• १३ साउन २०८१, आइतबार

बाख्रा पालनबाट महिलाको आयस्तरमा वृद्धि

blog

अमरराज नहर्की 

तनहुँ, असोज १८ गते । तनहुँको भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाको महिलाको बाख्रा पालनबाट आयस्तर परिवर्तन भएको छ । दुई पालिकाबाट यसपालिको दशैंमा खसी र बोका बिक्री गरी झण्डै तीन करोड रुपियाँ महिलाले आम्दानी गर्न सफल भएका छन् ।  

सहकारीमा आबद्ध महिलाहरूले दुई करोड ५० लाख र अन्य कृषकहरूले ५० लाख  गरी सो रकम आम्दानी गरेका हुन् ।  घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध धना थापाले यस पटकको दशैंमा खसी बिक्री गरेर एक लाख ६ हजार रुपियाँ आम्दानी भएको बताउनुभयो ।

दशैंमा चार वटा खसी बिक्री गर्दा राम्रै आम्दानी भएपछि थापालाई चाडपर्व कसरी मनाउने अब चिन्ता छैन । एउटै खसी ५० किलो तौलको बनाइ बजारमा विक्री गरेको उहाँले बताउनुभयो । गत वर्षको दशैंमा पनि थापाले चार वटा खसी बिक्रीबाट एक लाख कमाई गर्नुभएको बताउनुभयो । 

बाख्रा पाल्नुअघि दशैं कसरी मनाउने चिन्ता हुन्थ्यो, अहिले घरखर्च चलाउने समस्या छैन उहाँले भन्नुभयो । खसीबोका विक्री बाट वार्षिक दुई लाख बचत गर्नेगरेको उहाँले बताउनुभयो । 

घिरिङकै भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध कमला आलेले पनि दशैंका बेला एक लाखभन्दा बढीको खसी बिक्री गरेको जानकारी गराउनुभयो ।  

थापा र आलेजस्तै अन्य महिलाले पनि बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।  महिलाले मात्र सञ्चालन गरेका सहकारीमार्फत यस वर्षको दशैंमा दुई करोड ५३ लाख २० हजार ३२७ बराबरको खसीबोका बिक्री भएको उहाँहरूको भनाइ छ । 

घिरिङ गाउँपालिका –२ भोरकोटस्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेले सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई बजारको समस्या नभएको जानकारी दिनुभयो । भिमाद नगरपालिका –२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पुर्‍याएको बताउनुभयो ।