• १५ वैशाख २०८१, शनिबार

पाथीभरा क्षेत्रमा सरसफाइ र वृक्षरोपण

blog

पाथीभराको माथिल्लो क्षेत्रमा सङ्कलित फोहोर काफ्ले पाटीसम्म झार्दै नेपाली सेना । तस्बिर: गोरखापत्र

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा सरसफाइ र वृक्षरोपण गरिएको छ । आउँदो असोज दोस्रो साता आयोजना गर्न लागिएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ लाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाइ र वृक्षरोपण गर्न थालिएको हो । 

पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर संरक्षण तथा संवर्धन समितिको समन्वयमा नेपाली सेनाको ताप्लेजुङस्थित भीम काली गुल्मले बुधवारदेखि उक्त कार्य सुरु गरेको हो । पाथीभरा क्षेत्रको काफ्ले पाटीदेखि पाथीभरा धामसम्म सरसफाइ सञ्चालन गर्ने र ठाउँ ठाउँमा वृक्षरोपण गर्ने गरी अभियान सुरु गरिएको भीम काली गुल्मका गुल्म पति अदित श्रेष्ठले जानकारी दिनुभयो । 

गुल्मपति श्रेष्ठका अनुसार सरसफाइ र वृक्षरोपण अभियान शुक्रबारसम्म सञ्चालन हुने छ । पहिलो दिन बुधवार माथिल्लो फेदी बजारदेखि धामसम्मको क्षेत्रमा करिब चार सय बोरा फोहोरजन्य वस्तु सङ्कलन गरेको नेपाली सेनाले जनाएको छ । सङ्कलित फोहोरजन्य वस्तुमध्ये तत्काल बोक्न मिल्ने फोहोर मैला काफ्ले पाटीसम्म झारिएको गुल्म पति श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हिलो भएको, धेरै भिजेको र बोकेर तलसम्म ल्याउन नसकिने प्रकृतिको फोहोरलाई पछि व्यवस्थापन गर्ने गरी निश्चित ठाउँमा राखिएको छ । 

यता काफ्ले पाटीसम्म बोकेर झारिएको फोहोरजन्य वस्तुलाई फुङ्लिङ नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रसम्म पु¥याएर विसर्जन गर्ने योजना रहेको बताइएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले काफ्ले पाटीसम्म आइपुगेको फोहोरलाई व्यवस्थापन गर्नेबारे फुङ्लिङ नगरपालिकासँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

पाथीभरा क्षेत्रमा सुरु गरिएको सफाइ अभियान, फोहोर ढुवानी र वृक्षरोपणसहित कार्यको स्थलगत समन्वयका लागि भीम काली गुल्मले उप–सेनानी निरञ्जन चौहानको नेतृत्वमा टोली परिचालित गरेको गुल्मले जनाएको छ । सरसफाइ अभियानसँगै नेपाली सेनाको टोलीले करिब डेढ सातापछि हुने म्याराथन तथा महोत्सवमा सक्रिय सहभागिता साथै महोत्सव सफलताका लागि स्थानीय समुदायलाई सचेतीकरणसमेत गराइरहेको छ । पाथीभरा दर्शनमा आउने भक्तजन लगायतलाई महोत्सवबारे सेनाले जानकारी गराउँदै आएको बताइएको छ ।

यसैबिच पाथीभरा क्षेत्र विकास समिति र संरक्षण समिति, डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन उपभोक्ता समूह र पाथीभरा क्षेत्रका बासिन्दासमेतको सहभागितामा पाथीभरा क्षेत्रमा वृक्षरोपण गरिएको छ । पाथीभरा क्षेत्रमा पर्ने मयाम पातल र सिम्बु सामुदायिक वनमा खाली रहेको जग्गामा वृक्षरोपण गरिएको जनाइएको छ । 

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत ललितकुमार यादवले यहाँको सामुदायिक वन क्षेत्रको माटो सुहाउँदो वृक्षरोपण गर्ने गरी कार्यालयले बिरुवा उपलब्ध गराएको जानकारी दिनुभयो । पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति र भीम काली गुल्मको संयुक्त आयोजनामा आउँदो असोज ११ देखि १३ गते तीन दिनसम्म सदरमुकाम फुङ्लिङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।