• १० मंसिर २०८१, सोमबार

लोप हुँदै थकाई मेटाउने चौतारी

blog

तनहुँको व्यास नगरपालिका–१० सेवरमा संरक्षण गरिएको चौतारी । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, भदौ २९ गते । थाकेको बेला, गर्मीले उकुसमुकुस हुँदा एकै छिन मात्रै टुसुक्क चौतारीमा बस्ने हो भने थकान मेटाउन सकिन्छ । तनहुँमा थकाई भुलाउनको लागि पुर्खाले बनाएको चौतारी मासिँदै जान थालकोे छ । 

चौतारी अतित्वमा सङ्कटमा पर्दै जान थालेपछि डिभिजन वन कार्यालय तनहुँले संरक्षणको पहल थालेको छ । कार्यालयले अभियान नै सञ्चालन गरेर पहल थालेको हो ।

हाम्रा पुर्खाले बाटो हिँड्दा थकान मेटाउने, गाँउबेसी गर्दा भारी बिसाउनको लागि, पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरेका हाल त्यस्तो कार्य प्रति चासो कम गएकोले लोप हुन लागेकोले संरक्षण गर्न थालिएको कार्यालयले जनाएको छ । 

मोटरबाटो लैजाँदा रुख ढाली दिने र मानिसहरू चौतारीमा भन्दा एसी र पङ्खाबाट शीतल लिने गरेकाले नयाँ रोप्न नचाहने गरेकोले चौतारी लोप हुँदै गएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ ।

संरक्षणको लागि अभियान सुरु गरिएको र त्यसको लागि स्थानीय तहका जनप्रतिनिधीहरुलाई तथा सामुदायिक वनका उपभोक्ताहरूलाई चौतारीको वातावरणीय महत्त्वको बारेमा प्रशिक्षण दिन थालिएको उहाँले बताउनुभयो । 

वरपिपलले हानिकारक किराहरूको नास गरिदिने, बाह्रैमहिना स्वच्छ हावा दिने भएकोले पर्यावरणीय दृष्टिकोणले धेरै महत्त्व रहेको काफ्ले बताउनुहुन्छ । सलह, अमेरिकी फौजी किरा जस्ता हानिकारक किरा नियन्त्रण लिन वर पिपल, आँप तथा समीका रुखले भूमिका खेल्ने उहाँले जानकारी दिनुभयो । 

खेतबारी नजिकै वर पिपलका रुखहरू हुने हो भने मूल नसुक्ने हुँदा जमिन रसिलो हुने मात्रै नभई चराचुरुङ्गीको बास हुने हुँदा बाली नष्ट गर्ने हानिकारक किराहरू चराले खाइदिँदा नियन्त्रणमा समेत मद्दत पुग्ने काफ्ले बताउनुभयो ।

यस्ता महत्त्वको बारमा जनप्रतिनिधिलाई जानकारी गराएर वर पिपलको संरक्षणको गर्न आग्रह गरेपछि पालिकाले बजेट छुट्टाउन थालेको उहाँले जानकारी दिनुभयो । वरपिपलबाट बाँदरले आहारा पाउने भएकोले यसको संरक्षण गर्दा बालीमा हानी कम गर्ने काफ्लेले बताउनुभयो । 

गण्डकी प्रदेश सभाले वि.सं २०७५ साल माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पु¥याउनुलाई कानुनी रूपमा दण्डनीय कार्यको रूपमा परिभाषित गरेकोले पनि संरक्षणको लागि टेवा पुगेको कार्यालयले जनाएको छ ।  

यो ऐनले बर, पिपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ । कार्यालयका अनुसार ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीव्रता दिनको लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ । 

सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पिपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरि कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरू काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा गरिएकोले संरक्षणमा पहल भएको छ । 

चौतारी संरक्षण पहल सुरु भएसँगै गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गत वर्ष पाँच वटा चौतारो संरक्षण गरिएको कार्यालय सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रति चौतारी एक लाख रुपियाँ आर्थिक सहयोग र दश प्रतिशत जन सहभागितामा संरक्षण गरिएको उहाँले बताउनुभयो । 

म्याग्दे गाउँपालिका–७ स्थित रिपा शिखर थुम्की सामुदायिक वन, म्याग्दीकै सोही वडाको जनचेतना आमा समूह व्यास नगरपालिकाको वडा नम्बर १ स्थित अकला सामुदायिक वन, वडा नम्बर १० स्थित सर्वज्योती आमा समूह र वडा नम्बर ११ स्थित तनहुँसुर सामुदायिक होमस्टेमा चौतारा निर्माण गरिएको छ । ती चौतारीहरू चार लाख ८२ हजार लागतमा निर्माण गरिएको कार्यालयले जनाएको छ ।