• ११ वैशाख २०८१, मङ्गलबार

त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ

blog

पनौती (काभ्रे), असोज १६ गते । एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैँमा रोटेपिङ हालिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैँ आएको भन्दै खुसी साटासाट गरेका छन् ।

यसअघि विक्रम संवत् २०३६ को दशैँमा रोटेपिङ हालेपछि सो कार्य रोकिएको थियो । त्यतिबेला स्थानीय वीरबहादुर खत्रीले रोटेपिङ हाल्ने नेतृत्व गर्नुहुन्थ्यो । उहाँको निधन भएपछि रोटेपिङ हाल्न रोकिएको राजेन्द्र कँुवरले स्मरण गर्नुभयो । 

उहाँका अनुसार हरेक वर्ष रोटेपिङ हाल्ने कुरा गरिन्थ्यो तर व्यवहारमा ल्याउन सकिएको थिएन । उहाँले भन्नुभयो, “अहिले बनेपछि आफ्नो पुस्ताले रोटेपिङ कसरी बन्छ भन्ने कुरा नजिकबाट हेर्न पाएको छ ।”रुख काट्ने, चिरान गर्ने र रोटेपिङ हाल्ने काम पाँच दिनमा पूरा भएको उहाँले बताउनुभयो । त्यतिबेला बुवा, हजुरबुवाले रोटेपिङ बनाएको हेरेर त्यसलाई स्मरण गर्दै रोटेपिङ बनाउन सफल भएको बताउनुभयो । 

स्थानीय साधनकै प्रयोग गरेर बनाइएको रोटेपिङको जनश्रमदानबाहेक २० हजार रुपियाँ खर्च भएको र त्यसको जोहो स्थानीयस्तरबाटै गरेको उहाँले बताउनुभयो । 

स्थानीय सुदीप कुँवरले रोटेपिङ काठबाट बन्छ भन्ने मात्रै भनेको सुनेको तर अहिले पहिलो पटक चढेको बताउनुभयो । उहाँले आफू ३५ वर्षको भएको र मेलापर्वमा मात्रै रोटेपिङ देखेको बताउनुभयो । आफ्नो आँगनम रोटेपिङ हालेपछि यो पटकको दशैँ विगतभन्दा रमाइलो लागेको उहाँले बताउनुभयो । 

एकातिर रोटेपिङ बनेको खुसी अर्कातिर कसरी बनाउने भनेर नजिकबाट जान्ने मौका मिलेकोमा युवा औधी खुसी भएका छन् । “एउटा रोटेपिङ बनाउन धेरै कुरा चाहिने रहेछ,” उहाँले भन्नुभयो, “हामीले रुख काट्नेदेखि लिएर बनाउनेसम्मको धेरै कुरा सिक्ने मौका पायौँ ।”  रोटेपिङमा खामो, पारिका, आग्ला, पाखुरी, पिर्का, माल्टा र चुकुलको संयोजनबाट बन्ने कुरा सिकेको कुँवरले बताउँदै यो कुरा नयाँ पुस्तालाई सिकाउन पाएकोमा खुसी लागेको बताउनुभयो । 

पनौती नगरपालिका वडा नं. १० का वडासदस्य उमेशराज महतले केही नौलो प्रयास गरौँ भनेर रोटेपिङ बनाएको बताउनुभयो । उहाँले रोटेपिङ बनाउन युवाको योजना र ज्येष्ठ नागरिकका सीपले सफल भएको बताउनुभयो ।  उहाँले दशैँमा रोटेपिङ मात्रै नभएर, लिङ्गेपिङसमेत लोप हुने भएपछि ४३ वर्षपछि गाउँमै रोटेपिङ राखिएको बताउनुभयो । अब यो कार्यलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।