विष्णुप्रसाद पोखरेल
दमक, असोज ७ गते । झापाको सरकारी दमक अस्पतालमा बिरामीले सरकारले निःशुल्क प्रदान गर्ने गरेको र बीमाबाट पाइने तोकिएको औषधि पाउन छाडेको गुनासो गरेका छन्। दमक नगरपालिकासहित झापाको कमल गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिकालगायत आसपासका क्षेत्रका बीमाका बिरामीहरूका लागि पहिलो बिन्दु अस्पतालका रूपमा दमक अस्पताल रहेको छ।
बिहान ६ बजेदेखि लाम लाग्दा बेलुका बल्ल चिकित्सकलाई रोगबारे बताउन पाएको र एक घण्टा फार्मेसीमा औषधि लाइन लिन बस्दा औषधि छैन भनेर रित्तै फर्काएको बिरामीहरूले गुनासो गरेका छन्। दमककी स्वास्थ्य बीमा दर्ता सहयोगी टीका खतिवडाका अनुसार बीमा गरेका बिरामीले रिसाएर बीमा कार्ड च्यात्न थालेका छन्।
सामान्य ग्यास्ट्रिकको औषधिसमेत अस्पतालले नदिएको भन्दै बिमितहरूले आफूहरूसँग झगडा गर्ने गरेको उहाँले बताउनुभयो। यस क्षेत्रमा पहिलो बिन्दु अस्पतालका रूपमा एउटा मात्र दमक अस्पताललाई तोकिएको छ। यहाँ औषधि नपाएपछि बीमाको नवीकरण गर्नेहरूको सङ्ख्यामा पनि कमी आएको उहाँले बताउनुभयो।
दमक अस्पतालसँग औषधि किन्ने पैसा भए पनि आन्तरिक किचलोको कारण अहिलेसम्म औषधि खरिदमा समस्या भएको बताइन्छ। निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको चार महिना बित्दा पनि नगरपालिकाले अस्पताल विकास समिति बनाउन सकेको छैन। कार्यपालिका सदस्यहरूमध्येबाट अस्पताल विकास समितिको अध्यक्ष बनाउने कार्यविधि नगरपालिकाले बनाएको थियो।
दमक नगरपालिकाले अस्पताल हेर्नका लागि अस्पतालमा नै एक अधिकृत जीवराज भट्टराईलाई अस्पतालमा खटाएको छ। भट्टराईका अनुसार )“विभिन्न कानुनी अड्चन र प्रक्रियागत कामका कारण औषधि खरिदमा समस्या तथा ढिलासुस्ती भएको हो। औषधि नपाएको गुनासो सही हो र चाँडो औषधि व्यवस्थापनमा लागिरहेका छौँ,” उहाँले भन्नुभयो।
अस्पतालकी सूचना अधिकारी देवी दङ्गालका अनुसार अस्पतालमा दैनिक रूपमा उपचारका लागि आठ सयदेखि एक हजारसम्म बिरामी आउने गरेका छन्। बिरामीहरूको व्यवस्थापनलगायत बिरामीलाई बीमाबाट र निःशुल्क प्रदान गरिनु पर्ने कतिपय औषधि सकिएकाले गुनासो आएको उहाँले स्वीकार गर्नुभयो।