• १२ साउन २०८१, शनिबार

रात्रिकालीन व्यवसाय : श्रम बजारको ठुलो स्रोत

blog

काठमाडौं, जेठ ७ गते । विश्वास नेपालले मनोरञ्जन क्षेत्र (डान्सबार, दोहोरी साँझ, मसाजपार्लर, क्याबिन रेस्टुरेण्ट) तथा खाजा घर व्यवसायलाई मर्यादित बनाउँदै त्यहाँ कार्यरत श्रमिकको हक-हितको पनि कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । 

संस्थाद्वारा राजधानीमा आयोजित “मनोरञ्जन क्षेत्रका श्रमिकको सवाल र वर्तमान अवस्था” बारे छलफल कार्यक्रममा सहभागी सरोकारवालाले व्यवसाय र श्रमिक दुवैको हितका लागि नीतिगत व्यवस्था हुनुपर्ने बताएका हुन् । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले भन्नुभयो, “देशभर सञ्चालन भएका डान्सबार, दोहोरी साँझ, मसाज पार्लर, क्याबिन रेस्टुरेण्ट तथा खाजा घरमा करिब आठभन्दा बढिले रोजगारी पाइरहेका छन्, रोजगारीकै लागि विदेश जानुपर्ने बाध्यतालाई यस्ता व्यवसायले घटाएका पनि छन् भने त्यहाँ कार्यरत श्रमिकको पनि रोजगारीको हक, मानवअधिकारको हक दुवै सुरक्षित बनाउन सरोकारवालामा जागरणको आवश्यकता छ ।”

उहाँले विश्वास नेपालले करिब १९ वर्षदेखि तिनै विषयलाई उठाउँदै व्यवसायी र श्रमिकबिच आ–आफ्नो जिम्मेवारी पालना गर्न र रात्रिकालीन व्यवसाय सञ्चालनका लागि नीति बनाउन राज्यलाईसमेत झक्झाउने क्रममा थोरै सुधार देखिएको तर त्यो पर्याप्त नभएको बताउनुभयो । अध्यक्ष भण्डारीले विश्वास नेपालले रात्रिकालीन व्यवसायमा काम गर्ने श्रमिक र व्यवसायी दुवैको हितका लागि परामर्श र तालिम दिँदै आएकोमा कतिपय अवस्थामा श्रमिकले व्यवसायीको पक्ष लिएको र व्यवसायीले श्रमिकको मात्र पक्ष लिएको भन्ने आरोप पनि संस्थालाई लागेको बताउनुभयो ।

उहाँले व्यवसाय नभई श्रमिकले पनि काम पाउँदैनन् र श्रमिक नभए व्यवसायीले पनि व्यवसाय चलाउन सम्भव नभएकोले आखिरमा व्यवसायी र श्रमिक दुवै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । सो अवसरमा रात्रिकालीन व्यवसायी सङ्घका अध्यक्ष एवम् व्यवसायी विनोद श्रेष्ठले रात्रिकालीन व्यवसायमा विगतमा भन्दा धेरै सुधार आएका छन् तर राज्यले रात्रिकालीन व्यवसायलाई सञ्चलन गर्न ठोस नीति नल्याएकोले अझै पनि नयाँ व्यवसायलाई व्यवस्थापनमा चुनौती नै रहेको बताउनुभयो ।

उहाँले यस क्षेत्रलाई प्रशासनले हेर्ने दृष्टि बदल्नुपर्ने, रात्रिकालीन व्यवसायमा रोजगारी गर्ने श्रमिकले पनि छिटो-छिटो काम गर्ने स्थान बदल्दै हिँड्ने प्रवृत्तिको अन्त्य र सरोकारवाला सबैको सहकार्य भएमा यस क्षेत्रले धेरैलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्ने बताउनुभयो । सो अवसरमा विश्वास नेपालका परियोजना संयोजक कमला सापकोटाले विश्वास नेपाल संस्था स्थापना गर्नुको औचित्य र यसले गरेका कामबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले वि.सं.२०६२ सालदेखि रात्रिकालीन व्यवसायमा कार्यरत श्रमिक र व्यवसाय सञ्चालनका लागि आवश्यक नीति र भएका कानुन कार्यान्वयनका लागि आवश्यक परामर्श, छलफल गर्दै स्वदेशमै रोजगारी गर्न प्रेरित गर्दै आएको बताउनुभयो ।

उहाँले यस व्यवसायमा संलग्न श्रमिकलाई आफ्नो अधिकार कर्तव्यबारे जानकारी दिँदै व्यवसायीलाई पनि सहज हुने वातावरण तयार गर्न विश्वास नेपालले विभिन्न परियोजनामार्फत काम गर्दै आएको बताउनुभयो । ट्रेड युनियन अभियन्ता देवी लम्सालले श्रमिकहरूले ट्रेड युनियनमा आबद्ध भएर आफ्नो हक हितका सवाललाई उठाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले ट्रेड युनियनमा धेरै जसो पाँच तारे होटलका श्रमिकको सहभागिता रहेको र रेष्टुरेन्ट, डान्सबार, खाजाघरका न्यून श्रमिकको मात्र संलग्नता रहेको अनुभव सुनाउँदै नेतृत्व कुन क्षेत्रका श्रमिकले गरेका छन् भन्ने कुराले पनि अर्थ राख्ने बताउनुभयो । विश्वास नेपालका कार्यकारी निर्देशक मधु गुरुङले रात्रिकालीन व्यवसायमा कार्यरत महिला श्रमिक व्यवसायीबिचको सौहार्दपूर्ण वातावरण र राम्रो नीति ल्याउन सके स्वदेशमै रोजगारीको  ठुलो अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।