• १२ असोज २०८१, शनिबार

लुम्बिनी पुग्यो नवौंको ट्रफी

blog

काठमाडौं, असोज ३ गते । नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी लुम्बिनी पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ट्रफी टुर कार्यक्रम अन्तर्गत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा सोमबार ट्रफी प्रदर्शन गरिएको छ ।

राखेपले राष्ट्रिय खेलकुदमा सहभागी सात प्रदेशको मुख्य शहर र तीन विभागमा ट्रफी टुर गराएको हो । असोज १ देखि सुरु भएको ट्रफी टुर कार्यक्रम अन्तिममा नवौं राष्ट्रिय खेलकुद आयोजना स्थल गल्डकी प्रदेशको पोखरामा पुगेर सकिनेछ ।  

लुम्बिनीमा ट्रफीको सोही प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले प्रदर्शन गर्नुभयो । उक्त कार्यक्रममा लुम्बिनीका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खान, वन तथा वातावरण मन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाल, सदस्य सचिव जयप्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र प्रदेश सभा सदस्य भुवनेश्वर थारुलगायतको उपस्थिति थियो ।

ओलम्पियन दीपक विष्टको नेतृत्वमा रहेको ट्रफी टुर कार्यदलमा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, महिला भलिबल टिमकी कप्तान अरुणा शाही, क्रिकेटका पूर्व कप्तान पारस खड्का र अल्ट्रा धाविका मीरा राई हुनुहुन्छ । पाँच खेलाडीले ट्रफी टुर गराई रहनुभएको छ ।