• १६ चैत २०८०, शुक्रबार

प्लास्टिक टनेल र बीउ पाएपछि महिला उत्साही

blog

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, भदौ २८ गते । बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक टनेल र विभिन्न तरकारीका बीउ पाएपछि हाम्रो क्षेत्रका महिला तरकारी उत्पादनमा निकै उत्साही देखिएका छन्। सोलुदूधकुण्ड नगरपालिका–८, केरुङ, बाघखोरकी कृषक दाली शेर्पालाई यसले तरकारीमा आत्मनिर्भर बनाउनुका साथै आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास छ। 

सोलुखुम्बुको शिक्षा, स्वास्थ्य तथा महिला सशक्तीकरणका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको ‘द स्मल वल्र्ड’ संस्थाले यस क्षेत्रका महिलालाई ‘आशाको बीउ’ कृषि कार्यक्रमअन्तर्गत प्लास्टिक टनेल, विभिन्न थरिका तरकारीको बीउ वितरण तथा प्लास्टिकको टनेल बनाउने सीप सिकाएपछि महिलाहरूले अब जुनसुकै समयमा पनि तरकारी फलाउन सक्ने बताएकाछन्। 

बाघखोरमा केरुङका ३० महिलालाई आठ प्रकारका तरकारीको बीउ वितरण गरिएको र यसअघि वितरण गरिएको टनेल निर्माण गर्ने तरिकासमेत सिकाएको संस्थाकी कार्यक्रम संयोजक गोमा बस्नेतले जानकारी दिनुभयो। सामग्री तथा सीप पाएपछि महिलाहरू धरै खुसी भएको उहाँले बताउनुभयो।

कृषि प्राविधिकसहित कृषकहरूलाई सहयोग गरिरहेको संस्थाले तरकारीमा आत्मनिर्भरताका साथै महिलालाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले ‘आशाको बीउ’ नाम कार्यक्रम सञ्चालन गरिएको टीएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो। समाजमा महिलाहरूलाई हरेक क्षेत्रमा अघि बढाउन सके विकासमा फड्को मार्न सकिने उहाँको भनाइ छ।

यसअघि जिल्लाको सल्लेरी, तिङला, तामाखानीलगायत विभिन्न क्षेत्रमा आशाको बीउ कार्यक्रममार्फत कृषकहरूलाई टनेल तथा तरकारीको बीउ र कृषि प्राविधिकसमेत सहयोग गरेको अध्यक्ष शेर्पाले बताउनुभयो। कोरोनाको समयमा घरमै बसेर तरकारी उत्पादनमा प्रोत्साहन गर्नका लागि यो कार्यक्रम ल्याइएको बताइएको छ।