• १३ साउन २०८१, आइतबार

लमजुङ जिप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

blog

शनिबार दिउँसो दुर्घटनामा परेको जिप । तस्बिर : बेलिना थापा

बेलिना थापा

लमजुङ, असोज २२ गते । लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बेँसीशहर नगरपालिका १ रिठ्ठेबगरमा रोकिराखेको ग १ च ५९३४ नम्बरको बोलेरो जिप ओरालोमा ब्याक भई दुर्घटना हुँदा जिपमा सवार सुन्दरबजार नगरपालिका ३ च्यानपाटाका ६१ बर्षीय मोतिबहादुर मजाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला अस्पताल लमजुङमा उपचारका लागि ल्याइएका घाइते मजाकोटीको उपचार हुन नसकी चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो । उपचारका लागि अस्पताल पु¥याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । 

अर्का घाइते राइनास नगरपालिका ६ धमिलीकुवाका ६३ बर्षीय केदार चिलुवालको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केदारको बाँया खुट्टा, टाउको र छातीमा चोट लागेको छ । जिपमा चार जना सवार रहेकोमा अन्य दुई जना सामान्य घाइते भएको र उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 

बेँसीशहर नगरपालिका १ उदीपुरबाट बेँसीशहर नगरपालिका ११ चितितर्फ जाँदैगरेको उक्त जिपलाई रोकी चालक बेँसीशहर नगरपालिका ११ का ३७ बर्षीय रुपेशबाबु अधिकारी बाहिर निस्किएका थिए । रोकिराखेकै अवस्थामा ब्याक भई सडकबाट अन्दाजी १०० मिटर तल बाँया साइडमा जिप खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताउनुभयो । 

प्रहरीका अनुसार सो घटना शनिबार दिउँसो सवा १२ बजेतिर भएको थियो । चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।