• १२ साउन २०८१, शनिबार

प्रभावकारी बन्दै माटो दलेर गरिने उपचार

blog

रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा माटो दलेर उपचार गरिदै । तस्विरः मीना कंडेल

मीना कंडेल

कावासोती, साउन ११ गते । नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको आर्कषण बढ्दै गएको छ । प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिने भएकाले यसले कुनै साइडइफेक्ट नगर्ने भएकाले यसप्रति आकर्षण बढेको हो ।

यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । ठुला अस्पतालमा निको नभएको रोग प्राकृतिक चिकित्सालयमा आएपश्चात निको भइरहेको सेवाग्राहीको भनाइ छ ।  

चिकित्सालयमा नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर उपचार गर्ने गरिन्छ । गैडाकोट ३ का शिवकान्त तिवारी आजभोलि स्वास्थ्यमा केही समस्या देखियो भने प्राकृतिक चिकित्सालय आउनुहुन्छ । शरीरमा देखिने विविध समस्या देखिएपछि समाधानका लागि चार दिनसम्म चिकित्सालयमा बसेर उपचार गरी घर फर्किएको तिवारीले बताउनुभयो । 

वर्षमा एक पटक उपचारका लागि रजहर आउने गरेको उहाँको भनाइ छ । यस्तै, चितवनका अनिल ढकाल पनि उपचारका लागि प्राकृतिक चिकित्सालयमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि नसा, ढाड र खुट्टा दुख्ने समस्याले दैनिकीमा असर पारिरहेको थियो । यहाँ उपचार गरेपछि सहज भएको छ । हरेक दिन व्यायाम गरियो भने दीर्घरोगी भएर बस्न पर्दैन भन्ने पाठ सिकें ।” 

चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले यस्ता रोगले ग्रस्त भएकालाई माटो दलेर गरिने उपचार निकै प्रभावकारी देखिएको बताउनुभयो । खेती नगरिएको जमिनभन्दा ६ फिट तलको माटो ल्याएर त्यसको फोहोर हटाएर दीर्घरोगीको शरीरमा दलेर उपचार गर्ने गरिएको उहाँको भनाइ छ । त्यसले शरीरभित्रको फोहोर सोसेर निरोगी बनाउने गर्दछ । 

अस्पतालका व्यवस्थापक हरि सापकोटाले चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको विमार निको हुँदैगएको बताउनुभयो । ५२ शैयाबाट सञ्चालन सुरु गरिएकोमा अहिले तीनसय शैयामा विस्तार गरिएको छ । सुरुवाती दिनमा खासै बिरामीको चासो र विश्वास नदेखिए पनि कोरोनापछिको समयमा विरामीको विश्वास बढ्नुका साथै अस्पतालमा चाप समेत बढेको सापकोटाको भनाइ छ । 

२०६४ मा स्थापित चिकित्सालयमा हालसम्म उपचार गराउनेको संख्या ५० हजार नाघिसकेको छ । दश बिघा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयमा हाल देशका विभिन्न स्थान बुटवल, पाल्पा  अर्घाखाँची, नारायणगढ, चितवन, नवलपरासी, मकवानपुर, धादिड. लगायतका छिमेकी देश भारत र विदेशबाट विरामीहरु उपचार सेवा लिन आउने गरेका छन् ।