• ८ जेठ २०८१, मङ्गलबार

साध्वी ओसिन

blog

 मन्जिला अनिल

 अदालतको कुनामा एउटा मानिस भीडबाट छेलिएर त्यहाँको दृश्य हेर्न खोजिरहेको प्रष्ट देखिन्थ्यो । क्याप र कालो चस्माले आफूलाई लुकाउन खोजिरहेको थियो तर पनि आकर्षक देखिन्थ्यो ऊ ।

अघिदेखि उसलाई नियालिरहेकी पत्रकार युवतीले उसलाई पछ्याउँदै ! माइक र क्यामरा उनका पछि दौडिहाले ।

नमस्कार, तपाईं अघिदेखि नै ओसिनलाई लुक्दै हेरिरहनु भएको छ नि किन ?

प्रौढ र आकर्षक व्यक्तित्व चस्माबाट बिस्तारै नियाल्दै ती युवतीलाई मायालु नजरले नियालिरहन्छन् ।

हजुर सुन्दर युवती अनि आफैँमा हराएझँै गरी बोल्न थाल्छन् ! हिसाबकिताब खोज्दा जिन्दगीले नै जोड घटाउ बताइदियो ! चित्त बुझेन र फेरि जुधेँ जिन्दगीसँग खोइ त कथा ? कथाले त अग्ला पहाडका ढुङ्गा देखाइदियो । मलाई समाजका विकृति र विसङ्गति दुख्यो, समृद्धिको सपनाले उज्यालिएको आँखाको अगाडि मेरो जिम्मेवारी परिवार, बच्चालाई जस्तै मैले माया गर्नुपर्ने आमालाई पनि जन्मभूमिभन्दा तल राखेँ । तर उनीसँग बिदा लिन साहस भने गर्न सकिनँ । मलाई थाहा थियो उनी बाँच्नुको अर्थ मात्र म थिएँ भनेर । भरोसाको छहारी मबिना त्यो बूढो रुख गर्लम्मै ढलेको हेर्न मुटु र साहस ममा थिएन । मात्र उनको चरणको स्पर्श गरेर जननीका खुट्टा आँसुले पखालियो हतपत नबोली सरक्क बाहिर निस्किए । बूढो खोकीले टाढासम्म पछ्याइरहयो मुटु दुखाइ नै रह्यो !

वृद्धको चाउरिएको गालामा आँसुका ढिका मोतीका दानाझँै टिल्पिलाएर बर्सिए ।

मलाई माफ गर, म केही भावुक बन्न पुगेँ । ऊ मेरी सपना हो, सबैथोक मेरो ।

अनि तपाईं त उसको बुवा हुनुहँुदोरहेछ जानुहोस् न छोरीछेउ किन लुक्नुभएको त झन् ? उनलाई सहारा र ढाढस हुन्छ नि प्रतिप्रश्न तेस्र्याउँछिन् पत्रकार ।

हुँदैन, म कसरी कुन मुख लिएर जाउँ उनको अगाडि र भनुँ म तिम्रो त्यही अभागी पिता हुँ भनेर । जसले देश र जनताको अगाडि परिवारको कर्तव्य कहिले बुझेन । उनलाई आज यो कठघरामा उभ्याउने र हातमा यो पचास किलोको हतकडी लगाउने जिम्मेवारी पनि म बन्नुपर्छ । तिमी यस किसिमको परिस्थितिसँग लड्न तयार भइसकेको थिइनौ नि मेरो बाबा !

हे भगवान् !

मेरो बाबा ! मेरो जिन्दगी !!

कठै छोरी ! कहाँ खोसियो सबै खुसी !!

कहाँ गयो तिम्रो जिन्दगी !!

आँसु पुस्छन् !

मसँग दृष्टि छ ! शब्द छैन !

मसँग भाव छ ! भाषा छैन !

मसँग रात छ ! ऊसँग सपना !!

मसँग माया छ ! ऊसँग होस !!

मसँग सम्झना छ । उसँग भविष्य !!

वृद्ध पीडाले छाती बेसरी समाउँछन् । पत्रकार चिच्याउँछे अङ्कल ! सबैको ध्यान उनीहरूतिर आकृष्ट हुन्छ । एम्बुलेन्स बोलाउनुस् न सायद अस्पताल लानुपर्छ । वृद्धले बिस्तारै ओसिनलाई आफूतिर आउने इसारा गर्छन् । महिला प्रहरीले सिक्रीको कर्कश आवाजसहित नजिक लेराउँछन् । एकोहोरो भावशून्य आँखाले निर्मिमेष हेरिरहन्छे शिर निहु¥याउँछे । वृद्ध उनको शिर सुमसुमाउँदै । मलाई गर्व छ छोरी भनेर सन्तोषको सास फेर्छन् र त्यहीँ देह त्याग गर्छन् !

उफ् ! अन्त्यमा हामीसँग अधुरो धोको बाँकी हुन्छ ।

तर जिन्दगी हुँदैन ।

अदालतको बाहिर सडकमा सयौँको सङ्ख्यामा जनताको साथमा मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिले सडक तताएको छ ।

ओसिनलाई रिहा गर !

जनतालाई न्याय दे !!

हामीलाई न्याय चाहिन्छ !!

जस्ता नारा घन्किरहेका थिए ।

यतिकैमा पुलिसको गाडी अदालतको प्राङ्गणमा आएर रोकिन्छ र प्रहरीको सहायताले ओसिन तल झर्छिन् । भीड झन् चर्को नारामा परिणत हुन्छ । तर स्वयं ओसिन भने निष्प्राण झैँ, न त आँसु, खुसी, भावविहीन मूर्तिझैँ देखिन्थिन् । जमिनमा नै हेरेर उनी खुरुखुरु माथि उक्लिइन् ।

हामीलाई न्याय दे !

ओसिनलाई रिहा गर !

भीडको आक्रोश सीमा नाघ्दै थियो ।

अर्को गाडी फेरि रोकियो न्यायाधीश दामोदर पाँडे पनि उत्रिए । प्रहरीले घेरा हालेर उनलाई माथि उकाल्यो । 

अदालती प्रक्रिया सुरु हुन्छ ! (केही आफन्त, साथीभाइ, छोरी र पत्रकारहरू मौन बसेका छन्) तर बाहिरको कोलाहल भने प्रकृतिले लिएर आएको आँधीको सङ्केत गरिरहेछ । ओसिनको नजर शान्त र योगिनी झैँ दिव्य मुहार जमिनलाई नियालिरहेको छ ।

अर्कोतर्फको वकिल बहस थाल्छन् ।

नारीको चरित्र ईश्वरले पनि पढ्न सक्दैनन् भन्थे । आखिरमा हो रहेछ । यति माया गर्ने श्रीमान्, घर, गाडी, सम्पत्ति, सन्तान के नपुगेको यिनलाई । उन्मत्त । छाडा नछोड्नु है भन्थे, सत्य रहेछ । यस्ताका लागि त कडा सजायको कानुन बनोस् श्रीमान् ! यस्तो कलिलो मुनाको शिरबाट बाबुको अभिभावकत्व खोसेर टुहुरो बनाउने निर्लज्ज भोलि यसको असर समाजका अरू दिदीबहिनीमा पनि पर्छ श्रीमान् !

यताको वकिल उठेर प्रमाणबिना यसरी आरोप नलगाउनुस् महोदय ! भन्दाभन्दै न्यायाधीशले उहाँको सक्नदिनुहोस् भनेपछि फेरि यसरी सुख, इज्जत खोलामा मिल्काउने ? घिनलाग्दो पतित नारीलाई कडा सजाय तोकियोस् र यस्ता भाइरसलाई समाजबाट निर्मूल पार्न सक्नुपर्छ । अपराधी स्वयंले नै हत्या गरेको हुँ भनी स्वीकारी सकेकाले बहसभन्दा पनि फैसला सुनाइयोस् भनी माग गर्दछु ।

तपाईंका पनि केही भनाइ छन् कि ! 

छ श्रीमान् ! म पनि समय पर्खिरहेको थिएँ । बाहिरबाट हेर्दा कहिलेकाहीँ नबिराईकन हिँडिरहेको जस्तो देखिए पनि सुललित बगेको जीवनमा पूर्णविराम लागेको जस्तो देखिए पनि वास्तविकता त्यो होइन हजुर ! ठूलाठूला अग्ला पर्खाल घरभित्र प्रवेश गर्न तीनवटा प्रवेशद्वार र पाँच तलामाथिको शयनकक्ष अनि बाहिर निस्किँदा गाडीको झ्यालमा लागेका कालो सिसाभित्र छोपिएको मुहार ! बाहिर पहिरिएको मोतीको माला, हीराको टप र औँठी त सबैको नजर पर्छ तर आँसुरूपी कालो चस्माभित्रको पीडा कसले पढ्छ र श्रीमान् !

अनेक पलहरूको संयोग न हो जीवन, अँध्यारो, रोग, दुर्दान्त, पराजय र उदासीनताको धूलोले पटक पटक बेइज्जती र स्वाभिमानमा हिर्काएपछिको परिणाम हो यो हजुर ! सूर्यमा लागेको ग्रहण जस्तै । अझ गतिलो उदाहरण दिन्छु हजुरलाई ! दुर्योधनको अन्त्यपछि महाभारतको अन्त्य भएजस्तै यो फैसलाले पनि दुर्घटनाको रूपसहित अन्त्य हुनुपर्छ भन्ने मेरो जोडदार माग हो श्रीमान् !

समर्थनमा सबैले हो हो भनेर उठछन् ।

म एकजनालाई कठघरामा उभ्याउने अनुमति चाहन्छु श्रीमान् !

कठघरामा उभिँदै विमला कराउँछिन् । “सामाजिक परिवर्तनको संवाहक हो ओसिन, सकारात्मक सोचको परिणाम, विश्वसामु पूर्वीयदर्शनलाई वक्ताको रूपमा वैदुक मञ्चमा आसिन सम्मान हो उहाँ ! उहाँले हत्या कसरी गर्न सक्नुहुन्छ असम्भव । हजाराँै महिला शसक्तीकरण, सबलीकरण, संस्कृतिको जगेर्ना गर्ने अभियानको नायक हो ओसिन ! तपाईंको संस्थाबाट हजाराँैले आत्मसम्मान पाएका छन् ! सहारा पाएका छन् !

अनाथको मातापिता हो तपाईं !

वृद्धवृद्धाको सहारा हो तपाईं !!

परिवर्तनको संवाहक हो तपाईं !!

अनि सूर्य उदाउँदैन भनेर मूर्ख बनेजस्तो नै हो गलत लाञ्छना लगाउनु उहाँलाई । जसले मानव जीवन नै ताजमय बनाउन सक्रिय रहनुभएको छ उहाँप्रतिको यो षड्यन्त्र हो श्रीमान् ! तर नारी जातिको हक र अधिकारको कुरा छाँट्ने भाषणमा सीमित र घरमा लागू नभएको सत्य हो श्रीमान् ! यिनका पतिले यिनलाई कहिल्यै पत्नीको दर्जा दिएनन् ! न त तामझाम गरेर भिœयाएको दासी देखे । माया सम्मान र प्रेम कहिले पाइनन् यिनले घर, बच्चा र इज्जत भन्दै सहँदै सामाजिक सेवामा जीवन अर्पण गरिन् । अरू स्त्रीसँगको नाजायज सम्बन्धलाई लिएर पटक पटक हामी साथीसँग रुँदै गुनासो पोख्थिन् । ओसिनबाट हत्या हुनै सक्दैन डाको छोडेर रुन्छे ।

छैन श्रीमान् ! यो देवभूमि तपोभूमि ऋषिहरूको ध्यान र साधनाको भूमि जहाँ नारीलाई सदैव ईश्वरसँग तुलना गरिन्छ । विनम्र आग्रह छ हजुर न्याय नमरोस् यो तपोभूमिमा !

(केही छिनलाई अदालती कारबाही रोकिन्छ छलफल र निर्णयका लागि ।)

ओसिन छोरीलाई छातीमा च्यापेर शान्त र मौन थिइन् । छोरी सहस्रआँसुले रोइरहेकी थिइन् । आमा तिमीलाई फाँसी हुन्छ त ? बिस्तारै सुमसुमाउँछिन् सायद उनीभित्रको मातृवात्सल्य फुट्न खोजिरहेको थियो । 

उनीभित्र अथाह समवेदना, ममता, स्नेह, प्रेमको सागर, समभाव, समान न्याय ममता प्रदान गर्ने वैशिष्ट्यता, गुण र शक्ति सत्यमा नै निहित हुन्छ । त्यो सबै उनमा झल्किरहेको थियो । उनको दिव्यवाणीले देखाइरहेको थियो । दृश्य देखेर हल रोदनले भरिएको छ ।

ओसिन दृढ भएर बिस्तारै बोल्छिन् ।

बाबा ! धैर्य गर्नु धैर्य नगुमाउनु ।

छोरी ! नैतिकता र आत्मसम्मान कहिल्यै धितो नराख्नु !

नानु ! जननी र जन्मभूमिको शिर सदैव उच्च राख्नु । मेरो आशीर्वाद सदा रहनेछ ।

साध्वीको दिव्यवचन जस्तै छोरी पनि धीर देखिन्छे । (यतिकैमा न्यायधीशको प्रवेश हुन्छ ।)

मानवीय संवेदनाले उनलाई पनि मजैले हल्लाएको प्रष्ट देखिन्थ्यो । योगिनीजस्ती ओसिनलाई मायालु नजरले हेरिरहन्छन् । 

ओसिन ! घटनामा प्रत्यक्ष संलग्न पनि तपाईं म बुझ्छु तपाईंको ममतालाई ! अझै पनि तपाईंको बयानले धेरै परिवर्तन हुन सक्छ । मौन नबसिदिनुहोस ! कृपया मन दरो पारेर सत्य बोलिदिनुहोस् ! आमा अब पनि तिमी मौन बस्यौ भने म कठघरमा उभिएर सत्य दुनियाँलाई बताउँछु ।

ओसिन बिस्तारै उठ्न खोज्छिन् महिला प्रहरी उनलाई बिस्तारै कठघरामा जान सघाउँछन् ।

á á á á


ओसिनको बयान । बुवाले हामीलाई छोडेर गइसकेपछि एक वर्ष पनि नबित्दै धनी र घरानियाकेटो भनी १४ वर्षको बालिकालाई २७ वर्षको पुरुषको जिम्मा लगाइयो । प्रतिकार गर्न सक्ने सामथ्र्य थिएन् । 

विवाहको प्रथम रातदेखि नै उनको यातनाको सिकार बन्न विवश थिएँ । मेरा शरीरका घाउहरू र निलडामहरूमा सासूले मलम लगाइदिबक्सन्थ्यो । यतिवटी केटीलाई बासनाको सिकार बनाएँ भनेर बेहोसीको अवस्थामा सुनाउने गथ्र्याे । 

तिमी पनि उत्ताउली भएर हो कि बालखमै मेरो जिम्मा लगाइदिएका, मभन्दा अगाडि तिम्रो शरीरसँग कति पुरुषले खेले जस्ता अनेकौँ लाञ्छना लगाइरहन्थे ।

जति चोट दिए पनि जिन्दगीले खुसीसँग नाता जोडिरहन्छ । १६ वर्षमै छोरी काखमा आएपछि संसारै उज्यालो देख्दै केही वर्ष नानु र मुवासँग रमिएँ । ममताले पूर्णता दिँदो रहेछ । प्रकृति र जिन्दगी पढ्दै गएँ, डुब्दै गएँ । मुवाहजुरसँग अध्यात्मको अथाह सागर थियो त्यसको रसपानमा लिप्त हुँदै गएँ । समय बितेको पत्तै पाइनँ । तर संसारका पुरुषलाई हेर्ने सोच र दृष्टिकोण भने फरक थियो ! पिता र पति दुवै गलत थिए । त्यसलै पनि होला पुरुषप्रतिको आकर्षण कहिले भएन । कहिले त लाग्थ्यो यिनलाई जेल कोचिदिऊँ । तर यिनलाई जेल पठाएर मैले के पाउँथे र ? मैले रोएर बिताएका ती रातहरू फिर्ता पाउँदिनँ थिएँ । 

विवश वेश्यालाई जस्तो तिमीले भोगेको मेरो शरीर त्यो हिंसासँगै हल्लिएको मेरो आत्मविश्वास मैले फिर्ता पाउँदिनँ मलाई राम्ररी थाहा थियो । समयसँग सम्झौता गर्न सिक्दै गएँ ।

मुवाहजुरको सामीप्यताले ममा अथाह सामाजिक भाव सेवा भाव पलाएको थियो । सदुपयोग गर्दै विद्यालयको स्थापना गरेँ, गुरुकुलको स्थापना गरेँ, महुला आसरा केन्द्र खोलेँ, बुबाआमा घर निर्माण गरेँ ।

मुवाहजुरले पनि संसार छोडेपछि झन् अध्यात्म र सामाजिक कार्यमा डुब्दै गए । हजारौँको आमा बने छोरी बने आनन्दको अनुभूतिले डुबुल्किँदै गएँ ।

प्रायः मैले भोगेका अन्य रातझैँ त्यो रात पनि उनी रक्सी धोकेर आएका थिए । मैले खान गरेको अनुरोधलाई लत्याएपछि सधैँझँै यौन पिपासु बनी मेरो छेउमा आए । मैले अस्वस्थ छु भन्दा पनि मानेनन् । गिद्ध बनेर लुछ्न प्रयत्न गरिरहे सफल हुन सकेनन । 

नसकेपछि छेउमा सुतेकी छोरीलाई गिद्धेदृष्टि लगायो । मैले आजसम्म गरेका धैर्यको बाँध फुट्यो हजुर त्यस नरपशुलाई भान्सामा गएर चक्कु लिएर आएर जताततै प्रहार गरिदिएँ । रक्ताम्य चक्कुसहित प्रहरीकहाँ आत्म समर्पण गरेँ ।

एउटा दानवको अन्त्य गरेँ श्रीमान् !

(बेहोस भएर ढल्छिन् !)

छोरी चिच्याउँदै कठघरमा आउँछे ।

बाहिर बिस्तारै सुताउँछन् । उनको देहले दिव्य धामको बाटो तताइसकेको हुन्छ ।

यता समाचारहरू भने सामाजिक अभियन्ता ओसिन विश्वको १०१ महिलाको सूचीमा परेको र अन्तर्राष्ट्रिय पुरस्कार यति लाख डलरको समाचार वाचन गर्न लेख्न भ्याइनभ्याई देखिन्छन् । á

गौशाला, काठमाडौँ