• ८ जेठ २०८१, मङ्गलबार

यु–१७ फुटबल टोली सम्मानित

blog

सम्मानित भएपछि यू–१७ टोलीका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज १३ गते । यु–१७ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गर्नुभएको हो । 

उमेर समूहको साफ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि २० सम्म श्रीलङ्काको कोलम्बोमा भएको थियो। दक्षिण एसियाका ६ टिम सहभागी प्रतियोगिताको फाइनलमा नेपालले भारतसँग हार व्यहोरेको थियो। यही टिम अब भियतनाममा हुने ‘यु–१७ एसियन कप’ छनोटमा सहभागी हुँदैछ।   

प्राइम सेरामिक्सका अग्रवालले श्रीलङ्कामा उच्च प्रदर्शन गरेका नेपाली खेलाडीलाई सम्मान पाउँदा खुसी लागेको बताउनुभयो ।  ‘यो टिमका सबै खेलाडी प्रतिभावान् देखिएका छन्। श्रीलङ्कामा यी खेलाडीले आफ्नो क्षमता प्रमाणित गरे।

उनीहरूलाई समयमै सम्मान गर्न नपाएकोमा दुःख लागेको छ। आसा छ भियतनाममा हुने एसियन कप छनौटमा पनि नेपाली टिमको प्रदर्शन राम्रो हुनेछ। यो समग्र टिमको यात्रामा हामी पनि सँगसँगै छौँ। भियतनामबाट फकिएपछि हाम्रो भेट हुने नै छ,’ अग्रवालले भन्नुभयो । 

अग्रवालले साफ यु–१७ च्याम्पियनसिपमा सहभागी खेलाडी तथा अफिसियललाई जनही पाँच–पाँच हजार रुपियाँबाट सम्मान गर्नुभएको हो । उहाँले भविष्यमा नेपाली युवा टिम मात्र होइन, फुटबल नियामक संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँग सहकार्य गर्न इच्छुक रहेको पनि बताउनुभयो । 

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कोलम्बोमा आफ्नो टिम उपविजेता भएको भए पनि नेपालमा वास्ता नगरिएकोमा दुःखेसो पोख्नुभयो ।  ‘व्यक्तिगत वा निजी क्षेत्रबाट यी कलिला खेलाडीलाई सम्मान हुनु सकारात्मक हो। यसले समग्र टिमलाई हौसला दिनेछ। भियतनाममा हामी आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गर्नेछौँ,’ श्रेष्ठले भन्नुभयो । 

कार्यक्रममा उपस्थित पूर्वखेलाडी राजेश शाहीले सम्मानित युवा खेलाडीलाई सकारात्मक मनोवृत्तिका साथ खेल्न सुझाउनुभयो। ‘यो टिम प्रतिभाशाली भएकोमा शङ्का छैन। तर प्रतिभा भएर मात्र पुग्दैन। सकारात्मक मनोवृत्तिको आवश्यकता पर्छ। आत्मविश्वास चाहिन्छ। जस्तो सुकै बलियो विपक्षी भए पनि नडराई खेल्दा नतिजा आफ्नो पक्षमा आउँछ। यसकारण यी कुरा ध्यानमा राखेर खेल्नुपर्छ,’ शाहीको भनाइ थियो। 

टिमका कप्तान प्रशान्त लक्षमले सम्मानका लागि अग्रवाललाई धन्यवाद दिनुभयो । उहाँले श्रीलङ्कामा बटुलेको अनुभव भियतनाममा काम लाग्ने विश्वास पनि व्यक्त गर्नुभयो । नेपाल एसियन कप छनोटमा समूह ‘एफ’मा परेको छ।

यो समूहका सबै खेल पूर्वी एसियाको भियतनाममा हुँदैछ। समूहमा नेपाल र घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन्। नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईसँग खेल्नेछ ।