• १३ साउन २०८१, आइतबार

जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला : मुख्यमन्त्री शाही

blog

नेत्र शाही 

जुम्ला, भदौ २५ गते । जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सबै बालबालिकाले खोप प्राप्त गरेपछि बिहीबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको हो ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहीले जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु भनेको स्वास्थ्य स्थितिमा सुधार आएको सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका लागि हरेक नागरिक सक्षम सबल र स्वास्थ्य हुन जरुरी छ । नागरिक स्वास्थ्य नभई मुलुक स्वस्थ हुन सक्दैन ।” 

कर्णाली प्रदेश सरकारका पूर्वाधार विशेष कार्यक्रमको छलफलका लागि जुम्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले जुम्ला हरेक दृष्टिले विकसित हुँदै गएको चर्चा गर्नुभयो । जुम्लाको विकासका लागि कर्णाली प्रदेश सरकारले चालु आवको बजेटमा पहिलो प्राथमिकता दिएको उहाँको भनाई छ । 

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदम रोकायाले जुम्लामा कुनै समय सिटामोल नपाएर मृत्यु स्विकार्ने जुम्ला अहिले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु गौरवको कुरा भएको बताउनुभयो । “कर्णालीमा कुनै बेला खोप भनेको के हो ? कसरी लगाउँछन् परिस्थिति थियो” उहाँले भन्नुभयो ।

जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका २ हजार ९ सय ७५ घरधुरीको सर्वेक्षणबाट २ हजार ९ सय ७५ जनाले पूर्णखोपको पहुँचमा पुगेका छन् । खोपको लक्ष्य २ हजार ५ सय ३७ जना तोकिएको थियो । तर लक्ष्यभन्दा ४ सय जना बढी खोपको पहुँचमा पुगेपछि जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुन सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । 

पूर्णखोप जिल्ला घोषणा गर्ने लक्ष्यअनुसार अभियानकै रूपमा जिल्लाभरी १ सय २४ वटा खोप केन्द्र सञ्चालन गरी खोप दिइएको थियो । पूर्णखोप अभियानमा स्थानीय स्वास्थ्य शाखाका जनशक्ति, महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित हुनुहुन्थ्यो ।