• १६ वैशाख २०८१, आइतबार

सिमेन्ट उद्योगका कामदार आन्दोलनमा

blog

पाल्पाको सर्देवास्थित सिजी सिमेन्ट उद्योग प्रालि । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, असोज १३ गते । पाल्पाको रैनादेवी छहरा –२, सर्देवामा निर्माणाधीन सिजी सिमेन्ट उद्योगमा कार्यरत कामदार आन्दोलित भएका छन् । तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै कम्पनीमा काम गर्ने कामदारहरूले कार्यालयमा तालाबन्दी गरेर काम ठप्प पारेका हुन् । 

सिजी कम्पनीको विभिन्न सेक्टरको काम गर्न जिम्मा पाएको आयुके कम्पनीका कामदारले कम्पनीमा तालाबन्दी गरेर काम ठप्प पारेका छन् । दशैँ–तिहारको समयमा पनि कम्पनीले कामदारको श्रमको मूल्य दिन नसकेपछि तालाबन्दी गर्नुपरेको कम्पनीका कामदार हेमन्त नेपालले बताउनुभयो । 

आफूहरूले हालसम्म काम गरेको रकम भुक्तानी नगर्दासम्म तालाबन्दी जारी राख्ने र सबै काममा अवरोध गर्ने नेपालले बताउनुभयो । सिजी सिमेन्टका सहायक महाप्रबन्धक अरुण केसीले कामदारको दुई महिनाको तलब तत्कालै भुक्तानी गरिने बताउनुभयो । कामदारले पाउन बाँकी रहेको तलब तत्काल भुक्तानी गरेर उद्योगको कामलाई सुचारु गरिने उहाँले जानकारी दिनुभयो । 

सिजी सिमेन्टले पाल्पाको सर्देवाबाट दैनिक एक हजार टन सिमेन्ट तथा क्लिङ्कर उत्पादनका लागि तयारी गरिरहेको छ । सिमेन्ट उत्पादनका लागि सर्देवामा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दशैँलतत्तै सिजी सिमेन्टले उत्पादनको काम थाल्ने तयारी गरेको छ ।