• ७ वैशाख २०८१, शुक्रबार

कप्तान लामिछानेमाथि अनुसन्धान सुरु

blog

सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौं, भदौ २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध दर्ता भएको किशोरी बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्तरुपमा अनुसन्धान सुरु गरेको हो। 

प्रहरीले उजुरीमा उल्लेख गरिएको होटलका सिसिटिभी फुटेजको समेत अनुसन्धान गर्ने प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो। 

मैनालीका अनुसार लामिछानेमाथि किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको हो। ‘लामिछानेविरुद्ध परेको उजुरीमाथि हामीले अनुसन्धान सुरु गरेका छौँ, यो सूक्ष्मरुपमा गर्नुपर्ने अनुसन्धान भएकाले अहिले नै धेरै कुरा भन्न मिल्दैन’, प्रवक्ता मैनालीले भन्नुभयो, ‘अहिले धेरै काम गर्न बाँकी छ।’

उजुरीमा स्याङ्जाको आरु चौर गाउँपालिका स्थायी घर भएर काठमाडौं बुढानीलकण्ठ बस्ने लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न होटलमा पीडितलाई लगेको उल्लेख छ। होटलमा लगेर भदौ ६ गते राति पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ। 

लामिछानेविरुद्ध उजुरी दर्ता भएपछि पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर) मा लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ। 

भदौ २१ गते प्रहरी वृत्त गौशालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले भदौ ५ गते भक्तपुरका विभिन्न स्थानमा घुमाएर काठमाडौं ल्याएर रातको २३ः ५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नं. ३०५ मा भदौ ६ गते रातिको १२ः२५ बजे पटक पटक जबरजस्ती गरेको छ।’ 

सिसिटिभी फुटेज खोज्दै प्रहरी

कप्तान लामिछानेमाथि लागेको बलात्कार आरोपको अनुसन्धानको क्रममा प्रहरीले थप प्रमाण खोज्न थालेको छ। उजुरीमा नाम उल्लेख गरिएका होटलका सिसिटिभी फुटेज चेक गर्ने जनाएको छ। 

‘पीडितको तर्फबाट परेको जाहेरीमा उल्लेख भएको होटलको सिसिटिभी फुटेजमा होटलमा गएको भनिएको समयमा दुवै जना होटेलभित्र प्रवेश गरेको र चेक आउट भएको फेला पर्ने नपर्ने कुराको अनुसन्धान गर्न सिसिटिभी फुटेज चेक हुन्छ’, प्रवक्ता मैनालीले भन्नुभयो, ‘अनुसन्धान गर्न होटलको सिसिटिभी फुटेज चेक गर्छौ, अनुसन्धानमा कुनै कसर बाँकी रहने छैन।’  सबै प्रमाण सङ्कलन गरेपछि मात्र आरोपको विषयमा प्रहरीले बोल्न सक्ने उहाँको भनाइ छ। 

सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आउनुभएका लामिछाने चर्चित इन्डियन प्रिमियम लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आउनुभएको छ । यसै वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तान बन्नुभएका लामिछाने विश्व चर्चित क्रिकेटर हुनुहुन्छ । 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।