काठमाडौं, असोज १८ गते। नेपालीको महान् चाड विजया दशमीको आगमनसँगै मन्दिर लगायत घरघरमा मालश्री धुन गुन्जिरहेको छ।
मालश्री धुन बज्न थालेपछि हरेक नेपालीमा वडा दशैं सुरु भएको महसुस गर्न सकिन्छ। विगत लामो समयदेखि सितार बजाउँदै आउनुभएका सितार वादक सिता मैया राजचलका अनुसार दशैं सुरु भएपछि विभिन्न बाजागाजासहित मालश्री धुन बजाउने चलन धेरै पुरानो हो।
दशैंमा गुन्जिने मालश्री धुन विशेषगरी इन्द्रजात्रापछि बजाउन सुरु हुने उहाँ बताउनुहुन्छ। दशैंको कोजाग्रत पूर्णिमासम्म यो धुन बजाइन्छ। उहाँका अनुसार मालश्री धुन भनेको एउटा राग हो। पछि यसमा सितार र बाँसुरी जोडेर मालश्री धुन बनाएर बजाउन थालिएको हो। “मालश्री धुन बजाउँदा म आफैँको मनमा शान्ति र भागवत दुर्गाको श्रुति गाइरहेको छु जस्तै लाग्छ,” उहाँले भन्नुभयो।
“दशैं नारी शक्तिको उत्सव हो। धर्मको विजय उत्सवसँगै नारी बिना धर्ती चल्दैन भन्दै यस पर्वले नारी शक्तिको प्रतिनिधित्व गर्छ’’, उहाँ भन्नुहुन्छ, “मुख्य रूपमा मालश्री धुन देवी माताको पूजा आराधनाको रूपमा लिन सकिन्छ। यो धुनले नारी शक्ति नै दर्साउने हो।” यस लगायत दशैंमा गुन्जिने मालश्री धुनले सकारात्मक सोच र शक्तिको विकास गर्दछ।
मालश्री धुनका विषयमा संस्कृतिविद् रामहरि जोशी भन्नुहुन्छ, “नेपाली जीवनमा सङ्गीतको धरै महत्त्व रहेको पाइन्छ। नेपालीजनको हरेक पर्व र चाडमा फरक फरक बाजा बजाउने चलन छ। सबै बाजाका आआफ्नै धुन र लय छन्।”
दशैंमा गुन्जिजे मालश्री धुनले नारी शक्ति, उब्जनी, सत्यतालाई दर्साउने गरेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार मालश्री धुन राजा महेन्द्र प्रताप मल्लको पालादेखि बजाउन सुरु भएको भन्न सकिन्छ। विशेषगरी यो धुन देवीको आराधनाका लागि बजाउने गरिन्छ। सीता, तान्पुरा, तबला लगायत बाजाको सम्मिश्रणको यस धुनले हर्षोल्लासको सन्देश दिने उहाँको भनाइ छ।
मालश्री धुनले मौसम परिवर्तनको सन्देशसँगै मनको शान्तिको प्रतीकको रुपमा समेत लिन सकिन्छ।
यस्तै, नेवार समुदायमा जात्रा पर्व अनुसार बाजागाजाको पनि छुट्टै महत्त्व रहेको छ। जस्तै, बाँसुरी, धिमे, भुस्या आदि बाजा पनि विभिन्न पर्वमा बजाउनका लागि छुट्याइएको पाइन्छ।
यसरी पुर्खादेखि चलिआएको यो संस्कृति भने केही वर्ष यता हराउँदै गएको संस्कृतिविद् जोशी बताउनुहुन्छ। अहिले मालश्री धुन रेडियो र टेलिभिजनबाहेक वास्तविक रूपमा सुन्न नपाएको उहाँको गुनासो छ।
उहाँ भन्नुहुन्छ, ‘‘मालश्री धुनमा न कुनै शब्द छ न त कुनै बोली नै तर पनि यसले मनमा करुणा र भावात्मक शक्तिको विकास गर्ने गर्छ।’’