काठमाडौं, असोज १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औँ त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको मड्रियल सहरमा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् ।
सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउनुहुनेछ । साथै उहाँले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धिबारे पनि महासभालाई जानकारी गराउनुहुनेछ ।
महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । महासभा अक्टोबर ७ सम्म चल्नेछ ।