• ११ मंसिर २०८१, मङ्गलबार

डेंगु सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, ३२ को मृत्यु

blog

काठमाडौं, असोज १० गते । नेपालमा २५ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भएको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार ९१० जनामा भएको छ । यस्तै, लुम्बिनीमा दुई हजार ८८७, प्रदेश १ मा ७७५, सुदूरपश्चिममा ८०४, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३८० र  कर्णाली प्रदेशमा २३१ जनामा डेंगु पुष्टि भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठमाडौंमा आठ हजार ८९६, ललिपुरमा छ हजार ३५, मकवानपुरमा दुई हजार २७५, दाङमा एक हजार २७८, भक्तपुरमा एक हजार ५८, रुपन्देहीमा ७२५, चितवनमा ६०१, धादिङमा ४४९, गुल्मीमा २९८, कैलालीमा २९८ गरी १० जिल्लामा सबैभन्दा बढी २१ हजार ९१४ जनामा डेंगु पुष्टि भएको छ  ।

ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्ने सक्ने आकलन गरेको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।