अमरराज नहर्की
तनहुँ, असार १ गते । तनहुँको भानु नगरपालिकाले २० जना कृषकलाई सम्मान गरेको छ । नगद तथा प्रमाणपत्रसहित ‘नगर प्रमुख उत्कृष्ट किसान सम्मान’ बाट सम्मान गरिएको हो ।
पशुपालनतर्फ गाईभैँसी, बाख्रा, माछा, बङ्गुर, कुखुरा गरी पाँच विधामा सर्वोकृष्ट र उत्कृष्ट कृषकको छनोट गरिएको थियो । सर्वोत्कृष्ट कृषकहरूलाई १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिँदा उत्कृष्ट कृषकले ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
सम्मानित हुनेहरूमा बङ्गुर पालनतर्फ सर्वोकृष्ट शारदा शाही र उत्कृष्टमा लोकबहादुर बसेल, माछापालनमा सर्वोत्कृष्ट श्यामकुमार श्रेष्ठ र उत्कृष्ट पुष्पराज भट्टराई, बाख्रा पालनमा सर्वोत्कृष्टमा चिरञ्जि लौडारी, उत्कृष्टमा रामशरण गुरुङ, कुखुरापालनमा सर्वोकृष्ट चिजा गुरुङ र उत्कष्ट प्रमिला थापा, तरकारीमा सवोृत्कृष्ट छेनुर्पु तामाङ र शारदा श्रेष्ठ सम्मानित हुनु भएको छ ।
यसैगरी खाद्यान्नमा सर्वोत्कृष्ट रमा ओझा र उत्कृष्टमा विष्णुबहादुर थापा, मसलावालीतर्फ सर्वोत्कृष्टमा कमला पाण्डे हुनु भएको छ । मौरी पालनमा सर्वोत्कष्ट प्रेमबहादुर अधिकारी र उत्कृष्ट भिमसेन अधिकारी, गाईभैँसी पालनमा सर्वोत्कृष्ट महादेव अधिकारी र उत्कृष्ट दीपक बजगाई र फलफूलतर्फ सर्वोत्कृष्ट पूर्णबहादुर आले र उत्कृष्ट गोविन्द घर्ती हुनुहुन्छ ।
पुरस्कृत किसानलाई भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी सयुक्त रूपमा नगद, प्रमाणपत्र र दोसल्ला ओढाई शनिबार सम्मान गर्नुभयो । कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठीले नेपाल कृषि प्रधान मुलुक भए पनि स्वदेशी उत्पादनले दैनिक आवश्यकता धान्न नसकेकोले किसानलाई उत्प्रेरणा दिई स्वदेशलाई आत्मनिर्भर बन्न टेवा पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको बताउनुभयो ।
उपप्रमुख उमा गोतामेले कृषक देशको मेरुदण्ड भएकाले उनीहरूको सम्मान गर्नु कर्तव्य भएको बताउनुभयो । किसान छेनुर्पु तामाङले सम्मान पाउँदा उत्साह जागेको बताउनुभयो । किसान आफ्नो पेसाप्रति गर्व गर्नका लागि यस्ता सम्मानले मद्धत पुग्ने उहाँको भनाइ छ । भानु नगरपालिकाभित्र रहेका व्यवसायिक रूपमा खेती तथा पशुपालक गरिरहेका कृषकहरूलाई हौंसला प्रदान गरी पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यले सम्मान गरिएको कृषि प्राविधिक तिलक कट्टेलले बताउनुभयो ।