• २९ वैशाख २०८१, शनिबार

नेपालगन्ज डेंगु रोगको उच्च जोखिममा

blog

डेंगु बढ्दै जाँदा उपमहानगरले गरेको समन्वय बैठक । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, भदौ २४ गते । पश्चिम नेपालको केन्द्रबिन्दु मानिने नेपालगन्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा छ । भारतसँग सीमा जोडिएको सो सहरमा डेंगुका रोगी भेटिनेक्रम बढ्दै गएपछि नेपालगन्ज डेङ्गुको उच्च जोखिममा परेको हो । 

डेंगुका बिरामी बढ्दै गएपछि उपमहानगरपालिकाले नियन्त्रण अभियान तीव्र पारेको उपमहानगरका उपमेयर कमरुद्दीन राईले बताउनुभयो । डेंगु रोकथाम तथा नियन्त्रणका विषयमा तत्काल कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । हालसम्म बाँके जिल्लामा कसैको पनि डेंगुबाट मृत्यु नभए पनि कैलाली र बर्दियाका दुई जनाको डेंगुबाट भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भैसकेको छ । 

यसैबीच डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरले विभिन्न सरोकारवालाबीच शुक्रवार बैठक आयोजना गरी तत्काल नियन्त्रणमा लाग्न निर्देशन दिएको छ । सो बैठकमा डेंगी रोगको अवस्था, लक्षण तथा जोगिने उपाय र नियन्त्रणका सवालमा भएका कामबारेमा भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । 

त्यस क्रममा डा. पाण्डेले पछिल्लो १८ वर्षदेखि नेपाल यो रोगको जोखिममा रहेको उहाँहरूको भनाई छ । यो ग्लोबल समस्याका रूपमा रहेकाले यसको नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित सहरीकरण भएको उहाँले बताउनुभयो । 

डेंगुको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्नुपर्ने डा. पाण्डेले बताउनुभयो । डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियानलाई तीव्र पारिएको स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्सन गौतमले बताउनुभयो । 

बाँकेमा अहिलेसम्म ११ जनामा सो रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये ५ जना नेपालगन्ज उपमहानगरपालिकाको, ४ जना कोहलपुरको र १ जना बजैनाथ गाउँपालिकाका रहेका छन् ।

बैठकमा भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईँ, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, जिल्ला रेडक्रसका दोलखबहादुर डाँगीलगायतले नियन्त्रण प्रयासलाई अझै तीव्र पारिनु पर्नेमा जोड दिनुभयो ।