• ६ कात्तिक २०८१, मङ्गलबार

म आत्मालोचना गर्दिनँ, उम्मेदवार बनाए चुनाव लड्छु : डा.रावल

blog

धनगढी, असोज १४ गते । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्टघन गरेको संसद् पुनःस्थापनाका लागि आफूहरुले गरेका क्रियाकलापमा कुनै पनि खालको आत्मालोचना नगर्ने बताउनुभएको छ । 

शुक्रबार धनगढीमा गोरखापत्रसँग कुरा गर्दे उहाँले अहिले चुनावका बेला त्यति बेलाका सबै कुरामा समीक्षा गर्ने समय छैन भन्नुभयो । एमाले अध्यक्ष ओलीले आफूलाई हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरेर हस्ताक्षर गर्ने, अदालत जाने १० जनाले उम्मेदवार हुने हो भने आत्मालोचना गर्नुपर्छ भन्ने धारणा राखेको चर्चा भइरहेको बेला नेता रावलले आफूले आत्मालाेचना नगर्ने बताउनुभएको हो । मैले धेरै टेलिभिजनसँगको अन्तर्वार्तामा पनि आत्मालोचना गर्ने कुरै छैन भनेको छु उहाँले दोहोर्याउँदै भन्नुभयो अहिले पनि म त्यही कुरामा अडिग छु । 

अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल नाम सिफारिस भएका डा. रावलले पार्टीले उम्मेदवार बनाए उम्मेदवार हुने बताउनुभयो । अछाममा चुनाव लड्नुहुन्छ त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, म चुनाव लड्न तयार छु यो कुरा धेरै ठाउँमा भनिसकेको छु तर हाम्रा नेताहरुका कुरा सुन्नु भएकै छ, हेर्दै जाउँ के गर्नुहुन्छ । 

नेता रावल आफ्नो एकल नाम सिफारिस भएपछि अछाम पुगेर एक साता लामो बसाइपछि आज काठमाडौं फर्किनुभएको छ । उहाँले अछाममा एमाले कार्यकर्तासँग भेटघाट र छलफल पनि गर्नुभएको थियो । 

नेता रावल लगत निर्वाचनमा समेत अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । ०४८ र ०५६ सालमा सो क्षेत्रमा पराजित रावल ०५१, ०७० र ०७४ को चुनावमा विजयी हुनुभएको थियो । ०६४ सालमा पनि उहाँ संविधान सभाको समानुपातिकतर्फको सभासद हुनुहुन्थ्यो । 

Author

प्रकाशविक्रम शाह