• १३ वैशाख २०८१, बिहिबार

एमालेले बनायो प्रदेश निर्वाचन परिचालन कमिटी

blog

प्रदेश कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन । तस्बिर : मुना हमाल

मुना हमाल

सुर्खेत, भदौ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशले आसन्न निर्वाचनका लागि प्रदेश निर्वाचन कमिटी गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा ३१४ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । 

भदौ २१ र २२ गते बसेको प्रदेश कमिटी बैठकले गरेका निर्णय बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै अध्यक्ष शाहले जनमत एमालेको पक्षमा पार्न निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकारी दिनुभयो । प्रदेश निर्वाचन परिचालन कमिटीमा प्रदेश कमिटीका सदस्यहरू, जिल्ला अध्यक्ष, प्रदेशस्तरका जनसङ्गठनका अध्यक्ष र सचिवहरू सदस्य छन् । 

यस्तै, प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा २६ सदस्यीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । बैठकले पार्टीका सबै कमिटीलाई तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन दिएको छ । प्रदेशदेखि जिल्ला, प्रतिनिधि सभा, प्रदेशसभा, गाउँ, नगरपालिका, वडा टोलगरी सात तहका निर्वाचन परिचालन कमिटी गठन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ । आगामी निर्वाचनमा एमाले अझै लोकप्रिय पार्टी भएर आउने र पहिलो पार्टी बन्ने अध्यक्ष शाहको दाबी छ । अब निर्वाचन केन्द्रित कार्यक्रम अघि बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘एमाले पार्टीप्रति जनलहर बढेको छ । आगामी निर्वाचनमा एमालेलाई पहिलो बनाउन पार्टी पंङ्ति एकताबद्ध भएर अघि बढ्छ ।’ पत्रकार सम्मेलनमा पार्टीका प्रदेश सह इन्चार्ज गोरख बोगटीले निर्वाचनमा गठबन्धनसँग एक्लै जुट्न एमाले सक्षम  रहेको बताउनुभयो ।