• १३ असोज २०८१, आइतबार

महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी गौतमलाई

blog

फाइल तस्बिर

काठमाडौं, भदौ २८ गते । प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग छानबिन गर्न गठित सो समितिको मङ्गलवार सिंहदरबारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

समितिको काम कारबाहीबारे भ्रमपूर्ण सूचना जनतामा नजाओस् भनेर समितिका सचिव गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको समितिका सदस्य एवम् कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

नेता विश्वकर्माले भन्नुभयो, ‘‘सञ्चारकर्मी साथीहरूले समितिका सदस्यहरूसँग समितिको बारेमा र समितिको काम कारबाहीको बारेमा लिएका सूचनाहरूको विषयलाई लिएर विभिन्न किसिमका अंशमा प्रसारण गरिएको सूचनाहरूले भ्रम सृजना गरेको हुनाले समितिको सूचना एकद्वार प्रणालीबाट जाओस् भनेर समितिका सचिव लक्ष्मीप्रसाद गौतमलाई प्रवक्ता तोक्ने निर्णय हामीले गर्‍यौँ । प्रवक्ता तोक्ने विषयमा विवाद भएन । हामी सबै राजनीतिक दलहरूबाट प्रतिनिधित्व गर्ने हुनाले समितिको सचिवलाई तोक्दा निर्विवाद हुन्छ भनेर प्रस्ताव गरियो । त्यसमा विवाद भएन ।’’

सबै राजनीतिक दलका प्रतिनिधिहरू भएकाले हुनाले गौतमलाई प्रवक्ता तोक्ने काममा कुनै विवाद समितिमा नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।  बैठकमा समितिको सूचना गलत ढङ्गले बाहिर गएको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको थियो ।