• १२ साउन २०८१, शनिबार

कडा चट्टानले ड्रिलिङमा कठिनाइ

blog

दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा ड्रिलिङ गरिँदै । तस्बिरः कमल शर्मा

कमल शर्मा

दैलेख, साउन १२ गते । जमिनमुनि कडा चट्टान लागेपछि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्बेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । 

जमिनमुनी कडा चट्टान लागेको र ड्रिलिङका लागि ल्याइएका ड्रिलिङका बिटहरु भाँचिन थालेपछि ड्रिलिङ कार्यमा कठिनाइ भएको परियोजनाले जानकारी दिएको छ । 

खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका सिनिएर डिभिजनल जीओलोजिष्ट सुरेश श्रेष्ठले ड्रिलिङ गर्ने बिटहरू कडा चट्टानका कारण भाँचिन थालेपछि ड्रिलिङको काममा कठिनाइ आएको जानकारी दिनुभयो । 

उहाँले शनिवारसम्म एक हजार १४७ मिटर गहिरो ड्रिलिङ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जति गहिरो ड्रिलिङ गरिन्छ त्यति कडा चट्टान लागेको कारण ड्रिलिङका बिटहरू भाँचिने समस्याले ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । ड्रिलिङ मेसिनका बिटहरू भाँचिएपछि दुईदेखि काम गर्न समस्या भएको छ ।”

पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि पहिलो चरणमा ल्याइएका ड्रिलिङ मेसिनका बिटहरू भाँचिएपछि अन्य बिटहरू चाइनाबाट मगाइएको र चाइनाबाट रसुवा नाकासम्म सो सामग्री आइपुगेको उहाँले जानकारी दिनुभयो । चार महिनादेखि ६ महिनामा ड्रिलिङ कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि हालसम्म ड्रिलिङ कार्यले सोचेजति गति लिन नसकेको बताइएको छ । 

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।  हाल चिनियाँ र नेपाली गरी ६० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ । चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको हो । 

दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्नेगरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सम्झौताअनुसार काम हुन नसकेपछि पुनः समयावधि थपिएको थियो । 

सुरुआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्नेगरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौताअनुसार काम हुन सकेन । 

पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिग हावस निर्माण गरी ड्रिलिङ काम सुरु भएको थियो । 

ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ सिनिएर जिओलोजिष्ट श्रेष्ठले भन्नुभयो, “खानी भेटिएपछि आर्थिक विश्लेषण हुने त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्नेछ ।” 

दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबिच प्रधानमन्त्री स्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबिच अन्वेषण र उत्खनन गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । 

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भेगरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ । कोरानाका कारण एक वर्ष पछि धकेलिएको काम कोरोना नियन्त्रण भएपछि सुरु गरिएको थियो ।