• २० कात्तिक २०८२, बिहिबार

जेनजी आन्दोलन : हिंसात्मक गतिविधिमा संलग्न धमाधम नियन्त्रणमा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २० गते । जेनजी आन्दोलनका क्रममा हत्या, आगजनी, तोडफोड, लुटपाट, चोरीलगायत हिंसात्मक गतिविधिमा संलग्न चार सय जना आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरण अनुसार प्रहरीले काठमाडौँ उपत्यका, धनुषा, पर्सा, बारा, चितवन, धादिङ, काभ्रे, पर्वत, म्याग्दी, कास्की र बाँकेलगायत मुलुकका विभिन्न २२ जिल्लाबाट पक्राउ परेकामध्ये १६० जनामाथि मुद्दा दायर गरिएको छ । 

त्यस्तै हाल प्रहरी हिरासतमा रहेका २३८ जनामाथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार, खरखजाना र हातहतियार कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, अविनारायण काफ्लेले आन्दोलनका क्रममा घुसपैठ गरी हिंसात्मक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने क्रम जारी रहेको बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा लुटिएका एक हजारभन्दा बढी हतियारमध्ये हालसम्म झन्डै ८५० हतियार बरामद गरिएको जानकारी दिँदै काफ्लेले भन्नुभयो, “हिंसात्मक गतिविधिमा संलग्न व्यक्ति र लुटिएका हतियार बरामद गर्न आवश्यक सुरक्षा कारबाही जारी छ । फरार कैदीलाई पक्राउ गर्न पनि सबै सुरक्षा संयन्त्रबिचको समन्वयमा विभिन्न सुरक्षा कारबाही जारी छ ।” गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी काठमाडौँ उपत्यकामा मात्र २१८ जना छन् । जसमा तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी) को नाममा उच्छृङ्खल गर्ने तेन्जिङ दावा लामा समूहका व्यक्ति, विभिन्न व्यक्ति तथा व्यावसायिक संस्था लुटपाट र आगजनीमा संलग्न भई विगतमा आपराधिक पृष्ठभूमि रहेका व्यक्ति छन् । त्यस्तै आन्दोलनका क्रममा ड्युटीमा खटिएका प्रहरी वृत्त महाराजगन्ज र कोटेश्वरमा तैनाथ प्रहरीका हत्यामा संलग्नसमेत पक्राउ परेका छन् । 

प्रहरीले काठमाडौँ उपत्यकाबाट २१८, बागमती प्रदेशका विभिन्न जिल्लाबाट ३३, गण्डकी प्रदेशबाट ३२, कोशी प्रदेशबाट ३० र लुम्बिनी प्रदेशबाट २९ जनालाई पक्राउ गरेको छ ।  त्यसै गरी मधेश प्रदेशका विभिन्न जिल्लाबाट २१, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिमबाट आठ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, अभद्र व्यवहार, चोरी, हातहतियार र कारागार ऐन–२०७९ अनुसारको कसुरमा अनुसन्धान जारी रहेको जनाएको छ ।