• २४ जेठ २०८२, शनिबार

नौ वर्षमा सात किलोमिटर कालोपत्रे

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, जेठ २३ गते ।  दुई वर्षमा कालोपत्रे सक्ने गरी सम्झौता भएको यहाँको एक सडक नौ वर्षको अवधिमा जम्मा सात किलोमिटर मात्र कालोपत्रे भएको छ । यहाँको कालीगण्डकीको मिर्मी–बिर्घा–रानीघाट सडक सम्झौताको समय सकिएको थप सात वर्षसम्म अलपत्र परेको छ । 

पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले २०७३ साल भदौ ३१ गते दुई वर्षमा सडक कालोपत्रे सक्ने गरेर सम्झौता भएको भए पनि नौ वर्षको अवधिमा सात किलोमिटर मात्र सडक बनेको बताउनुभयो । यो सडक पहिलो सडक डिभिजन कार्यालय पोखराबाट पाँच वर्षपहिला गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय कास्कीलाई हस्तान्तरण हुँदै स्याङ्जास्थित सडक कार्यालयमा हस्तान्तरण भएको थियो । 

सङ्घीय सरकारले बजेट विनियोजन गरेको यो सडक १९ करोड ६६ लाख ४९ हजार ९०४ रुपियाँमा सन्तोषी निर्माण सेवाले सडक डिभिजन पोखरासँग सम्झौता गरेको थियो । पाँच पटक म्याद थपेर यही असार ३१ गतेसम्म म्याद रहेको यो सडकका ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको हो । 

६५ प्रतिशत भौतिक प्रगति रहेको यो सडकको ४८.४८ प्रतिशत अर्थात् नौ करोड ५३ लाख ४० हजार १८७ रुपियाँ ५६ पैसा आर्थिक प्रगति रहेको छ । ठेकेदारले रकम हुने बेला काममा ढिलाइ गरेको र सङ्घले प्रदेशमा जिम्मेवारी दिएसँगै प्रदेशले रकम कम विनियोजन गरेकाले कालोपत्रे गर्ने काममा ढिलाइ भएको अधिकारीले बताउनुभयो । काम सम्पन्न गरे अनुसारको रकम समयमै नपाउँदा सबै काम बेलैमा हुन नसकेको ठेकेदार उज्ज्वल कँडेलले बताउनुभयो । ठेकेदार कँडेलले बाँकी रहेको रकम भुक्तानी गरे काम गर्न सकिने बताउनुभयो । सम्झौता अनुसार अब डेढ किलोमिटर काम सकेपश्चात् पूरा हुने बताउँदै कँडेलले अरू योजनाको भेरियसन आदेश नभए अगाडि बढ्न नसक्ने बताउनुभयो । 

यहाँ यो सडक जस्तै करोडौँ रुपियाँका १२ वटा बहुवर्षीय योजना आर्थिक तथा ठेकेदारका कारण समय सकिँदासमेत निर्माणले पूर्णता पाउन सकेका छैनन् । मालुङ्गा–रुद्रवेणी सडक सम्झौता समय सकिन तीन महिना बाँकी रहँदा ५५ प्रतिशत काम भएको छ भने सात महिना समय बाँकी रहँदा रत्ने–सुन्तलाबारी सडकमा कामै छाडेर निर्माण कम्पनी हिँडेको छ । 

यस्तै गल्याङ–चापाकोट, कोल्मा–ज्यामिरे, दरौँ–आरुचौर, बायटारी–सेतीबेनी, किनारे–धुरकोट, जिमुवा–पाखीचौर, पिपलटारी–बोधिभन्ज्याङ, अर्जुनचौपारी–रापाकोट, वालिङ–हुवाँस, बलमाटा–खिलुङ कुनै सम्झौता समय सकिँदा र कुनै सकिन लाग्दा सुस्त गतिमा निर्माण भइरहेका छन् ।