• २१ असार २०८१, शुक्रबार

बाँझो जग्गामा व्यावसायिक जुनेलो खेती

blog

झब्रीबारीमा रोपिएका जुनेलो । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, असोज ३ गते । बागलुङको जैमिनी नगरपालिकामा रहको कुश्मीसेरा फलाँटे कृषि सहकारी संस्थाले बाँझो जमिनको उपयोग गर्ने अभियान थालेको छ । सहकारीले कुश्मीसेराको झब्रीखेतमा पन्ध्र रोपनी बाँझो जमिनमा व्यावसायिक जुनेलो खेती गरेको छ । 

जनशक्ति अभावमा बाँझो बनेको उत्पादनशील जमिन सहकारीले भाडामा लिएर जग्गामा जुनेलो रोपेपछि झाडीले भरिएको जग्गा हरियाली बनेको सहकारीका अध्यक्ष मोतीप्रसाद शर्माले बताउनुभयो । 

रैथाने बालीको संरक्षण गर्दै सहकारी सदस्यको आयस्तर वृद्धि गर्न जग्गा भाडामा लिएर खेती गरिएको उहाँको भनाइ छ । गत जेठ महिनामा लगाइएको जुनेलोले यसै वर्ष उत्पादन दिने उहाँले बताउनुभयो । ‘यो वर्ष पाँच क्विन्टल जुनेलो फलाउने लक्ष्य छ’ अध्यक्ष शर्माले भन्नुभयो, ‘बर्सेनि उत्पादन लिन सक्ने भएको हुँदा जुनेलो खेती रोजेको हो ।’ 

जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशील छन् । बीउ लगाउने, गोडमेल गर्ने र सिँचाई गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको अध्यक्ष शर्माले बताउनुभयो ।

सहकारीले एक लाख रुपियाँ खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको छ । दश किलो बीउ चार सय ५० रुपियाँ प्रतिकिलोका दरले खरिद गरेर लगाइएको शर्माले बताउनुभयो । केही वर्षअघिसम्म अस्मिता कृषक समूहमा आबद्ध भएर मुला तथा केराउको मूल बीउको व्यावसायिक उत्पादन गरेका कृषकहरू सहकारीमा आबद्ध रहेकाले उहाँहरूलाई बीउ उत्पादनको अनुभव र बजारको जानकारी रहेको शर्माको भनाइ छ । 

जुनेलो रोपिएको करिब ६० दिनमै उत्पादन दिने र सिँचाइको सुविधा कम भएको तथा चिस्यान कम हुने माटोमा समेत उत्पादन हुने गर्छ । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीको रूपमा रहेको जुनेलो लगभग लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले संरक्षण थालेको हो ।

धार्मिक कार्य, पूजाआजा, अनुष्ठानमा प्रसादका साथै भोजनका लागि समेत प्रयोग गरिने जुनेलो औषधी बनाउन प्रयोग गरिन्छ । जुनेलोको सेवनबाट पित्त, मूत्र तथा पेट सफा हुनुका साथै स्फूर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ । माग बढ्न थालेपछि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा रहेका कृषकहरू जुनेलो खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।