• ७ मंसिर २०८१, शुक्रबार

कलाकारको दशैँ योजना

यसपालिको दशैँ भव्यरूपमा मनाइन्छ

blog

काठमाडौं, असोज १० गते ।

वर्षमा दिनैमा लैलै, हर्षका दिन यी लैलै

दशैं तिहार चाड र वाड

खुसीले सारा भर्‍यो नि संसार ।

गायक सुगम पोखरेलको आवाजमा सजिएको यो दशैँ गीत आज पनि ताजा लाग्दछ । गीतले दशैँमा थप नयाँ जोस, उमङ्ग र ऊर्जा थप्ने काम गरेको छ । युवामाझ चर्चित सन् २०१८ मा सार्वजनिक भएको गायक सुगम पोखरेलको गीत आज पनि दशैँ नजिकिँदै गर्दा सुन्दा रमाइलो लाग्छ ।

दशैँको केही दिनअघि शुभकामना आदानप्रदान मात्र नभएर नयाँ कामको थालनी गरेको देखिन्छ । दशैँमा नयाँ लुगा लगाउने, मामाघर जाने टीका र जमरा थाप्ने, हरेकको बालापनको चाहना हो यो ।

त्यसमा पनि सेलिब्रेटीको जीवनमा के हुँदैछ भन्ने सबैको चासो रहन्छ । यसै अवसरमा हामीले कलाकारहरूलाई जिज्ञासा राखेका थियौँ यसपालिको दशैँ कसरी मनाउँदै हुनुहुन्छ भन्ने विषयमा उहाँहरूको जवाफ ।

चाडपर्वको महत्त्व अझै बढेको छ : करिश्मा मानन्धर

सदाबहार नायिका करिश्मा मानन्धरलाई दशैँ हरेक वर्ष रमाइलो लाग्छ । उहाँ भन्नुहुन्छ, “हामी नेपालीको सबै चाड राम्रो छ । दशैँको बेला घरमै बस्न मनपर्छ, घरको ठुलाबडाबाट टीका थापेर मनाउने हो ।”

“दशैँ नेपालीहरूको महान् चाड, त्यसमा पनि हिन्दु संस्कारमा पूजाआजा व्रत बस्ने चलन मलाई एकदमै मनपर्छ । त्यसबाहेक दशैंले धेरै समय भेट नभएका नाता सम्बन्ध, छुटेका दाजुभाइ साथीभाइ भेट गराउने बहाना बनाइदिन्छ”, उहाँले भन्नुभयो ।

नायिका मानन्धर आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, “पहिले पहिले त वर्षभरि दुःख गर्ने र दशैँको समयमा मिठो खाने र नयाँ कपडा लगाउने चलन थियो । तर अचेल सबै नेपालीलगायत घरका सदस्य छरेर बसेका छौँ । कामको सिलसिलामा हामी व्यस्त रहन्छौँ । जसकारण चाड पर्वको महत्त्व अझै बढेको जस्तो लाग्छ । दशैँमा घर जाने र आमाबुबा भेट्ने र साथीभाइ भेट्ने सबै काम छोडेर रमाइलो गर्ने चाडको रूपमा पनि लिने गरिन्छ ।”

मामाघर जाने र रमाइलो गर्ने :  दीपाश्री निरौला

कलाकार तथा निर्माता दीपाश्री निरौला दशैँ मनाउनका लागि आफ्नो जन्मस्थान विराटनगर जाने तयारीमा हुनुहुन्छ । यसपालि दशैँ पनि पहिले जस्तै मामाघर जाने टीका लगाइ रमाइलो गर्ने उहाँले बताउनुभयो ।

“जिम्मेवारी काँधमा भएको दशैँ र बालापनको दशैंमा फरक हुँदो रहेछ । जे भए पनि रमाइलो गरेर मनाउने हो । वर्षदिनभरि नर्वदुर्गाको प्रसाद र बुबाको हातबाट टीका र जमरा आशीर्वाद थापेपछि वर्षभरि मलाई ऊर्जा थप भएको महसुस हुन्छ ।” उहाँ भन्नुहुन्छ, “बालापनमा दशैँ भन्ने बित्तिकै पैसा कमाउने उद्देश्य हुन्थ्यो तर अहिलेको दशैँ आफन्त भेट्ने, आशीर्वाद लिनमै बित्ने गर्छ ।”

“गत वर्ष कोरोनाका कारण दशैँ मनाउन पाइएन तर यसपालिको दशैँ भव्य हुन्छजस्तो लाग्छ, धेरै वर्षदेखि नेपालीले मन खोलेर दशैँ मनाउन पाएका छैनन् तर यसपालि भने दशैँ भव्य रूपमा मनाउँछन्,” उहाँले भन्नुभयो ।

उहाँलाई दशैँको माहौल एकदमै मनपर्छ । दशैँलाई हरेक वर्षजस्तै विशेष बनाउने उहाँको योजना छ ।

हुस्सु मलाई निकै मनपर्छ : पल्पसा डंगोल

हालै मिर्गौला प्रत्यारोपण गर्नुभएका कलाकार पल्पसा डङ्गोललाई यसपालिको दशैं पहिले जस्तो यताउता गएर मनाउन सम्भव नहुने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बिरामी भएको कारण खासै केही खान नि हुन्न । त्यसैले आफन्तकोमा नजाने र माइतीमात्र पुग्ने निधो गरेको छु । गतवर्ष पनि कोरोना कहरले दशैंको रौनक भएन । यो वर्ष गइन्छ तर आशीर्वाद लिन नजिकका आफन्तकोमा मात्रै जान्छ ।”

कलाकार डङ्गोललाई दशैँ बच्चा हुँदा अझै रमाइलो लाग्थ्यो । ठूलो भएपछि दशैँको रमाइलो पनि बिस्तारै परिवर्तन हुँदै गएको उहाँको अनुभव छ ।

“दशैँ सुरु हुँदै गर्दा बिहानीको समयमा जुन चिसो हावासँगै हुस्सु लाग्छ, त्यो मलाई निकै मनपर्छ । यसले नै दशैँ सुरु भएको महसुस हुन्छ”, उहाँले भन्नुभयो । 

उहाँलाई यस महान् चाडमा आफूभन्दा ठूलाको हातबाट टका थापेर आशीर्वाद लिनु सबैभन्दा राम्रो पक्ष लाग्छ ।

दक्षिणा आफ्नो घाँटी हेरेर देऊ : किरण केसी

हास्य कलाकार किरण केसीलाई दशैँमा नयाँ लुगा लगाएर टीका लगाउने चलन खुब मनपर्छ । स्वास्थ्यको हिसाबले खासै केही खान नमिले पनि दशैँमा आफ्नो मनले चाहेको खानेकुरा खाने उहाँले हामीलाई सुनाउनुभयो ।

“दशैँ नेपालीहरूको निजी चाड हो । हिन्दु धर्म मान्ने धेरैले दशैँ मनाएको हुन्छ तर नेपालीहरूको भने दशैँ अझै रमाइलो र फरक हुन्छ”, उहाँले भन्नुभयो ।

कलाकार केसी अभिनीत यसपालि दशैँ गीत अरबौँको आशीर्वाद देऊ तर दक्षिणा आफ्नो घाँटी हेरेर देऊ भन्ने गीत पनि सार्वजनिक भएको छ ।

“अचेल समाजमा दशैँको नाउमा धेरै पैसा खर्च गर्ने र देखावटी रमाइलो गरेको पाइन्छ । हुनेखानेका लागि मात्रै दशैं बनेको जस्तो भएको छ । यो व्यवहारलाई जरैदेखि परिवर्तन गर्न जरुरी छ”, उहाँले भन्नुभयो । 

म तामझाम गर्दिनँ : गौरी मल्ल

दशैँका लागि सबै काम सकाउने र आरामल मनाउने चाड जस्तो लाग्छ दशैँ मलाई । नायिका मल्ललाई बालापनको दशैँभन्दा आफू बुझ्ने भइसकेपछिको दशैँमा धेरै परक लाग्छ ।

उहाँ भन्नुहुन्छ, “सानोमा जे कुरामा पनि आमाबुबामा निर्भर भइन्थ्यो तर अहिले सबै आफैँ गर्नुपर्छ, दशैँभन्दा पनि दशैंलाई म्यानेज कसरी गर्ने भन्ने कुरामा केन्द्रित भइन्छ र आफ्नो इच्छा पहिले परिवारको इच्छा पूरा गर्नतिर लागिन्छ ।”

“दशैँ हाम्रो पारम्परिक चाड हो, म तामझाम गर्दिनँ, म शाकाहारी भएको कारण दशैँमा मासु खाने भन्ने पनि हुँदैन । अरूको घरको जस्तो माहौल मेरो घरमा हुँदैन । टीका जमराको महत्त्व छुट्टै छ । हाम्रो हिन्दु संस्कृतिमा त्यही अनुसार परिवारसँग बसेर दशैं मनाउँछु ।” उहाँले भन्नुभयो ।