• ८ जेठ २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु : पर्यटन मन्त्री श्रेष्ठ

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ । फाइल तस्बिर

काठमाडौं, भदौ २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको बताउनुभएको छ ।

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको बताउनुभएको हो ।

सरकारले महेन्द्रनगर, नेपालगन्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल सुरु गरेको छ । नेपालले सीमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटा मात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय उडानहरू एउटा बिन्दुबाट मात्रै प्रवेश गर्न पाउँछ । अर्कोबाट प्रवेश गर्ने बिन्दु बन्न सकेको छैन । सरकारको प्राथमिकता भनेको अन्तर्राष्ट्रिय उडानको लागि महेन्द्रनगर, नेपालगन्ज र भैरवलाई अगाडि बढाएका छौँ । भारत सरकारसँग कुराकानी भइरहेको छ । तर त्यो खुलेको अवस्था छैन । अन्तर्राष्ट्रिय विमानस्थलहरू थप्दै सुधार गर्दै गएका छौँ । पर्यटन क्षेत्रलाई सुधार गर्नको लागि नेपालमा पर्यटकहरू १२ महिना आउन सक्ने देश हो भनेर अगाडि बढाएका छौँ । राउन्ड द एभर टुरिस्ट डेस्टिनेसन अभियान सुरु गर्दैछौं । नेपालको हावापानी,वातावरणको अवस्थाबाट १२ महिना नै पर्यटकहरू घुम्न आउने अवस्था र घुम्ने ठाँउहरु  छ ।’’

उहाँले नेपालले अहिले ४० देशहरूसँग दुईतर्फी हवाई उडान सम्झौता भइसकेको बताउनुहुँदै अब छिट्टै अमेरिका, रुसलगायतका देशमा सिधा उडान गर्ने तयारी सुरु गर्ने जानकारी दिनुभयो । यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्य स्थल बनाउन टेवा पुग्ने छ । मन्त्री श्रेष्ठले पर्यटकहरू नेपाल घुम्नको लागि १२ महिना नै आउन सक्ने हावापानी र वातावरण रहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘अहिले हवाई उडानको लागि ४० देशसँग सम्झौता गरेको छ । अमेरिका र रुसलगायतका देशहरूसँग हवाई उडानको सम्झौता गर्ने प्रक्रियामा अगाडि बढेको छ । नेपाल भूपरिवेष्टित देशमा रहेका छौँ । आकाश पनि नेपालले सीमित मात्रै प्रयोग गर्न पाउने अवस्था बनेको छ ।

पर्यटन मन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणमा लागि प्रतिबद्ध रहेको बताउनुभयो । कनेक्टिभिटी विकास गर्नको लागि लगानी भित्र्याउन र लगानी विस्तार गर्न सरकारले प्राथमिकता दिएको छ । मन्त्री श्रेष्ठले कनेक्टिभिटी बिना विकासको गति लिन सहज नहुने जानकारी उहाँले दिनुभयो ।

नेपालमा कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासको लागि हवाई, जल, स्थल, रेल कनेक्टिभिटीको आवश्यकता छ । मन्त्री श्रेष्ठले एउटा मात्र मुलुकको पूर्वाधार विकासले विश्व आर्थिक रूपमा मजबुत हुन नसक्ने भन्दै रिजनल कनेक्टिभिटीलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले क्षेत्रीयसँगै आन्तरिक कनेक्टिभिटीहरूको पनि उत्तिकै आवश्यक रहेको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठ भन्नुभयो, ‘‘सडक, विद्युत्, यातायात, हवाई र रेल मार्गको जस्ता कनेक्टिभिटीहरूको विकास बिना मुलुक विकासको गतिमा अगाडि बढ्न सक्दैनौँ । मुलुकको आर्थिक विकासको रूपमा कृषि, जलस्रोत र पर्यटनलाई लिएका छौँ । यी तीन वटै क्षेत्रको विकासको लागि कनेक्टिभिटीको आवश्यकता पर्छ । त्यसमा सडक, जलमार्ग, हवाई माग वा रेल मार्गको माध्यमले मात्रै कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकास अगाडि बढाउँदै आर्थिक वृद्धि गर्नसक्छौं ।’’

मन्त्री श्रेष्ठले पर्यटन प्रवर्द्धन लागि सुदूरपश्चिमको खप्तड, मानसरोवर नियाल्न सकिने  हुम्ला, रारा, फोक्सुन्डोलगायत गन्तव्यतर्फका सडकमार्ग तयार गर्न आवश्यक रहेको बताउनु भयो । यी क्षेत्रमा सडक मार्ग तथा भौतिक पूर्वाधारको विकास हुनसके पर्यटकहरू सहजरूपमा जान सक्छन् ।