• १२ साउन २०८१, शनिबार

रेल्वे लिकमा पर्दा दासको दुवै खुट्टा गुम्यो

blog

जनकपुर, साउन १२ गते । जनकपुर-जयनगर रेल्वेको लिकमा पर्दा एक जनाले दुवै खुट्टा गुमाउनुभएको छ । जनकनन्दनी गाउँपालिका-३ महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाउनुभएको हो । 

आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उहाँ अल्मलिएर रेलकै लिकमा पर्नुभएको थियो । लिकमा अल्झनुभएका उहाँले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिनुभयो । दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । रासस