• १४ वैशाख २०८१, शुक्रबार

समकक्षता निर्धारणमा नयाँ व्यवस्था

blog

काठमाडौँ, असोज ८ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम ग्रेड नपुगी विदेशी शिक्षण संस्थामा अध्ययन गरेकाको पनि शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण हुने भएको छ। त्यसरी समकक्षता निर्धारण गरिदिन राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले निर्णय गरेको छ। परिषद्को अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ।

एसईईमा अङ्ग्रेजी, विज्ञान र गणितमा न्यूनतम सी प्लस ग्रेड ल्याउन नसक्दा कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गर्न नपाउने व्यवस्था थियो। कतिपय चलाख विद्यार्थी नेपालमा भर्ना हुन नसक्दा विशेषगरी भारत जाने गरेका थिए। उनीहरू भारत गई कक्षा ११ मा विज्ञान वा प्राविधिक विषय लिएर अध्ययन पूरा गरी स्वदेश फर्किने गरेका थिए। 

उनीहरूले विदेशी शिक्षण संस्थामा कक्षा १२ मा राम्रो अङ्क प्राप्त गरी उत्तीर्ण भए पनि एसईईमा न्यूनतम ग्रेड नल्याएको कारण जनाउँदै समकक्षता निर्धारण गरिँदैन थियो। यसले गर्दा त्यस्ता विद्यार्थीलाई स्वदेशमा उच्च शिक्षा अध्ययन गर्न ढोका बन्द हुनुका साथै उच्च शिक्षा अध्ययन गर्न विदेश जानुपरेमा नोअब्जेक्सन लेटर उपलब्ध गराइँदैन थियो।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले एसईईमा न्यूनतमभन्दा कम ग्रेड ल्याई भारतमा अध्ययन गरी फर्किएका सयौँ विद्यार्थी पीडित रहेको देखेपछि उच्च शिक्षा अध्ययनका लागि बाटो खुलाइदिने निर्णय गरिएको जानकारी दिनुभयो। 

“अब एसईईमा न्यूनतम १.६ जीपीए प्राप्त गरी विदेशी बोर्डबाट कक्षा १२ वा सोसरहको अध्ययन पूरा गरेर स्वदेश फर्किएकाहरूको शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण गरिदिने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो, “यसबाट त्यस्ता पीडित विद्यार्थीका लागि निकै राहत पुग्नेछ। अब उनीहरूले उच्च शिक्षा अध्ययन गर्न पाउनेछन्।” 

उहाँले विदेशी शिक्षण संस्थाबाट न्यूनतम १.६ जीपीए प्राप्त गरेकाको प्रमाणपत्रलाई समकक्षता निर्धारण गरिदिने निर्णय पनि भएको जानकारी दिनुभयो।

यसैगरी एसईईमा न्यूनतम १.६ प्राप्त गरेकाहरूले कक्षा ११ मा जुनसुकै विषय अध्ययन गर्न पाउने भएका छन्। यसअघि विज्ञान विषय अध्ययन गर्न अङ्ग्रेजी, विज्ञान र गणित विषयमा न्यूनतम सी प्लस ग्रेड आवश्यक पर्ने गरेकोमा अब सो आवश्यक नपर्ने भएको छ।

केन्द्रका महानिर्देशक अर्यालले २०७८ सालको एसईईका विद्यार्थीले पनि नयाँ व्यवस्थाअनुसार विज्ञान विषय लिई भर्ना हुन सक्ने बताउनुभयो।