• ११ मंसिर २०८१, मङ्गलबार

पार्टी, चुनाव र मिडिया

blog

निर्वाचन आयोगले आचारसंहिता सक्रिय भएको घोषणा गरेसँगै पार्टी र टाठाबाठालाई मात्रै होइन सर्वत्र चुनाव लागिसक्यो। देश सेवाको ‘हुटहुटीले’ सताइएका ‘देशप्रेमीको’ भीड पार्टी कार्यालय, नेतृत्वको घर आँगनमा त देखिन्छ नै सुन्धारा र बसपार्कका होटल, लज खचाखच भरिएका छन्। चुनाव र आकर्षण ह्वात्त बढेको छ। दुवै गठबन्धनले (घोषित वा अघोषित) अझै उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्। टिकट अपेक्षितहरूको चाहना अपूरो हुनेबित्तिकै स्वतन्त्र उम्मेदवारी देलान् भन्ने त्रास सबै पार्टीलाई छ। कुन सिट गठबन्धनका कसलाई पर्छ भन्ने यकिन नभएकाले पनि आकाङ्क्षी ढुक्क छैनन्। प्रथम कोटीका नेतृत्व पङ्क्ति नै समानुपातिक लिस्टमा सामेल भएकाले संविधानको स्पिरिट नै खजमजियो। उम्मेदवारले टिकट किन आफूलाई नै दिनुपर्ने विश्वसनीय तर्क र आधार अगाडि सार्न सकेनन्। 

व्यवस्था सङ्घात्मकता, अभ्यास केन्द्रीकरण 

एउटा पार्टीको मात्रै नभई सबैमा देखिने समस्या भनेको टिकट सुरक्षित गर्न र गराउन ताप्लेजुङ, पाँचथर मात्रै होइन मधेश–तराई र सुदूर क्षेत्रका प्रत्याशी पनि दलबलसहितै राजधानी छिरे। विचार फेर्न सजिलो संस्कार फेर्न गाह्रो। प्रत्याशीका याद नभएका मतदाता सामने भुलेका एजेन्डा, बिर्सेका आदर्श, मूल्य मान्यता, सिद्धान्त, राजनीति अनुमोदित हुनुपर्ने हो तर त्यसको पर्वाह नगरेर चाकरी बजार्दै स्वाभिमान बन्धकी राखेर गुट नेतालाई दबाब दिँदै टिकट हात पार्न जोहो सबै दलमा हुँदैछ। गुटको अस्तित्वमै राजनीतिक जीवन देख्ने नेतृत्वका कारण हित टकराउँदा हरेक ठूला पार्टीमा विग्रह पैदा भएका छन्। त्यसले राजनीति व्यवसाय र कार्यकर्ता राजनीतिक कमैया हुन् कि! सामाजिक सेवा! भन्ने प्रश्न फेरि बहसमा उत्रियो। 

चुनावी रणमैदान 

निर्वाचन आयोगमा दर्ता भएका ६८ दलमध्ये ४८ दलले समानुपातिकको बन्दसूची बुझाए। सबैले राष्ट्रिय पार्टी दाबी गरे। प्रत्यक्ष वा समानुपातिकका आकाङ्क्षी प्रतिस्पर्धामा उत्रिने प्रत्याशी र आकाक्षी सङ्ख्या २० हजार नाघी सक्यो। निर्वाचन परिणाम नआउँदासम्म ती सबै सांसद हुन्। सो हैसियत आकाङ्क्षीले राख्नु पनि अस्वाभाविक होइन। 

प्रत्याशी सामने उठ्ने प्रश्न भनेका उनीहरू किन, केका लागि उम्मेदवार बन्दैछन् ? विजय भएपछि के, कसो गर्ने हो ? केको आधारमा सम्बन्धित दलको प्रत्याशी हो ? सो दलको राजनीतिक, आर्थिक र परिवर्तनप्रतिको प्रतिबद्धता के हो ? विगतका संसद्मा के भूमिका खेले र उनले गर्ने बाँकी काम केके हुन ? कुन नैतिक पुँजीले ऊ फेरी उम्मेदवारीको दाबी गर्दै छ र प्रतिस्पर्धीभन्दा उसैलाई मतदाताले रोज्नुपर्ने कारण के हुन् ? ऊसँग विकास निर्माणको तत्कालीन र दीर्घकालीन के–कस्ता नीति, योजना र कार्यक्रम छन् ? देशको मूल कानुन र धारणा बनाउने केन्द्रीय थलोमा पुग्ने भएकाले उसका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता केके हुन् ? 

देश युवारहित बनिसक्यो, लेबर जन्माउने मुलुक कहलिँदैछ। यसले सामाजिक असन्तुलन पैदा गरिसक्यो। यसलाई फेर्ने मार्ग चित्र के–कस्तो छ ? यस्ता विषय न स्वयं आधिकांश प्रत्याशीलाई हेक्का छ न त सम्बन्धित पार्टीले नै सरोकार राखेको देखिन्छ। 

ठूला दलमा प्रत्याशी मतदातामा विश्वासभन्दा केन्द्रीय नेता, अझ गुटमा भर परेका छन्। जसको विश्वासमा भर परेर निर्वाचित बन्नुपर्ने, गाउँघर टोल बस्तीका मतदातासामु आफ्नो र आस्थाको पार्टीको विश्वास आर्जन गर्नु साटो पार्टी केन्द्रीय कार्यालय, गुट नेताहरूको घरघर चहार्दै छन्। अनुहार देखायो, मौका पाए नेताहरूलाई भेट्यो, मोक्ष सोच्यो, आफ्ना औकात बतायो अनि रोजिन्दा लज होटेलमा फर्कियो। लस्कर पछुवासहित जिल्लाबाट राजधानी छिरेका छोटेनेताको यस्तै दिनचर्या बन्दैछ। 

अन्तर्घात र स्वतन्त्र खेला 

आफैँ हुनुपर्छ म भइनँ भने बरु अर्को होस् तँ भने कदापि हुनु हुँदैन, पार्टीले टिकट नदिए अन्य पार्टीले दिन्छ वा स्वतन्त्र लडेर आफ्नो र तिम्रो औकात देखाइदिन्छु, जित्न नसके पनि जित्न भने किमार्थ दिन्न भन्ने मनोदशा पार्टीभित्रकै अन्तरघाती खेलाडीमा देखिँदैछन्। नत्र भनेको धम्की हरेक पार्टीले सामना गरिरहनुपरेको छ।

यस चुनावमा पार्टीको भावनात्मक एकता कायम गर्दै र कार्यकर्तालाई सक्रिय बनाउन ठूला पार्टीलाई हम्मेहम्मे पर्नेछ। मौलिक सिद्धान्त, आदर्श, सामूहिकता, समग्र जनता र कार्यकर्ताहित एवं राष्ट्रिय एजेन्डा पूरा गर्ने भनिएका अगुवाप्रति विश्वास हराउँदै जानु र आफ्नो प्रतिनिधित्व अरू कसैले गरिदिँदैनन् भन्ने सोच पलाउनु, सपनाको मृत्यु हुँदाका कारण पनि हुन्।

अपराध न्यूनीकरण तथा अनुसन्धानका लागि सम्पूर्ण नागरिकको अहम् भूमिका हुन्छ । तसर्थ सम्पूर्ण नागरिकलाई बिना बर्दीका प्रहरी भनी बर्दीका प्रहरीद्वारा सम्मान व्यक्त गरिएको हो ।

हरेक वस्तुले मूल्यको माग गर्छ भने महìवाकाङ्क्षा हरेक परिवर्तनको आधारभूत पक्ष हो। दायित्व पूरा नगरी भूमिका तृष्णाको मौकामा चौका हान्ने भनेको अनौठो ग्रन्थी रसाउनु हो। आस र त्रासमा कज्याउने नेताहरू आश्वासन दिने वा अन्य मौका दिने भनेर गणेश परिक्रमा गराउँदै ठूला देखिने भइहाले। अहिले ठूला पार्टीमा उम्मेदवार चयन गर्न संसदीय दल वा कार्यदलसमेत मुस्किलमा परिरहेको छ। विगतमा मौकामा भाग्यले दिएको उपहार नदेख्नेहरू अहिले झन् सपना सजाउँदै सक्रिय भएका छन्। यसैको पेरीफेरीमा चुनावी माहौल बनिसक्यो। पार्टी सामने अन्तर्घात जोगाउन सामूहिक सक्रियता बढाउन विचारले पैदा गर्ने भावनाले मात्र सक्छ। के अहिलेका प्रमुख दलहरूसँग एजेन्डाप्रति पूर्ण प्रतिबद्धता, मार्गचित्रसमेत स्पष्टता र त्यसलाई कार्यान्वयन गर्ने नैतिक पुँजी भएका उम्मेदवार मतदातासमक्ष प्रस्तुत गर्ने इच्छाशक्ति छ ? त्यसमा आसन्न चुनावको गरिमा र आकलनले विजय सुनिश्चित हुन्छ र अन्तर्घातबाट पनि बच्न सक्छ।  

साना पार्टीका ठूला सपना 

विगतमा ससाना पार्टीको पनि सरकार बनाउने र गिराउनेमा महìवपूर्ण भूमिका रह्यो। त्यसैले साना पार्टीका ठूला महìवकाङ्क्षा भनेको देशैभरिको समानुपातिक मत हो। साना दलका ठूला नेतामा प्रत्यक्ष चुनाव लड्ने आँट देखिँदैन या गठबन्धन गरेर सुरक्षित हुन चाहन्छन्। अर्कातर्फ आफू प्रत्यक्ष भिडन्तबाट जोगिँदै खुद्रा मत ल्याउने प्रभावशाली उम्मेदवारको खोजीमा भौँतारिरहेका पनि छन्। उनीहरू ठूला दलबाट टिकट नपाउने र महìवाकाङ्क्षी तर स्थानीय पकड भने भएकाको शिला खोजिरहेका छन्। उनैले बढाइदिएको समानुपातिक मतले आफ्नो पद सुरक्षित हुन्छ भनेर पाहुना उम्मेदवार खोज्दै लगानी व्यवसाय बढाइरहेका छन्। उम्मेदवारी लिने र दिने अनि बिक्री गरिदिँदै च्याँखे थाप्नेहरूका बिगबिगी बढ्ने हुँदा चुनावी व्यवसाय अझ फस्टाउने देखिन्छ।

मिडियाको भूमिका 

भारतमा चुनावी रणनीतिकार प्रशान्तकुमार जस्तो व्यवस्थापन गर्ने वा चुनावी कन्सलटेन्सी यहाँ अझै देखिएका छैनन्। त्यसैले मिडिया व्यवस्थापनमा धेरैले ध्यान खिचेको देखिन्छ। धेरैजसो देशमा सामाजिक सञ्जालसमेत व्यवस्थापन र मतदाताको मस्तिष्क र निर्णय अध्ययन गर्ने, त्यसैअनुसार रणनीति र नारा तय गर्न थालिसकियो। अन्यत्र नेतृत्वको मार्केटिङ एजेन्सीहरूले गर्छन्। नेपालमा भने फेसबुकमा विज्ञापन र सरोकार ग्रुपले विपक्षको हुर्मत काढ्ने, चरित्र हत्या गर्ने र आफ्ना प्रचार गर्नेमा मात्रै सीमित देखिन्छ। 

नेता, पार्टी र उम्मेदवार व्यावहारिक क्रियाशीलता र गतिशीलतामा मात्र टिक्छन्। समय अति गतिमा छ। त्यसलाई पक्रेर अघि बढ्न सक्ने नेतृत्वपङ्क्ति भएन भने सोचाइ परिणाममा फेर्न सकिँदैन। समय र समाज आदेशले मात्रै चल्दैन न कि इतिहासका भूमिकाले ।

इजरायली जासुसी एप्स पेगासेसको केही देशमा चुनावमा विपक्षविरुद्ध प्रयोग भए पनि यहाँ आर्टिफिसिएल इन्टिलिजेन्स प्रयोग अझै प्रयोगको गरिएको पुख्ता प्रमाण पाइन्न। विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय जासुसी एजेन्सीले पनि विगतमा गरेका अनुसन्धान परिणाममा पुग्दा सही साबित निस्किएनन्।  

विगतको चुनावभन्दा यस पटक योजनाबद्ध सामाजिक सञ्जाल, अनलाइन पत्रकारिता र पर्चाकारिता भने बढ्दो छ। साइबर सेल सक्रिय हुँदैछ। कोरोनापछि छापा पत्रिकाको ग्रामीण भेगमा नगन्य पहुँच भयो। पठन स्वभाव पनि फेरिए। सूचनाका स्रोतमा हातहातका इन्टरनेट र इनरोयड फोन बन्दैछन्। 

सूचना र विचारका टकराहटले सूचना उपभोक्ता रणभूल्लमा परिरहेका छन्। विज्ञापन बजार एकदम सानो छ तर मिडिया भने बढ्दैछन्। मिडियाको सबभन्दा ठूलो सम्पत्ति भनेकै विश्वसनीयता हो। योजनाबद्ध मिडिया मिसन सुरु भएर ‘स्वतन्त्र’ मिडियामा पनि पक्षधरता क्रमशः बढदो छ। मिडिया खेलमा अंशमा टेकेर समग्रमा आक्रमणलाई नियाले छर्लङ्क देखिन्छ। दोहोर्याइरहनै पर्दैन ‘सूचना, कूसूचना, भ्रमित सूचना र विज्ञापित सूचना आपसमा टकराउँदै’ मतदाता प्रशिक्षण कसरी गर्ने निर्वाचन अयोगको थप चुनौती हो। आचारसंहिता कसरी लागू गर्ने निर्वाचन आयोग र प्रेस काउन्सिलका सामु ठूलै परीक्षा हुनेवाला छ। 

बुद्धि, विवेक र सक्रियता मिडिया, चोक र चिया पसलमा मात्र हैन सामाजिक सञ्जालका सेन्सरबिनाका यत्र,तत्र,सर्वत्र देखा पर्दैछन्। झन्डै एक तिहाइ जनता देश बाहिरिएकाले उनीहरूका औकात, पक्षधरता, मनका अभाव, तनाव, बह, कुण्ठा, प्रलाप र मनोरोग फेसबुक वाल बनेर रङ्गिरहेको छ। प्रत्यक्ष मतदान गर्न नपाए पनि परिवारको आर्जन गर्ने मूल व्यक्ति भएकाले उनीहरूकै धारणा, विश्वास र अठोटले मतदानमा प्रभावित पार्नेछ। सबै पार्टीका सहयोगी र भातृ संस्था हरेक देशमा छन्। तिनीहरूको पनि चुनावमा महत्वपूर्ण भूमिका हुनेछ।

चुनावी मौसममा भारतीय अनुभव पेड न्युज, लेड न्युज र मेड न्युजमा नेपाली संस्करणबाट जोगाउन निर्वाचन आयोग र प्रेस काउन्सिल कति सक्षम होला नियाल्नैपर्ने हुन्छ।