• ९ मंसिर २०८१, आइतबार

विदेशीले लैजान्छन् आठ अर्ब

blog

काठमाडौँ, भदौ २६ गते । नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो । 

विश्व बैङ्कले पनि सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा चार करोड ४१ लाख (करिब साढे पाँच अर्ब रुपियाँ) अमेरिकी डलर बाहिरिएको छ । त्यसअघि सन् २०१९ मा छ करोड, २०१८ मा चार करोड ९४ लाख, २०१७ मा तीन करोड ३४ लाख, २०१६ मा दुई करोड र २०१५ मा ९० लाख अमेरिकी डलर रहेको विश्व बैङ्कको तथ्याङ्क छ । यद्यपि औपचारिक माध्यमबाट बाहिरिएकोभन्दा धेरै रकम अनौपचारिक माध्यमबाट बाहिरिरहेको अनुमान राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टको छ । 

ठूलो सङ्ख्यामा भारतीय नागरिक नेपालमा अनौपचारिक रूपमै काम गरिरहेकाले उनीहरूले अनौपचारिक माध्यमबाटै विप्रेषण पठाउने गरेका छन् । विश्व बैङ्कको तथ्याङ्कमा भारतको विप्रेषण आम्दानीका दस महत्वपूर्ण स्रोत मुलुकमध्ये नेपाल पर्नुले पनि यो कुरालाई पुष्टि गर्छ । संयुक्त राज्य अमेरिकाको पिउ रिसर्चले सन् २०१७ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार त्यतिबेलै भारतीयले नेपालबाट करिब तीन खर्ब रुपियाँ विपे्रषणका रूपमा लगेको उल्लेख थियो । 

६९ देशका नागरिकले गर्छन् काम

प्रत्येक दिन दुई हजारभन्दा बढी नेपाली युुवा वैदेशिक रोजगारीका लागि बाहिरिन्छन् । रोजगारीकै लागि श्रम स्वीकृति लिएर विदेशिने युवा ठूलो सङ्ख्या अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्या दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । 

तर, नेपालमा पनि थुप्रै विदेशी जनशक्तिले काम गर्दै आएका छन् । श्रम इजाजत लिएर नेपालमा काम गर्नेमा छिमेकी देश भारत र चीनदेखि अमेरिका, युरोपेली र अफ्रिकी मुलुकलगायतका ६९ देशका नागरिक छन् । श्रम इजाजत लिई नेपालमा काम गर्ने देशको सूचीमा अफ्रिकी मुलुक चाड, नाइजेरियादेखि युरोपेली मुलुक जर्मनी, फ्रान्स, इटली, नेदरल्यान्डस्लगायतका नागरिक छन् । नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश मलेसियाका नागरिकले पनि नेपालमा काम गर्न श्रम इजाजत लिएका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आव २०७८/७९ मा नेपालमा काम गर्न दुई हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका थिए । सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने एक हजार २३१ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । आव २०७७/७८ मा दुई हजार ३९३ विदेशी नागरिकले श्रम इजाजत लिएकोभन्दा गत आर्थिक वर्षमा विदेशबाट आएर श्रम स्वीकृति लिनेको सङ्ख्या केही घटेको पाइएको छ ।

गत आवमा नेपालमा श्रम इजाजत लिनेमध्ये सबैभन्दा धेरै अर्थात्‌ झन्डै ७५ प्रतिशत चिनियाँ नागरिक छन् । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा काम गर्न इजाजत लिने विदेशीमा एक हजार ६२९ चिनियाँ, १०६ बेलायती, ८६ अमेरिकी, ६१ जापानी र ५७ जना भारतीय नागरिक छन् । 

विभागका अनुसार २०७९ साल सुरु भएयता वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ र साउनमा १६० गरी कुल एक हजार ४३ जना विदेशीले विभागबाट श्रम इजाजत लिएका छन् । 

पछिल्ला दस आर्थिक वर्षमा सबैभन्दा धेरै आव २०७४/७५ मा विदेशी नागरिकले श्रम इजाजत लिएका छन् । उक्त वर्ष दुई हजार ५७० जनाले श्रम इजाजत लिएका थिए भने सबैभन्दा कम २०६९/७० मा ९८४ जनाले लिएको तथ्याङ्क छ । 

विभागका अनुसार नेपालमा भारतबाट आएर काम गर्नेको सङ्ख्या ठूलो छ तर इजाजत लिएरै काम गर्ने भारतीयको सङ्ख्या भने थोरै छ । खासगरी अदक्ष र अर्धदक्ष भारतीय श्रमिकको ठूलो सङ्ख्याले नेपालमा रोजगारी पाइरहेको छ । नेपाली युवा विदेशिएपछि भएको जनशक्ति अभाव यिनै भारतीय नागरिकबाट पूरा भइरहेको छ ।

साना उद्योगमा १३ लाख भारतीय कामदार 

घरेलु तथा साना उद्योग महासङ्घका अनुसार घरेलु तथा साना उद्योगमा दक्ष तथा अर्धदक्ष गरी १३ लाख कालीगड भारतबाट मात्रै आउने गरेको र सिजनमा तीन÷चार लाख अझ बढ्ने गरेका छन् । 

महासङ्घले दर्ता भएर सञ्चालन भएका घरेलु तथा साना उद्योगको सङ्ख्या चार लाख १८ हजार रहेको छ । ती उद्योगमा २६ लाखले रोजगारी पाएका छन् । 

निर्माण क्षेत्रमा काठको काम गर्ने, बुट्टा बनाउनेदेखि कामदार पनि भारतबाट आउने गरेका छन् । इँटा उद्योगमा पनि भारतीय श्रमिक धेरै छन् । विभागका अनुसार नेपालका सिमेन्ट उद्योगमा पनि चिनियाँ दक्ष जनशक्तिले काम गरिरहेका छन् । जलविद्युत् आयोजनासँग सम्बन्धित काममा सबैभन्दा धेरै विदेशीले श्रम इजाजत लिने गरेको पाइएको र त्यसमा पनि सबैभन्दा धेरै चिनियाँ नागरिक हुने गरेका छन् । 

काठमाडौँ–तराई द्रुत मार्ग, मेची–महाकाली रेलमार्ग, दूर सञ्चारलगायतका क्षेत्रमा पनि विदेशीले श्रम इजाजत लिएर काम गरिरहेको विभागले जनाएको छ । 

श्रमविज्ञ रामेश्वर नेपालले विदेशबाट आएर नेपालमा श्रम इजाजत लिएर काम गर्न आउनेमा ९० प्रतिशत उच्च दक्ष जनशक्ति रहेको छ भने नेपालबाट विदेश गएर काम गर्ने ठूलो सङ्ख्या अदक्ष जनशक्ति रहेको बताउनुभयो । 

नेपालले भित्र्यायो  १० खर्ब

गत आवमा नेपालले भने विप्रेषणबापत १० खर्ब सात अर्ब ३१ करोड रुपियाँ भित्र्याएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह आठ अर्ब ३३ करोड रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । विप्रेषण आम्दानीको मुख्य स्रोत वैदेशिक रोजगारी नै हो । 

गत वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन लाख ५४ हजार ६६० थियो ।