• २१ असार २०८१, शुक्रबार

खुमल –४ धानमा बाला लागेन, रैथाने बासमती लोप हुँदै

blog

बैतडीको पाटनमा रोपिएको खुमल–४ जातको धानमा रोग लागेर सुकेका बाला । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, भदौ ३१ गते । उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल –४, जातको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । दशकअघि यहाँका स्थानीय किसानले लगाउँदै आएको रैथाने रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा पछुतो मानेका छन् । 

विगत दुई दशकदेखि कृषि कार्यालयले भित्र्याएको उन्नत जातको खुमल–४, धानमा रोग लागेर बाला झरिरहेको पाटन नगरपालिका –६, का स्थानीय दिनेश बिष्टले बताउनुभयो । १० पाथी बीउ लाग्ने खेतमा खुमल –४, रोप्नु भएका बिष्टले धानको बाला सुकेर झर्न थालेको गुनासो गर्नुभयो । धान भित्र्याउने समयमा राम्ररी पुष्ट नभएको बाला पहेँलो भएर झर्न थालेको उहाँको गुनासो छ ।

धान र गहुँ उत्पादनका लागि पकेट क्षेत्र मानिएको बैतडीको पाटनमा गतवर्ष गहुँमा पनि रोग लागेको स्थानीय किसान राजेश पन्तले बताउनुभयो । धान र गहुँमा रोग लागे पनि स्थानीय सरकारले रोग निदान गर्न कृषि विज्ञ बोलाउन नसकेको पन्तले बताउनुभयो । 

गत वर्ष गहुँमा रोग लाग्यो । यो वर्ष धान भित्र्याउने बेलामा बाला नै झर्ने समस्या देखियो ।

उहाँले भन्नुभयो, “गतवर्ष गहुँमा रोग लाग्यो । यो वर्ष धान भित्र्याउने बेलामा बाला नै झर्ने समस्या देखियो ।” आयातित बीउले दुई–चार वर्ष राम्रो उत्पादन दिए पनि अहिले किसानलाई धोका भएको उहाँको बुझाइ छ ।  

बैतडी पाटनका किसानलाई २०४५ सालमा खेती प्रणाली नामको प्रोजेक्टले खुमल–४, जातको धानको बीउ भित्र्याएको पन्तले स्मरण गर्दै भन्नुभयो, “सुरु सुरुमा त एक किलो बराबर करिब ६० किलो उत्पादन भयो । पछि बिस्तारै उत्पादन घट्दै जान थाल्यो । खुमल–४, मा अहिले त बाला लाग्नेबित्तिकै पहेँलो भएर बोट सुक्ने समस्या सिर्जना भएको छ । रैथाने धानको बीउ लोप भएकोमा अहिले पछुतो लागिरहेको छ ।”

उत्पादन बढ्ने भन्दै भित्र्याएको खुमल–४, को धानमा देखिएको समस्याबारेमा पाटन नगरपालिकाका कृषि प्राविधिक महेश अवस्थीले धेरै लामो समयसम्म एउटै धानको बीउ लगाइरहँदा धानको जातीय गुण ह्रास भएका कारण समस्या देखिएको बताउनुभयो । 


उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षदेखि पाटनमा बीउ परिवर्तन गरेर धान र गहुँ खेतीका लागि नयाँ कार्यक्रम आएको छ । बीउको उपचार गर्ने र बीउ परिवर्तन नगरी खेती किसानी गर्ने किसानले यस्तो समस्या भोग्नुभएको छ । आउँदो वर्ष यी समस्या आउन नदिन बीउ परिवर्तन गरेर उन्नत जातको धान खेती र रैथाने बीउ प्रवर्धन कार्यक्रम स्वीकृत भएर आएकाले अर्को वर्ष यस्तो समस्या दोहोरिने छैन ।” 

तरकारी खेतीका लागि टोल छनाेट 

धान र गहुँ खेती मात्र हुँदै आइरहेको बैतडीको पाटनमा तरकारी खेती प्रवर्धनका लागि नगरपालिका र कृषि क्षेत्रमा काम गर्ने संस्थाको अगुवाइमा छ वटा टोल छनाेट भएका  छन् ।

खुमल–४, मा अहिले त बाला लाग्नेबित्तिकै पहेँलो भएर बोट सुक्ने समस्या सिर्जना भएको छ ।

मङ्गलबार पाटन नगरपालिकाले कृषि क्षेत्रमा काम गर्दै आइरहेका गैर सरकारी संस्था रुडेस बैतडीसँग अन्तरक्रिया गरेर धान काटिसकेपछि गहुँ छर्नुअघि दुई महिना खाली रहेको खेतमा नमुना तरकारी खेत गर्ने विषयमा छलफल भएको पाटन नगरपलिकाका उपप्रमुख कमल बोहराले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा काम गर्दै आइरहेको रुडेस बैतडीका पदाधिकारी र कृषि प्राविधिकलाई नगरपालिकामा बोलाएर खेतबारीको अवलोकन गरिएको छ । धान काटिसकेपछि खाली रहने दुई महिनाको अवधिमा तरकारी खेती गर्ने तयारी भइरहेको छ । 

पाटन नगरपालिकासँगको समन्वयमा तरकारी खेतीका लागि भकुडा, टुणीगैर, नगाडीवडा, सुकेली, मैतडा र लोर्खा टोल छनाेट गरिएको कृषि क्षेत्रमा काम गर्ने रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पाटन नगरपालिका, अक्सफाम नेपाल र रुडेस बैतडीको अगुवाइमा ग्रीन कार्यक्रममार्फत रायो, बन्दा, मुला लगायतका तरकारी खेती लगाउने तयारी भइरहेको  छ । धान काटिसकेपछि गहुँ छर्नुअघि दुई महिना खाली रहने जग्गालाई सदुपयोग गरिनेछ ।”


कार्यक्रमले भारतमा काम गर्ने आप्रवासी नेपाली मजदुरको घरपरिवारलाई प्राथमिकता दिएर निःशुल्क तकारीको बीउबीजन, पोलिहाउस र प्रविधि सिकाउने तयारी भइरहेको रुडेस बैतडीका कृषि प्राविधिक ललिता जोशीले बताउनुभयो । 

अनुसार तरकारी खेतीबाट थोरै जग्गामा पनि धेरै आम्दानी गर्न सकिने वातावरण सिर्जना गरेर विदेश जाने युवालाई स्वदेशमै कृषि गर्न जागरुक बनाउने लक्ष्य रहेको ग्रीन कार्यक्रमका गोपाल भाटले जानकारी दिनुभयो ।