• ७ वैशाख २०८१, शुक्रबार

दशैँ बिदामा पनि मुद्दाको सुनुवाइ

blog

काठमाडौँ, असोज ११ गते । दशैँ बिदाका समयमा पनि सर्वोच्चसहितका अदालतमा बन्दीप्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुने भएको छ। न्यायाधीशबीच आलोपालो रूपमा सुनुवाइ हुनेछ। 

घटस्थापना, शनिबार र विजयादशमीको दिनबाहेक सबै दिन बिदामा पनि बन्दीका रिटमा सुनुवाइ हुनेछ। असोज १० गतेदेखि असोज २३ गतेसम्मको दशैँ बिदामा सर्वोच्च र मातहतका अदालतमा तालिका लागू हुनेछ। 

सो अवधिमा बन्दीप्रत्यक्षीकरणका रिट पनि दर्ता हुनेछन्। रिटको सुनुवाइसम्बन्धी सर्वोच्चको सूचनामा भनिएको छ, “न्याय प्रशासन ऐन–२०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।”

जिल्ला अदालतमा भने बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइसँगै फौजदारी कार्यविधि संहिताको दफा ९ अनुसारका पक्राउ पुर्जी जारी गर्ने र पक्राउ अनुमति दिने काम पनि हुनेछ। पक्राउ अनुमति दिने र पक्राउ गर्नका लागि शनिबार र विजयादशमीको दिनबाहेक जिल्ला तहका अदालतमा सेवा कायम रहनेछ।