• २१ असार २०८१, शुक्रबार

च्याङ्ग्राको मूल्य आकासिएसँगै स्थानीय खसीबोकाको माग बढ्यो

blog

स्थानीय जातको खसीबोका विक्रीका लागि सहकारीमा आएका कृषकहरु । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, असोज १७ गते । हिमाली च्याङ्ग्राको मूल्य आकासिएसँगै स्थानीय खसीबोकाको माग बढेको छ । हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केका च्याङ्ग्रा दशैंमा उपभोक्ताको रोजाइमा परे पनि मूल्य बढी हुँदा स्थानीय जातका खसीबोका उपभोग गर्नु स्थानीयको बाध्यताझैँ भएको छ । च्याङ्ग्रा खाना नसक्ने अवस्था भयो काठेखोला २ का सागर विकले भन्नुभयो । च्याङ्ग्राको मासु खाने होइन मूल्य सुनेर बस्नु पर्ने भयो । दशैंलाई गाउँकै खसी उपभोग गर्ने तयारी छ उहाँको भनाइ छ। 

च्याङ्ग्राको मूल्य प्रतिकिलो दुई हजारदेखि २५ सय रुपियाँसम्म पुगेको उहाँले बताउनुभयो । स्थानीय जातको खसीबोकाको मूल्य प्रतिकिलो ११ सय रुपियाँसम्म पाइने हुनाले उपभोक्ता खसीबोकाको मासुतिरै आकर्षित भइरहेको उहाँले बताउनुभयो । 

बागलुङको ग्रामीण क्षेत्रमा स्थापना भएका सहकारी संस्थाले दशैंलाई लक्षित गरी स्थानीय जातको खसीबोका खरिद–विक्री सुरु गरेको छ । चाडपर्वमा हुने मासुका खपतलाई पूर्ति गर्न सहकारीले संस्थामा आबद्ध सेयर सदस्यले उत्पादन गरेका खसीबोका एकीकृत गरी बजारीकरण गर्न थालेको हो ।  

पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरूको संस्था सबलीकरण परियोजना अन्तर्गत गठन सहकारीहरूले हरेक वर्ष दशैं र तिहारलाई लक्षित गरी स्थानीय जातको खसीबोका खरिद विक्री गर्दैआएको परियोजनाको बजार सहजकर्ता रितादेवी शर्माले जानकारी दिनुभयो । 

यो वर्ष बागलुङको काठेखोला गाउँपालिका –४ तंग्रामको वसन्त सामाजिक उद्यमी महिला सहकारीले ६०५, वसन्त सामाजिक महिला उद्यमी सहकारीले छ सय, जैमिनी नगरपालिका –३ को रुद्रताल सहकारीले ७२५, भाग्यदय सहकारीले ४७५, पर्वतको फलेवास नगरपालिका –१० को हराभरा सामाजिक महिला उद्यमी सहकारीले ७५०, महाशिला गाउँपालिका –६ को सक्रिय सामाजिक महिला उद्यमी सहकारीले ७१० खसीबोका विक्री गर्ने लक्ष्य लिएको छ । 

‘सेयर सदस्यसँग खसीबोका सङ्कलन गरेर बजार पठाउन थालेका छौँ’ वसन्त सामाजिक महिला उद्यमी सहकारी संस्थाका प्रबन्धक हेमा विकले भन्नुभयो– दशैंको दुई दिनमा ३३५ खसीबोका विक्री गरेका छौँ । सहकारीले नै बजारको खोजी गर्ने हुँदा कृषकलाई बजारीकरणको चिन्ता नभएको उहाँको भनाइ छ । 

कृषकले पालेका खसीबोका सहकारीको माध्यस्तमार्फत विक्री हुन थालेपछि बाख्रापालक कृषक उत्साहित छन् । हामीलाई बजारको चिन्ता छैन’ कृषक तंग्रामकी मनकुमारी पुनले भन्नुभयो । 

हिमाली च्याङ्ग्राको मूल्य आकासिएसँगै स्थानीय उत्पादनको बजार माग बढी रहेको प्रबन्धक विकले बताउनुभयो । उपभोक्ता खरिद गर्न गाउँमै आउँछन् उहाँले भन्नुभयो–  दशैंमा विक्री हुन बाँकी खसीबोका तिहारमा बेच्छौँ ।