरक्षा योगदान गरेबापत मासिक पेन्सन प्राप्त गर्ने ५६ परिवार रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ । यसबाहेक मृतक योगदानकर्ताको अन्तिम संस्कारका लागि मृतकको परिवारले एकमुष्ट २५ हजार रुपियाँसमेत पाएको कोषले जानकारी दिएको छ । 

कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेको समय विभिन्न कारणले मृत्यु भएकाले मासिक रूपमा निवृत्तिभरण प्राप्त गरिरहेको प्रतिनिधिमूलक उदाहरण हुन् यी । कोषका अनुसार अहिलेसम्म ५८७ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि एक लाख ५७ हजार पाँच सय रुपियाँसम्म कोषले अहिले मासिक निवृत्तिभरण वितरण गर्दै आएको छ । 

यसबाहेक सन्तति हुनेले शैक्षिक वृत्ति अन्तर्गत अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुग्दासम्म प्राप्त गर्ने व्यवस्था छ । अहिले सन्तति शैक्षिकवृत्ति २७८ मृतकका ३६३ बालबालिकाले प्राप्त गर्दै आएको कोषले जानकारी दिएको छ । यस्तै कानुन अनुसार मृतक विवाहित नभएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ । कोषका अनुसार आश्रित परिवार योजना अन्तर्गत हालसम्म १८ करोड ५५ लाख पाँच हजार ९६८ रुपियाँ निवृत्तिभरणका रूपमा कोषले उपलब्ध गराएको छ ।  

कोषका सूचना अधिकारी उत्तमराज नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै बेला विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका आश्रित परिवारलाई मासिक एक लाख ५७ हजार पाँच सय रुपियाँसम्म निवृत्तिभरण उपलब्ध गराएको जानकारी दिनुभयो । 

उहाँका अनुसार हाल १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता कोषमा आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ पाँच लाख ४३ हजार ४९१ जना रहेका छन् भने वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५ रहेका छन् । यसै गरी स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध भएका छन् । अहिलेसम्म कोषमा ६८ अर्ब ६८ करोड रुपियाँ सङ्कलन भएको छ । २०७५ मङ्सिर ११ गते स्थापना भएको कोषले विभिन्न योजना अन्तर्गत कर्जा, स्वास्थ्य बिमा, निवृत्तिभरणलगायतका सुविधा प्रदान गर्दै आएको छ ।