• ६ कात्तिक २०८१, मङ्गलबार

ढोरपाटनमा बँदेल सिकार गर्न अनुमति

blog

काठमाडौँ, भदौ २६ गते  । किसानको बालीनाली नोक्सान पार्न थालेपछि ढोरपाटन क्षेत्रमा बँदेलको सिकार गरिने भएको छ। 

नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षमा यसअघि झारल र नाउरको सिकार गरिँदै आएको थियो। हरेक वर्ष खेतीबाली नोक्सानी पार्न थालेपछि स्थानीयवासीले बँदेलबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने र सङ्ख्या घटाउनुपर्ने माग राख्दै आएका थिए। 

ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले भन्नुभयो, “बँदेलले बालीनालीमा क्षति पु¥याउन थालेपछि स्थानीय समुदायको मागअनुसार बँदेलको सिकार गर्ने अनुमति दिइएको छ। यसले स्थानीयको माग केही हदसम्म सम्बोधन हुनेछ।”

यो सिकार आरक्षमा यसअघि झारल र नाउरको मात्र सिकार गर्न अनुमति दिइँदै आएको थियो। यस पटक विदेशीलाई नाउर, झारलका साथै बँदेलको सिकारका लागि अनुमति दिइएको छ भने नेपालीका लागि बँदेलको मात्र सिकार गर्न अनुमति दिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। 

विभागले वर्षको दुईवटा सिजनमा रोयल्टी लिएर सिकार खेलाउने गरेको छ। चालू आर्थिक वर्षको पहिलो सिजन असोजदेखि मङ्सिर महिनासम्मको अवधिका लागि सिकार खेल्न चाहने सिकारीलाई निवेदन आह्वान गरेको विभागले जनाएको छ। 

यो सिकार आरक्षमा २०४४ सालदेखि विदेशीलाई सिकार खेलाउने गरिएको थियो। रुकुम, म्याग्दी र बागलुङको एक हजार ३२५ वर्ग किमि क्षेत्रफललाई समेटेर २०४० सालमा यो सिकार आरक्षको स्थापना गरिएको हो। आरक्षको अधिकांश भाग हिमाली वन्यजन्तुको बासस्थान, चरन क्षेत्र र खर्कले ओगटेको छ। 

सिकार खेलाउने उद्देश्यले स्थापना भएको यो क्षेत्रमा संरक्षणका गतिविधि प्रभावकारी रूपमा सञ्चालन भएसँगै वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ। प्रमुख संरक्षण अधिकृत कँडेलले भन्नुभयो, “बँदेलको सिकारका लागि नेपालीलाई अनुमति दिँदा आन्तरिक पर्यटन प्रवद्र्धन र राजस्वमा समेत वृद्धि हुने देखिएको छ।” 

यो पटक बँदेल ११ वटा, नाउर १९ वटा र झारल १४ वटा सिकार गर्न पाइने भएको छ। बँदेलको सिकारका लागि बँदेल पाइने सङ्ख्याको आधारमा सिकार ब्लक निर्धारण गरिएका छन्। बँदेलका लागि उर्वर क्षेत्र मानिएको ढोरपाटन उपत्यका र म्याग्दीको गुर्जा क्षेत्र बँदेलको उच्च घनत्व क्षेत्र निर्धारण गरिएको छ। सोही क्षेत्रमा बँदेलको बढी सिकार गरिने भएको छ।