• ४ जेठ २०८१, शुक्रबार

चाडपर्व लक्षित यातायात सुरक्षामा ट्राफिक प्रहरी

blog

काठमाडौं, भदौ २७ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलक्षित यातायात सुरक्षा असोज १ गतेदेखि लागू हुने जनाएको छ । चाडपर्व प्रत्येक वर्ष आउने भएकाले यात्रु सहजताका लागि ट्राफिक प्रहरी सदैव तयार रहने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकाको १४ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना हुनेछ। 

दशैँ तिहार मान्न उपत्यका छाडेर आ–आफ्नो थातथलो फर्किने यात्रुहरूलाई बढी भाडा लिने, यात्रु ठगी गर्ने, टिकटलगायत यातायातसम्बन्धी समस्या सहजताका लागि कक्षको स्थापना हुन्छ । कक्षले यात्रु तथा आफ्नो मालसामानको सुरक्षासम्बन्धी सुसूचित गराउने, जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने र विभिन्न जिङ्गलहरु बसभित्र बजाउनेलगायतको काम गर्ने उहाँले बताउनुभयो ।

महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको भिडभाड हुने १४ स्थानमा यात्रु कक्ष स्थापना गर्नेछ । नयाँ बसपार्क, गौशाला, बल्खु, कोटेश्वरलगायतका नाकामा कक्ष राखिनेछन् । सातदोबाटो, कलङ्की, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङ्गलगायत ठाउँमा पनि कक्ष राखी सञ्चालनमा ल्याइने प्रवक्ता भट्टले बताउनुभयो ।

दशैँमा घर जान लामो तथा मझौला दूरीका अग्रिम टिकट बुकिङ्ग खुला हुने हुँदा त्यस्ता स्थानमा यात्रुको भिडभाड हुन सक्ने समस्यालाई समाधान गर्न कक्षहरू सक्रिय भई काम गर्छ । कक्षले फर्जी टिकट बेच्ने र डबल टिकट काट्ने, टिकट कालोबजारी गर्ने, यात्रुलाई सास्ती दिने अनधिकृत व्यक्तिमाथि निगरानी गर्ने, पकेटमारलगायतका गतिविधिको निगरानी गर्न सादा पोसाकमा ट्राफिक प्रहरीको टोली पनि परिचालिन हुने उहाँको भनाइ छ ।

भिडियो : मनोजरत्न शाही/केशब गुरुङ

यात्रु सहायता कक्षको अवधि चाडपर्वमा उपत्यकाबाट बाहिर जाने यात्रुको सहजताका लागि उपत्यकाको टिकट काउन्टर रहेका स्थानमा प्रत्येक वर्ष दशैँदेखि छठसम्म यात्रु सहायता कक्ष ट्राफिक प्रहरीले स्थापना गर्दै आएको छ । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र तथा यातायात व्यवसायीको उपस्थिति हुन्छ ।

चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्न सक्ने हुनाले न्यूनीकरण गर्न सहायता कक्षले प्रभावकारी भूमिका खेल्छ ।

यात्राको क्रममा लैङ्गिक हिंसा, चाडपर्वलक्षित यातायात सुरक्षाको योजना असोज १ गतेदेखि लागू हुनेछ । उहाँले यात्रामा लैङ्गिक हिंसा हुनसक्ने कुरालाई विचार गरी विभिन्न अभियान सञ्चालन हुन्छन् । यो वर्ष पनि ती कार्यक्रम हुन्छन् । जसले यात्रु सहायता कक्षबाट सेवा दिन्छन् । ट्राफिक प्रहरीको अभियान ट्राफिक प्रहरीले नियमविपरीत सवारी साधान चलाउने चालकहरूका लागि अहिले विभिन्न अभियान सञ्चालन गरेको छ ।

विद्यार्थीलक्षित सुरक्षा योजना, मापसे गरी स्कुल बस चलाउने चालकलाई निगरानीसहित दैनिक कारबाही गर्दै आएको छ । ट्राफिक प्रहरीले लागूऔषधलगायतको चेकजाँचलाई कडाइ गरेको छ। 

ट्राफिक नियम विपरीत जानेलाई मुद्दा लाग्छ । ट्राफिक नियमविपरीत सवारी साधान चलाउने, नियम नमान्ने, ओभरटेक गर्ने चालकमाथि मुद्दासमेत लाग्न सक्छ । त्यसरी लागेको मुद्दामा जेलसमेत जानुपर्ने स्थिति आउँछ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई प्रकृति हेरेर २५ दिनसम्म जेल जीवन बिताउनुपर्ने हुन्छ । वा अवस्था हेरेर मुद्दाको समय लम्बिने पनि हुन्छ ।

ट्राफिक नियमको पूर्ण पालना

सवारी चालकले ट्राफिक नियमको पूर्णरुपमा पालन गर्नुपर्ने हुन्छ । पछिल्लो एक आर्थिक वर्षमा दुर्घटनामा परी दुई हजार ८०० जनाले ज्यान गुमाएका छन् ।  त्यसको तेब्बर मानिसहरू घाइते भई अपाङ्ग भएका देखिएका छन् । चाडपर्वको समयमा मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्छ । त्यो न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्णरुपमा पालन गर्नु सबैको कर्तव्य भएकाले सबैमा उहाँले ट्राफिक नियमको पूर्णपालन गर्न अपिल गर्नुभयो ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।