किएभ, कात्तिक ११ गते । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने भन्दै युरोपेली देशसँग स्थिर आर्थिक सहयोगको माग गर्नु भएको छ ।
उहाँका अनुसार, युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्ण रुसी आक्रमणपछि विदेशी सैन्य र आर्थिक सहयोगकै भरमा आफ्नो प्रतिरक्षा जारी राखिरहेको छ । “मैले सबै युरोपेली नेतासँग स्पष्ट रूपमा भनेको छु-हामी दशकौँसम्म युद्ध लड्ने होइनौँ, तर केही वर्षका लागि युक्रेनलाई स्थिर आर्थिक आधार प्रदान गर्न उनीहरूले प्रतिबद्धता देखाउनुपर्छ”, उहाँले मङ्गलबार जारी गर्नु भएको वक्तव्यमा भन्नुभयो, “यही कारणले उनीहरूको सोचमा अहिले २-३ वर्षको योजना रहेको छ ।”
युरोपेली सङ्घ (इयू) का नेताहरूले गत हप्ता युक्रेनका लागि थप दुई वर्षका आर्थिक सहयोगका विकल्प अघि बढाउन युरोपेली आयोगलाई निर्देशन दिएका थिए । यस योजनाअन्तर्गत रुसका फ्रिज गरिएका सम्पत्तिबाट प्राप्त हुने दशौँ अर्ब युरो युक्रेनको पुनर्निर्माण र प्रतिरक्षा दुवै प्रयोजनका लागि प्रयोग गर्न सकिने छ । “यदि युद्ध चाँडै सकियो भने त्यो पैसा पुनर्निर्माणमा खर्च हुने छ, तर यदि युद्ध जारी रह्यो भने हामी त्यसलाई हतियार खरिदमा प्रयोग गर्नेछौँ-हामीसँग अरू विकल्प छैन”, उहाँले स्पष्ट पार्नुभयो ।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि रुसप्रतिको समर्थन घटाउन दबाब दिन आग्रह गर्नु भएको छ । “यदि ट्रम्पले चीनलाई रूसबाट आयात घटाउन प्रेरित गर्नुभयो भने, त्यो निर्णायक कदम हुने छ”, उहाँले पत्रकारसँग भन्नुभयो । ट्रम्पले हालै दुई प्रमुख रुसी तेल कम्पनीमाथि प्रतिबन्ध लगाउँदै चीन र भारतलाई रुसबाट तेल किन्ने मात्रा घटाउन आग्रह गर्नु भएको छ, जुन अमेरिकी पक्षले मस्कोको युद्ध खर्चलाई सहयोग गर्ने स्रोत बताउँदै आएको छ ।
युद्ध चौथो वर्षमा प्रवेश गर्दा रुसले केही क्षेत्रमा प्रगति गरिरहेको अवस्थामा जेलेन्स्कीले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा रूसी सेनाले बलियो पकड जमाएको स्वीकार गर्नु भएको छ । “करिब २०० रुसी सैनिक त्यहाँ विभिन्न स्थानमा देखिएका छन् । पोक्रोभस्क अहिले रुसको मुख्य लक्ष्य बनेको छ”, उहाँले भन्नुभयो । रासस/एएफपी