चाँदनी आचार्य
घोडाघोडी (कैलाली), असार १ गते । कैलालीका एकजना कृषकले गर्मी मौसमा पनि लटरम्म सुन्तला फलाउनुभएको छ । जिल्लाको घोडाघोडी नगरपालिका –१ सुखडका सुनिलराज सापकोटाले घरको आँगनमा सुन्तला फलाउनुभएको हो ।
घरको आँगनको डिलमा लगाएको सुन्तला फलेको देखेर बाटोमा हिंड्ने मानिससमेत तराईमा सुन्तला फलेको पहिलोचोटी देखेको प्रतिक्रिया दिने गरेका छन् । चार वर्ष पहिला धनगढीको एक नर्सरीबाट सुन्तलाको बोट किनेर लगाएको सापकोटाले बताउनुभयो । लगाएको तेस्रो वर्षबाट फल्न सुरु भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “गतवर्षबाट फल्न सुरु गरेको हो । गतवर्ष ३० दाना लागेको थियो । अहिले त बाक्लै फलेको छ ।” ग्रामीण विकास विषयका प्राध्यापकसमेत रहेका सापकोटाले नागपुरी जातको सुन्तला तराईको हावापानीमा पनि फल्ने अध्ययनले देखाएपछि आफूले विचार गर्न थोरै बोट लगाएको बताउनुभयो ।
उहाँले दाना पनि ठुलो र खाँदा पनि स्वादिलो भएकाले भविष्यमा व्यावसायिक खेती गर्ने योजना सुनाउनुभयो । अहिले सापकोटाले दश कट्ठा घरनजिकैको जमिनमा व्यावसायिक फलफूल खेती गर्नुभएको छ । उहाँले आँप, अम्बा, कागती, लिची, स्याउ, सिउँडी फललगायतका फलफूलका बिरुवा लगाउनुभएको छ ।
कृषक सापकोटाले अध्यापनको समयबाहेक खाली समयलाई कृषिकर्ममा बिताउने गरेको बताउनुभयो । उहाँले दुई वर्ष पहिले व्यवसायिक च्याउ खेती गर्नुभएको थियो । सापकोटाले भन्नुभयो, “कन्य र गोब्रे च्याउ खेती गरेको थिएँ । उत्पादन राम्रो पनि भयो । तर बजारीकरणको समस्याले उत्पादनमा उत्साह भएन ।त्यसलाई पनि निरन्तरता दिने सोचमा छु ।”